PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

पर्सामा बढ्यो धान उत्पादन, गाउँका गोला भण्डारा भने किसान ठग्दै



राधेश्याम पटेल

पर्सामा बढ्यो धान उत्पादन, गाउँका गोला भण्डारा भने किसान ठग्दै

वीरगंज : पर्सामा यस वर्ष पोहोरको तुलनामा धान उत्पादनमा वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र पर्साका बाली प्रमुख सुरेश चौरसियाले चैते, भदैया र अगहनी धानको उत्पादन गत वर्षको तुलनामा यस वर्ष ०.२ प्रतिशतले वृद्धि भएको जनाए। यस वर्ष ३ हजार ५ सय हेक्टर जमिनमा चैते धान खेती गरिएको उनले बताए। यसैगरी, भदैया धान ८ हजार ५ सय ५० हेक्टर र अगहनी धान ३५ हजार हेक्टरमा भएको बाली प्रमुख चौरसियाले जानकारी दिए।

भदैया धान प्रतिमेट्रिक टन ५.२ प्रतिहेक्टर उत्पादन भएको र अगहनी धान ४ मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको उनले बताए। गत वर्ष भदैया धान प्रतिहेक्टर ५ मेट्रिक टन उत्पादन भएको थियो भने अगहनी धान प्रतिहेक्टर ४ मेट्रिक टन उत्पादन भएको थियो। अगहनी धानमा कतर्नी धानलाई यसपटक पानी र कीराले क्षति पुर्‍याएको कारण प्रतिहेक्टर ३.५ मेट्रिक टन उत्पादन भएको उनले बताए।

अगहनी धान अन्तर्गत सोना मन्सुलीलाई भने पानी र कीराले असर नगरेको र गत वर्षको तुलनामा यस वर्ष पनि प्रतिहेक्टर ४ मेट्रिक टनको दरले उत्पादन भएको उनले बताए। पर्सामा तीन बाली धानखेती हुने गरेकोमा सबैभन्दा बढी अगहनी धानको खेती हुन्छ। अगहनी धानमा सोना मन्सुली सबैभन्दा बढी रोपिन्छ।

यसैबीच, एक महीनाअघि भदैया धान भित्रियाएका किसानहरूले अहिले आलु, तोरी,मसुरो र तरकारी खेती शुरू गरेका छन्। भदैया धान रोप्ने किसानहरूको खेतबारी थोरै हुने हुनाले उनीहरूले रबीबालीका साथै आलु र तरकारी पनि रोप्ने गर्छन्। अगहनी धान लगाएका किसानहरूमा धेरै खेतबारी भएका किसानहरूले गहँखेती गर्छन्। अहिले पटेर्वासुगौली र सखुवाप्रसौनी गापा तथा पर्सागढी र बहुदरमाई नगरपालिकाालगायतका क्षेत्रमा किसानहरू अगहनी धान भित्रियाइरहेका छन्। धान भित्रियाएपछि गहुँखेती गर्छन्।

यसपटक अगहनी धानखेती गरेका किसानहरूले अहिलेसम्म गत वर्षको तुलनामा कम मूल्यमा धान बेच्नू परेकोले भण्डारण गरेका छन्। गत वर्ष २२ सयदेखि २४ सय रुपैयाँसम्म प्रतिक्विन्टल सोना मन्सुली धान बिक्री भएको थियो भने अहिले २१ सय रुपैयाँसम्म मूल्य कायम गरिएको छ। गाउँघरमा घुमेर धान खरिद गर्नेहरूले विन्ध्यवासिनी, बहुअर्वाभाठा, वीरगंज र जीतपुरमा लगेर धान बिक्री गर्छन्। गाउँघरमा डुलेर धान खरिद गर्नेहरूले गत वर्षसरह मूल्य नदिएको कारण अहिले किसानहरूले धान भण्डारण गरिरहेका छन्। उनीहरूले थोरै मात्रामा धान बिक्री गरिरहेका छन्। यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगंज शाखाले सोना मन्सुली धानको समर्थित मूल्य २ हजार ८ सय ८५ प्रति क्विन्टल कायम रहेकोले किसानले वीरगंज ल्याएर धान बेच्न आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell