भक्तपुर : तिहार नजिकिँदो छ। फूल र बत्तीहरुको यो पर्वसँग जोडिन्छ परम्परा। त्यही परम्पराका लागि मुछिन्छ माटो, बनाइन्छ दियो। अन्धकारलाई हटाएर सबैतिर उज्याउलो देखाउने परम्पराको पर्व हो तिहार।
बिजुली बत्तीको झिलिमिली त पछिल्लो उपलब्धी। त्यसअघि यिनै दियोका प्यालामा भरिन्थ्यो तेल, बालिन्थ्यो बत्ती।
बिजुली बत्तीको व्यापक प्रयोग हुनुअघि मैन बत्तीले यसलाई परम्परागत दियोको प्रयोगलाई घटायो। त्यसपछि बिजुलीका झिलिमिली र सस्ता बत्तीहरुले।
बजार घटे पनि परम्परा धान्न चाहने मन र हातहरु अहिले पनि उत्तिकै सक्रिय छन्। र, पाइरहेछ माटोले आकार। त्यही आकारमा अडिनेछ तेल र जल्नेछ दियो।
भक्पुरमा माटोलाई आकार दिएर प्याला बनाउनेहरु यतिखेर भ्याइनभ्याइ काम गरिरहेका छन्। तिहारसँगै संस्कृतिका धेरै पक्षहरुसँग जोडिन्छ दियो। त्यसैले बजार घट्ला तर यसको प्रयोग निमिट्यान्न हुने छैन तबसम्म जबसम्म यी हातहरु माटोलाई आकार दिन जुट्छन्।
कोरोना भाइरसको संक्रमणका कारण सरकारले चैतमा लकडाउन गर्ने निर्णय गर्यो। नागरिकहरु महिनौंसम्म घर भित्रै थुनिए। संक्रमण बढ्दै गएसँगै लकडाउन थपिँदै गयो। घरबाट बाहिरिन निषेध भएका कारण भक्तपुरका विनोदकुमार प्रजापति पनि फुर्सदिला भए।
पोटरी स्क्वायरमा उनको पुर्खौली माटोको भाडा बनाउने पसल छ। ११ वर्षभन्दा बढी समयदेखि माटोकै भाडा बनाएर जीविकोपार्जन गर्नै आएका प्रजापतिको आमदानीको स्रोत नै लकडाउनसँगै बन्द भयो। तर, जीवनलाई गतिशिल त बनाउनै पर्यो। लकडाउनमा घरमा नै रहेको बेला उनी तिहारका लागि चाहिने दियो (पाला) बनाउने काममा होमिए। तिहार आउन करिब एक हप्ता बांकी रहँदा उनी अझै दियो बनाउनै व्यस्त छन्।
‘यसपालि पहिला भन्दा धेरै दियो बनाइयो। लकडाउनको समयमा माटोका भाडा र दियो बनाइयो। पहिलाजस्तै छ व्यापार। कोरोनाले गाह्रो होला भन्ने थियो। तर त्यसो भएन। अहिले पनि अर्डर आइरहेका छन्’ प्रजापतिले भने।