PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

नेकपा विवादमा बारम्बार किन चासो राख्छिन् राष्ट्रपति?



पहिलोपोस्ट

नेकपा विवादमा बारम्बार किन चासो राख्छिन् राष्ट्रपति?

काठमाडौँः पार्टी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रायः विवादमा 'तामोतुलसी' गराउँदै आएकी राष्ट्रपति विद्यादेवी भण्डारी वर्तमान विवादको संकटमोचनका लागि पनि अग्रसर बनेकी छन्। एक साताका बीचमा भण्डारीले पार्टीका नेताहरुलाई बोलाएर एकता कायम राख्न सुझाव र दबाब दुबै दिएकी छन्। विवाद समाधानको बाटो रोज्न पनि भण्डारीले सुझाव दिइरहेकी छन्।

भण्डारीले केही दिनअघि पार्टी उपाध्यक्ष बामदेव गौतम र लगत्तै सचिवालय सदस्य रामबहादुर थापा तथा स्थायी समिति सदस्य वर्षमान पुनलाई पनि बोलाएर विवादबारे चासो राखेकी छन्।

एकपछि अर्कोगरि विवादमा चासो राख्दा राष्ट्रपतिमाथि प्रश्न गर्नेहरु पनि बढेका छन्। पार्टी र नागरिकस्तरमा पनि भूमिकाबारे प्रश्न उठाइने गरेका छन्।  

गौतम मंगलबार शीतल निवास पुगेका थिए। सो क्रममा राष्ट्रपति भण्डारीले पार्टीलाई विभाजन हुन नदिन हुन नदिन सक्रिय भूमिका खेल्न आग्रह गरेकी थिइन्।

त्यस्तै बुधबार गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापालाई बोलाएर पार्टी एकता बचाउन र सरकारमा प्रधानमन्त्री ओलीलाई साथ दिन आग्रह गरिन्। नेकपा स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री वर्षमान पुन शुक्रबार शीतलनिवास पुगेका छन्।

विवादप्रति राष्ट्रपतिको चासोप्रति नेकपा नेताहरुले आपत्ति जनाउन थालेका छन्। गुटको राजनीतिमा राष्ट्रपतिको सक्रियता देखिएको समाचार सार्वजनिक भएको विषयलाई लिएर नेकपा नेता भीम रावलले कडा टिप्पणी गरेका छन्।

‌उनले ट्वीट गर्दै नेता रावलले राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंङ्घन भएको जनाएका छन्। शुक्रबार बिहान ट्वीट गर्दै नेता रावलले यस्तो गतिविधिले नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने बताएका छन्।

'नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ,' रावलले ट्वीटमा लेखेका छन्, 'यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।'

जब-जब नेकपमा विवाद आउँछ तब-तब राष्ट्रपति सक्रिय हुने गर्छिन्। त्यसो त विवाद साधान गर्न  नेताहरु नै राष्ट्रपतिका धाउने गरेका छन्।

दुई अध्यक्षको कार्य विभाजनको विषयमा भएको विवाद समाधानमा राष्ट्रपति भण्डारी साक्षी बनिन्। मंसिर ४ गते  ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने सहमति राष्ट्रपतिलाई साक्षी राखेर गरिएको थियो। अन्य गतिविधिमा पनि राष्ट्रपतिले भूमिका खेलेको बताइन्छ।

त्यस्तै गत असारमा विवाद उत्कर्षमा पुगेको बेला उनलाई राखेर नै विवाद मिलाउन खोजिए पनि जबजको विषय उठेपछि प्रचण्ड हच्किएको चर्चा चलेको थियो।

राजनीति विश्लेषक श्याम श्रेष्ठ राष्ट्रपति भण्डारीबाट संस्थालाई बारम्बार अप्ठ्यारोमा पार्ने काम भइरहेको टिप्पणी गर्छन्। पार्टी विवादमा उनले अनावश्यक चासो देखाएको श्रेष्ठको भनाइ छ।

'राष्ट्रपति राष्ट्रको अभिभावक हो। त्यस हिसाबले राष्ट्रपति न्युट्रल हुनु आवश्यक हुन्छ। उहाँले प्रधानमन्त्रीको पक्ष लिएर गतिविधि गर्नुले राष्ट्रपतिको कार्यालयलाई अप्ठ्यारोमा पार्छ। यस्तो काम राष्ट्रपतिबाट बारम्बार भइरहेको छ। त्यो गर्नुहुने काम होइन,' श्रेष्ठ भन्छन्।

राष्ट्रपति पार्टीको घेरोभन्दा माथि उठ्न नसकेको उनको ठम्याइ छ।

'उहाँ एउटा गुटको घेरोमा हुनुहुन्छ। उहाँलाई शीतल निवासबाट गुट चलाइहेको आरोप लाग्ने गरेको छ। उहाँको गतिविधिले त्यसलाई प्रमाणित पनि गरिरहेको छ।

अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य राष्ट्रपति कार्यालय प्रधानमन्त्रीको सचिवालय जस्तो भएको टिप्पणी गर्छन्।

'राष्ट्रपतिलाई संविधानले जुन भूमिका दिएको छ। त्यो भूमिकामा बाँधिन वा त्यो उचाइबाट प्रस्तुत हुन चाहनुभएन। राष्ट्रपति अहिले पूर्व एमालेको कार्यकर्ता जस्तो भएर आफूलाई प्रस्तुत गरिरहनु भएको छ,' आचार्य भन्छन्, 'एमालेको सबैभन्दा नजिकको उहाँलाई गुटमा ओलीले सुरक्षित र संरक्षण गरेको गुन तिर्दै हुनुहुन्छ।'

आचार्यले राष्ट्रपति  कार्यालयलाई पूर्व एमालेको गुटको संज्ञा दिए। यो भूमिका दूर्भाग्यपूर्ण रहेको बताउँदै राष्ट्रपतिलाई प्रधानमन्त्री कार्यालयले संवैधानिक दायरमा बस्न सम्झाउनुपर्ने उनको भनाइ छ।

राष्ट्रपति संवैधानिक दायरा मिचेर बाहिर जाँदा प्रतिपक्षी दलले भूमिका खेल्न नसकेको आचार्यले बताए।

'संविधानभित्र बस्नका लागि प्रतिपक्षीले आवज उठाउनुपर्ने हो। तर, दूर्भाग्य प्रतिपक्षी हुँदै नभएको जस्तो स्थिति छ। शेरबहादुरजीको बानी बुढानीलकण्ठको कमपाउण्डबाट बाहिर निस्कने चाहनै राख्नुहुन्न,' उनले भने, 'निकम्मा कांग्रेसको संसदीय दलको नेताले भूमिका खेल्नै सक्नुभएन। विरासत बोकेको पार्टीको सभापति लाचारजसरी खरदार र सुब्बाको नियक्तिका लागि बालुवाटार धाइरहनु भएको छ। संविधान बाहिर गइरहेको विषयलाई रोक्न प्रयास भएन।'

उनी राष्ट्रपति विवादास्पद र एकपक्षीय भएको बताउँछन्।

आचार्य भन्छन्, 'उहाँ अहिले प्रधानमन्त्रीलाई जोगाउन र उहाँको गुट बलियो बनाउन सक्रिय बनको छर्लङ्ग देखिन्छ। प्रधानमन्त्रीले अड्डी लिएर झलनाथ खनालहरुलाई साइड लगाएर राष्ट्रपति बनाउनुभयो। त्यो गुन तिर्नुपर्छ भनेर लाग्नुभएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell