PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

२० वर्षपछि खुम्बुको यात्रा - १ : कोरोना भाइरसले भाँडेको मन लिएर 'एभरेस्ट ट्रेल'



ऋषिकेश दाहाल

२० वर्षपछि खुम्बुको यात्रा - १ : कोरोना भाइरसले भाँडेको मन लिएर 'एभरेस्ट ट्रेल'

दशैंको टीकाको दिन दिउँसोतिर उमेश श्रेष्ठको एउटा म्यासेज आयो। संदेश थियो - पीसीआर परीक्षण गरेर जाने हो भने खुम्बुको यात्राको बाटो खुलेको छ।

'द्वादशीका दिन हिँड्ने भए जाऊँ न त।'

म्यासेन्जरमा खुम्बु पासाङ ल्हामु गाउँपालिकाको 'लेटर हेड'मा कार्तिक १० गतेदेखि पीसीआर परीक्षण गरेर खुम्बु प्रवेश गर्न दिने सूचनाको तस्बिर खुत्रुक्क झर्‍यो।

केही निजी ल्याबको नाम तोकेर परीक्षण गर्न भनिएको रहेछ। नभए सरकारी ल्याबको रिपोर्टलाई मात्र विश्वास गरेको रहेछ गाउँपालिकाले। खुम्बु इन्ट्रीका लागि 'न्यु नर्मल'मा पीसीआर परीक्षणको 'नेगेटिभ' रिपोर्ट यात्राको पहिलो चरण अर्थात् 'भिसा' झै बन्यो।

२० वर्षपछि खुम्बुको भ्रमणका लागि अप्रत्यासित रुपमा आएको उमेशको प्रस्ताव 'नाइ' भन्न योग्य थिएन। तर, के हामीले भन्नासाथ प्याकेज पाउन सकिन्छ त? प्रश्न जिवितै थियो।

तर, मिल्ने बेलामा एकाएक सबै मिल्छ, नहुँदा टाउको फुटाए पनि केही हुन्न भने झै भयो।

मार्दी हिमालका लागि गुन्टा कसिसकेका ज्ञानेश्वर आचार्य दाइ पोखराबाट छोरी-छोरा रितिका र अनुराजलाई सगरमाथा मिसनमा पठाउन रातारात काठमाडौं हानिए। उमेश, प्रभा र प्रमिशा त पहिलेदेखि नै तयार। केपी ढुंगाना र सावित्री अलमलिँदै अलमलिँदै भए पनि यात्रामा जोडिए। यात्राका लागि मैले उमेश र ज्ञानेश्वर आचार्यसँग संवाद जारी राख्दा विनीता र आर्य साक्षी थिए। उनीहरु मोबाइलमा आउने हरेक कलसँग उत्सुक देखिन्थे।

हुँदै जाँदा परिवार परिवार गर्दै १३ जना पुगियो यात्राका लागि। त्यसका लागि एकादशीका दिन बिहानै पीसीआर परीक्षण गर्न पुगियो। नदुखेको नाक दुखाउने काम झै लाग्छ - पीसीआर। कति पटक परीक्षण गराउनु? नगराउनुको विकल्प पनि थिएन। त्यसै दिन दिउँसो टिकेट किन्न पुगियो। टीकाकै दिन फोनबाट बुकिङ भइसकेको थियो 'एभरेस्ट ट्रेल'। टिकेट किनिसकेपछिमात्र थाहा भयो - जसलाई कोभिड १९ देखिन्छ, ऊ जान पाउँदैन। उसलाई देखाएर बाँकीले नजाने भन्दै पैसा फिर्ता गर्न नपाउने रहेछन्। शर्त मञ्जुर गरियो र १३ जनाका लागि बुझाइयो १ लाख ८२ हजार रुपैयाँ। बाँकी रह्यो प्रतीक्षा - रिपोर्टको। अन्तत यात्राको अनौठो भिसा लाग्यो, कसैमा पोजेटिभ देखिएन।

अरु बेलामा सस्तोमा टिकट पाउँदा लुक्ला उड्न ६ हजार ३ सय तिर्नुपर्ने रहेछ। सन् २००१ मा १८ सय थियो एकातर्फी। अहले दुईतर्फी गर्दा १२ हजार ६ सय पर्ने। तर, हामी एक जना १४ हजार रुपैयाँमा नै हवाईमात्र होइन, होटलको बसाई, बिहानी नास्ता र गाइडको सुविधासमेत पाउँदै थियौं। २० वर्षको तुलना गर्दा महँगो भन्न सक्ने ठाउँ रहेन।

हातमा टिकेट र भ्रमण सूची परेपछिमात्र बल्ल तय भयो - अब चाहिँ हिँडिन्छ।

+++

यति एयरले ल्याएको यात्राको यही प्याकेज पछ्याउँदै द्वादशीको दिन सगरमाथा ट्रेलको यात्रामा जाने हाम्रो योजना एकाएक आएको एउटा सूचनाले तुहिएको थियो। कोभिड १९ संक्रमण शून्य रहेको त्यहाँ ९ जनामा संक्रमण देखिएलगत्तै गाउँपालिकाले हवाई यात्रा निषेध गर्‍यो। कोरोनाको त्रासका बीचमा यात्रा आफैँमा जोखिमपूर्ण। असमन्जस्यमा थियौं सबै। डर र उत्साहको अनौठो कोलाजमा घुलेको।

जाने कि नजाने?

जान हुन्छ र यस्तो बेलामा?
उचाईतिर उकालिँदा कोरोनाले दपेच्यो भने?

मगजमा यस्तै खेलिरह्यो। यस्तै मनोदशाकै बीच जारी भएको थियो - निजी हवाई सेवालाई यात्रु नल्याउन जारी भएको निर्देशन। मेरा लागि खुम्बुसम्मको तेस्रो भेट र परिवारका लागि पहिलो अनायसै समाप्तीको बाटोतिर लाग्यो। अप्रत्यासित हिसाबले आएको सूचनाले बुकिङ गर्ने तय यात्रा भाँडियो। घुमफिरको मनस्थितिमाथि नै एकाएक निषेधाज्ञा जारी भयो। निषेधाज्ञा जहाँ पनि क्रुर हुने रहेछ।

अब विकल्प के त? कति गुम्सिएर बस्ने यो खाल्डोमा?

'रारातिर जाने भए जाऊँ, दुई दिनमै आइन्छ पनि।' मेरो प्रस्ताव।

भाडिएको मन न हो, एकाएक मार्दी हिमालतिर हानिने कि भन्ने पनि मुड चल्यो। तर, कोरोना त्रासले मनस्थिति यस्तो बनाएको थियो कि - सानोभन्दा सानो निर्णय लिन पनि मेहनत परिरहेको थियो। हिम्मत पनि जुट्न अनकनाइरहेको थियो। किनकि 'न्यु नर्मल'मा भिज्न सहज भइसकेको थिएन।

परिवारसहित नै दशैंको मुखमा एक रात चन्द्रागिरि हिल्समा बिताएपछि भने आँट बढेको थियो - कतै न कतै त जाने नै हो। लकडाउन सुरु भएपछि पहिलो रात बिताएका थियौं, चन्द्रागिरिमा। सुरक्षाको मापदण्ड पूरा पालन गरेर हामीले जस्तोखाले सेवा पायौं, मनमा रहेका शंका र उपशंकाहरु क्रमश घटिरहेको थियो। लुक्लादेखि नाम्चेसम्म यस्तै त हुने होला नि भन्ने लाग्यो। घरबाहिरको त्यो पहिलो बसाईले यसरी प्रेरित गरेको थियो कि - कतै न कतै चाहिँ गएरै छाड्ने। खाल्डोबाट त निस्किने हो निस्किने।

+++

खुम्बुमा स्काइ डाइभ गरेको हेर्न जाने अवसर मिलेको थियो, १२ वर्षअघि। अवसर मिल्नु र अवसर पाउनु चाहिँ फरक कुरा। दुई दिन लगातार बिहानै विमानस्थल जानु र फर्केर घरै आएर सुत्नु परेको अनुभवले यसपाला पनि अत्यास लगाइरहेको थियो - त्यस्तै हुने त होइन?

मौसमको चरित्र नै बदलिनु हो। उसको मुडमा ऊ बदलिनसक्छ। त्यो हाम्रा लागि खराब वा राम्रो जे पनि हुनसक्थ्यो। हामीले नचाहिने गरी मौसम बिग्रिँदा हाम्रो मुड पनि बिग्रने थियो। कोभिडको कहर, पाइला पाइलामा सुरक्षाका मापदण्डको पालना। ती सबै प्रकृया छिचोलेर समयमा नै विमानमा उड्न पाउनु चाहिँ आफैँमा रोमाञ्चक विषय थियो। आकाश खुला, मन निर्धक्क।

मौसमको स्वरुपले तारा एयरका पाइलटले उत्तरतिर चेपिँदै उडाए विमान। जमिनबाट सगरमाथा क्षेत्रको अनुभूति बटुल्न हिँडेका हामी आकाशबाटै लोभलाग्दा दृष्यमा रमाइरहेका थियौं। हिमालमात्र होइन, नजिकैबाट कालिञ्चोक र त्यसमुनिको कुरी बजार देखिँदा मन यसै फुरुङ्ग।

यी सबै अनुभव बाहेक अर्को अनुभव पनि रह्यो। विमानमा हामी १३ जनामात्रै थियौं। प्याकेजका लागि टिम पुगेपछि हाम्रा लागि विमानको उडान थप गरिएको रहेछ। एक हिसाबले चार्टर गरिएको यात्रा, हामीमात्रै यात्रु। को कहाँ बस्ने भनेर टिकट नम्बरसमेत हेर्न परेन यसपाला।

आकाशमा बादलका टुक्राटाक्री समेत कतै देखिएन। त्यसैले पहिलेजस्तै उडानमा तल र माथि हल्लाउने स्थिति आएन। एकाएक विश्वकै खतरनाक मानिएको लुक्लाको भिरालो रनवेतिर विमान मोडियो। अवतरणको दृष्य आफ्नै सिटमा रहेर पनि ककपिट सामुन्नेबाट हेर्न सकिन्छ, लुक्लामा ओर्लिँदा। तर, कोभिडले त्यसमा पर्दा लगाएको रहेछ। अवतरणमात्र होइन, ककपिटसँग यात्रुको दुरी कायम गर्न प्लास्टिक र पर्दा लगाइएको थियो। त्यसैले यस्तोखाले अवतरणको रोमाञ्चकता अनुभूति गर्न नपाउँदै विमान ल्यान्ड भयो - असाध्यै सजिलोसँग।

लुक्लामा विमानबाट उत्रिनासाथ हामीले पाइलटहरुलाई तारिफ नगरी रहन सकेनौं। ताराका अनुभवी पाइलटहरुले हाम्रो खुशी महसुस गरे। साच्चै काठमाडौंमा उत्रिँदा भन्दा फरक भएन। डरलाग्दो अनुभूति त हुँदै भएन। यति छोटो रनबेमा यति सहज यात्रा हुँदा कसरी खतरनाक भन्नु यसलाई?

काठमाडौं एयरपोर्टमा जस्तै यहाँको विमानस्थलमा फेरि कोभिड १९ नेगेटिभ भएको हाम्रो 'भिसा'देखाएर बाहिरियौं।

लुक्लामा झरेपछि हामी विमानस्थलसँगै जोडिएको एभरेस्ट माउन्टेन होममा छिर्‍यौं। कोलाहालपूर्ण काठमाडौंबाट सुनसान लुक्लामा पुग्दा हुने अनुभूति अभिव्यक्त गर्न कठिन छ। एक प्रकारको न्यानो 'चिसो'ले स्वागत गरे झै लाग्यो।

यहाँ झरेपछि पहिलो पटक खुम्बु यात्राको सम्झनाहरु तरङ्गित हुन थाले। सन् २००१ (२०५७ साल) मा लुक्ला ओर्लिँदै कहाँ पुगेँ कहाँ जस्तो भएको थियो। अनि त्यहाँको बेकरीमा गएर केक खाँदा मेरो आँशु झरेको सम्झिँदा झसङ्ग हुन पुगेँ।

केकमा खुर्सानी थियो भन्ने ठान्नुहोला। होइन। केक खाँदा कसरी हो घाटीमा हावा अड्कियो। पानी अड्किएको सुनेको थिएँ तर हावा नै अड्किएको अनुभव भयो त्यहाँ। केकको पहिलो गाँस निलिसकेपछि हावाले घाटी अठ्यायो।

सास बन्द। आँखाबाट आशुमात्रै।

लाग्यो 'अब रहिएन!'

चिसो सिरेटोले हान्दा पनि जिउ रनक्क तातिहाल्यो। पछाडि गर्दनमा मुक्का हानेपछि भने हावा फुट्यो। सास चल्यो। एकछिन लामो सास फेरेँ। केकतिर हेर्न पनि मन लागेन।

लुक्ला झर्नासाथ मेरो नजर त्यही केक पसलतिर भौतारिरहेको थियो। तर, मेरो घाटीमा 'एयर लक' गराउने घटना भएको पसल चिन्न सहज थिएन। किनकि लुक्लाको २० वर्षमा रुप पूरै फेरिएको छ। लुक्ला त के खुम्बुकै स्वरुपमा परिवर्तन आइसकेको रहेछ। यो यात्रामा म तपाईँलाई दुई दशकअघिको स्मृतिसँगै सगरमाथा ट्रेलमा लैजाँदै छु। यहाँबाट यो यात्रा फाक्दिङतिर लाग्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell