काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ७० हाराहारीमा रहिसकेका पार्टीका शीर्ष नेताहरुले अब नेतृत्व र राजकीय पदमा दाबी गर्नु औचित्य नभएको बताएका छन्।
एपी वान टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओली पार्टी अध्यक्ष भइसकेका व्यक्ति र प्रधानमन्त्री बनिसकेका व्यक्तिले पनि त्यही पदमा दाबी गर्नु उचित नभएको बताएका हुन्। उनले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन्।
कुराकानीमा प्रधानमन्त्रीले भने, ‘३२-३३ वर्ष अध्यक्ष भइसकेका साथीभाइहरुको फेरि पनि रहर फर्किएको, धित नमरेको, प्रधानमन्त्री भएका व्यक्तिलाई फेरि त्यही चाहिएको देख्दा अचम्म लाग्छ। अब नयाँ पुस्ताका लागि जिम्मा लगाउन हामी किन तयार छैनौँ। हामी आफैँ मैलाइ चाहियो, भाग पुगेन, मान पुगेन किन गछौँ। एउटा सहमति गरेर नयाँ पुस्तालाई दिऔँ। हामी ७० को आसपासको हाराहारीमा रहेकाले नै सधैँ ओगट्नु पर्दैन।’
आफू प्रधानमन्त्री र पार्टीको प्रथम अध्यक्ष भएकाले गुटबन्दी आवश्यक नभएको पनि बताए। हालै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको धुम्बाराही बैठकलाई ओली अनुचितको संज्ञा दिए। उनले गुटको भेला गलत भएको बताउँदै गुटको प्रस्ताव बैठकमा ल्याइनु पनि गलत भएको बताए।
पार्टी र पार्टीका अन्य व्यक्तिको चित्त बुझाउन कतिपय अवस्थामा सही व्यक्ति उपयुक्त स्थानमा चयन गर्न नसकेको पनि ओलीले बताएका छन्। प्रधानमन्त्री ओलीले सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने भएकाले पार्टीको स्वार्थमा काम गर्न नहुने पनि बताए। पार्टी प्रमुख भनेर हरेकले प्रधानमन्त्री बन्न खोजेर नहुने ओलीको टिप्पणी छ।
कर्णाली प्रदेशको विवादबारे ओलीले आफू त्यहाँ पुगेर हस्ताक्षर अभियान नचलाएको भन्दै कटाक्ष समेत गरे।
