PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

क्यानले खेलाडी वर्गीकरण सच्यायो, मंसिर १० गतेबाट राष्ट्रिय टिमको क्लोज क्याम्प सुरु हुने



पहिलोपोस्ट

क्यानले खेलाडी वर्गीकरण सच्यायो, मंसिर १० गतेबाट राष्ट्रिय टिमको क्लोज क्याम्प सुरु हुने

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) आज बसेको अनलाइन बोर्ड बैठकले राष्ट्रिय टिमका खेलाडीहरुको वर्गीकरण सच्याएको छ। यसअघि चितवनमा असोज ६ गते चितवनामा भएको साधारण सभामा क्यानको खेलाडी वर्गीकरण निर्धारण समितिले १८ जना पुरुष र १९ जना महिला खेलाडीहरुको वर्गीकरण गरेको थियो। यद्यपि त्यसमा महत्वपूर्ण खेलाडी नपरेको र केही वर्गीकरण न्यायोचित नदेखिएको समेत गुनासो आएको थियो। क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले वर्गीकरण बारे पुनर्विचार गर्न क्यानलाई आग्रह गरेको थियो भने राष्ट्रिय खेलकुद परिषदले वर्गीकरणबारे गुनासो आएको भन्दै क्यानलाई स्पस्टीकरण नै सोधेको थियो। क्यानले त्यसपछि ‘टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग आवश्यक छलफल गरी सुझावसहितको वर्गीकरण प्रतिवेदन आगामी बोर्ड बैठकमा पेश गर्ने’ भन्दै विज्ञप्ति निकालेको थियो।

‘खेलाडी वर्गीकरण समितिले सोमपाल कामीलाई ‘बी’ बाट ‘ए’ मा, अभिनास बोहोरालाई ‘सी’ बाट ‘बी’ मा, ललीतनारायण राजबंशीलाई ग्रेड ‘बी’ र सन्दीप जोरालाई ग्रेड ‘सी’ मा पुनर्वर्गिकरण गर्न गरिएको प्रस्ताव बोर्ड बैठकले सर्वासम्मत पारित गरेको छ।’ क्यानको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी महिला खेलाडीतर्फ सरस्वती चौधरीलाई ग्रेड ‘बी’ मा, ममता चौधरी र सुमन खतिवडालाई ग्रेड सी मा राख्ने निर्णय गरेको छ। कोरोना महामारीलाई मध्यनजर गर्दै हाललाई खेलाडी सम्झौता २०२० जनवरीदेखि ६ महिनाका लागि गर्ने निर्णय गरिएको छ।’

त्यस्तै आजैको वैठकले राष्ट्रिय टिमको प्रशिक्षण मंसिर १० गतेबाट स्वास्थ्य प्रोटोकल पुरा गर्दै सुरु गराउने निर्णयसमेत गरेको छ। चैतमा लकडाउन भएयता क्रिकेटको बन्द प्रशिक्षण भएको छैन। यद्यपि बिचमा केही खेलाडीहरु कीर्तिपुरस्थित क्रिकेट मैदान पुगेर आँफै अभ्यास भने गरेका थिए।

त्यस्तै आजको बैठकले संघको वार्षिक साधारण सभा मंसिर ३ मा गर्ने निर्णय गरेको छ। त्यस्तै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट डिसेम्बरमा गर्ने गरि प्रकृया अघि बढाउने तथा राष्ट्रिय टिमलाई फिटनेस ट्रेनर हायर गर्ने पनि निर्णय गरेको छ। भारतीय दुतावासको सहयोगमा कीर्तिपुरको क्रिकेट मैदानको पभेलियन हलको स्तरोन्नती गर्नेसमेत निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell