PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

वीरगंजको आदर्शनगर र मास्थानका जीर्ण सडक उत्खनन गरी कालोपत्रे गरिँदै



राधेश्याम पटेल

वीरगंजको आदर्शनगर र मास्थानका जीर्ण सडक उत्खनन गरी कालोपत्रे गरिँदै

वीरगंज : वीरगंजको आदर्शनगर–ठाकुरराम क्याम्पस सडक र माईस्थान–घडिअर्वा ब्रहम बाबा सडक खण्डको सडकको मर्मत सम्भार शुरु भएको छ। दुई सातादेखि वीरगंजको यी दुई सडकखण्डको काम भइरहेको हो। स्थानीयहरुको दबाव र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको पहलपछि अन्ततः यी दुई सडकको ममर्तको काम शुरु भएको हो। सघन शहरी तथा भवन निर्माण कार्यालय पर्साले उक्त सडकमा मर्मतको काम सुरु गरेको छ।

लामो समयदेखि जीर्ण रहेको सडकलाई मर्मत नगर्दा त्यहाँका स्थानीयहरु पीडित थिए। सडकमा रहेका ठुला खाल्डाखुल्डीको कारण वर्षायाममा पानी जम्ने र सुख्खा समयमा धुलो उड्ने समस्याका कारण त्यस क्षेत्रका व्यवसायीहरुलाई समस्या हुँदै आएको थियो। त्यसैगरी, आदर्शनगर–ठाकुरराम बहुमुखी क्याम्पसको सडकमा पानी जम्दा बर्षातको समयमा वीरगंजको आर्दशनगर बजार नै जलमग्न हुने गरेको थियो। आदर्शनगर–ठाकुरराम सडक खण्डमा करिब ५ सय मिटर लम्बाईमा कालोपत्रे गर्ने काम शुरु भएको छ भने घडिअर्वा–माईस्थान क्षेत्रमा करिब २३० मिटर लम्बाईमा कालोपत्रे गर्ने काम भइरहेको ठेकेदार कम्पनी महाबीर कन्सट्रक्सन प्रालिका इन्जिनियर सुशान्त योन्जनले जानकारी गराए।

आव २०७४/०७५ को ८२ करोडको बजेटमध्ये यी दुई सडकको काम गरिरहेको उनले स्पष्ट पारे। आव २०७४/०७५ देखि अढाई वर्षसम्म वीरगंजमा नाला, कलभर्ट, सडक, फूटपाठलगायत भौतिक पूर्वाधार विकास गर्न सहरी विकास कार्यालयले ८२ करोड बजेट छुटयाएकोमा अहिले ६५ प्रतिशतभन्दा बढीको काम गरिसकेको र अगाडि ६ महिनाको समयाअवधीमा बाँकी ३५ प्रतिशत काम सम्पन्न गर्ने ठेकेदार कम्पनीको लक्ष्य छ।

ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले गरेको विशेष पहलपछि महानगरपालिका कार्यालयको अनुरोधमा सघन शहरी तथा भवन निर्माण कार्यालय पर्साले माईस्थान चोकदेखि घडिअर्वासम्मको सडक निर्माण गरिरहेको छ। यसअघि उक्त सडक मर्मत गर्ने ठेकेदार कम्पनीको योजनामा थिएन। दुबै सडकमा कति लाखको काम हुने बारेमा काम सम्पन्न भएपछि मात्र यकिन हुने बताइएको छ। दुबै सडकको चौडाई औसत साढे ८ मिटर चौडा छन्। कन्स्ट्रक्सनका इन्जिनियर योञ्जनले सडक उत्खननको काम सुरु गरेर सम्भवतः बेस हाल्ने र ८ देखि १० दिनभित्र पिच गर्ने आफ्नो योजना रहेको बताए।

 
हालको सडकको बेसलाई उत्खनन गरेर आवश्यकताअनुसार १५ देखि २० सेन्टिसम्मको बेस बिछ्याउने काम गरिने उनले जनाए। त्यसपछि पाँच सेन्टिको एस्फाल्ट (अलकत्रा) कंक्रीट पिच गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell