PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बालुवाटार पुगी प्रचण्ड, झलनाथ, माधवले सचिवालयको बैठक माग्दा जंगिए ओली : मेरा विरुद्ध लाग्ने? बैठक किन चाहियो?



कुञ्जरमणि भट्टराई

बालुवाटार पुगी प्रचण्ड, झलनाथ, माधवले सचिवालयको बैठक माग्दा जंगिए ओली : मेरा विरुद्ध लाग्ने? बैठक किन चाहियो?
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पार्टीभित्रको किचलो गिजोलिन थालेको एकता प्रक्रियादेखि नै शुरु भएको हो। पछिल्लोपटक भने एकतामै प्रश्नचिन्ह उठ्ने गरी नेताहरुबीच शीतयुद्ध शुरु भयो। पार्टीका एक अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डलाई अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएर लानेसम्मको सुझाव दिन भ्याए।

यसपछि प्रधानमन्त्रीको राजीनामा मागिएको कुरा आए। प्रधानमन्त्री ओलीले अहिले आफूले राजीनामा दिन सक्ने अवस्था नरहेको स्पष्ट पारिसकेका छन्। नेकपामा अहिले सत्ताका लागि ओली पक्ष र उनीइतरका नेताहरुबीच शीतयुद्धमात्र हैन वाकयुद्धसमेत चलिरहेको छ।

दुई पार्टी मिलेर गत निर्वाचनमा स्थानीयदेखि प्रतिनिधिसभासम्म नेकपाले बहुमत हासिल गर्‍यो। अहिले देशमा नेकपाको एकलौटी सरकार छ। यस्तो बेला एकताबाट बनेको पार्टी सत्ताको दाउपेचमा छ। सरकारको चौतर्फी आलोचना हुन थालेपछि प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले सरकारको समीक्षा हुनुपर्ने माग गर्दै आएका छन्।

त्यसयता मन्त्रिमण्डलका सदस्य धेरैपटक हेरफेर भयो। सचिवालय सदस्यद्वय पार्टीका उपाध्यक्षसमेत रहेका वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाका सदस्य भइसके। तर, पनि नेकपाको विवाद साम्य हुन सकेको छैन।

यही विषयमा सचिवालय बैठक बोलाउन सचिवालयका बहुमत सदस्यले पटकपटक माग पनि गरेका हुन्। यसबाट पार नलाग्ने देखिएपछि प्रचण्डले शुक्रवार धुम्बाराहीमा अनौपचारिक छलफल बोलाए। छलफलबाट निष्कर्ष निस्कियो : ओलीलाई सचिवालय बैठकका लागि अनुरोध गर्ने।

शनिवार बिहान प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउन अनुरोध गर्ने तयारीका लागि नेताहरु पुन धुम्बाराही पुगे। ओलीलाई सचिवालय बैठक डाक्न अनुरोध गर्न प्रचण्डसँगै वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ अहिले बालुवाटार पुगेका हुन्।

ओली टस न मस

शीर्ष नेताहरु बालुवाटार पुगेर ओलीसँग दुई घण्टा कुराकानी गरे। तर उल्टै चर्काचर्की परेको सहभागी एक नेताले बताए। बैठकमा ओलीले कुनै निष्कर्ष नदिनु भनेको बैठक बोलाउन नचाहेको बुझिएको प्रवक्ता श्रेष्ठले बैठक सकिएपछि जानकारी दिए। चर्काचर्कीबारे श्रेष्ठले कुनै कुरा खुलाएनन्। उनले आफूहरुले बैठक बोलाउन लिखितपत्र भने बुझाएको बताए।

तर एक शीर्ष नेताले भने ओलीले आफूविरुद्ध लागिसकेपछि किन बैठक चाहियो भनी प्रश्न गरेको बताए। ओलीलाई उद्धृत गर्दै ती नेताले भने, '-'मेरा विरुद्ध किन लागेको? बैठक किन चाहियो? तपाईहरुले जे गरे नि गर्नुस्' भन्दै ओलीज्यु कड्किनुभयो। ११ बजे बालुवाटार पुगेका नेताहरु ओलीको प्रश्न सुनेर निष्कर्षविहिन निस्किए। अब के गर्ने भन्ने विषयमा अहिले नै छलफल भइनसकेको प्रवक्ता श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell