PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दुई दिने 'डेडलाइन'मा डाकिएला त नेकपा सचिवालय बैठक? अल्टिमेटमलाई ओलीको के होला जवाफ?



कुञ्जरमणि भट्टराई

दुई दिने 'डेडलाइन'मा डाकिएला त नेकपा सचिवालय बैठक? अल्टिमेटमलाई ओलीको के होला जवाफ?

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बोलाउन माग गर्दै दुई पाने लिखितपत्र नै बोकेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका सचिवालयका बहुमत सदस्य शनिवार बालुवाटार पुगे।

बारम्बार बैठकको माग गर्दा पनि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक डाक्न अस्वीकार गरेको भन्दै सहमतिका लागि बालुवाटार पुगेका नेताहरु बिना निष्कर्ष नै फर्किए। 

प्रचण्डसँगै वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम,प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि ओली भेट्न पुगेका थिए। ओलीको बोलीमा कुनै परिवर्तन नदेखेपछि उनीहरुले दुई दिने डेडलाइन दिए - बैठक डाक्नका लागि। डेडलाइनभन्दा पनि बैठकका लागि ओली सामु अनुरोध रह्यो गएका नेताहरुको।

उक्त भेटपछि प्रवक्ता श्रेष्ठले भने, 'ओलीलाई भेटर लिखित रुपमा सचिवालय बैठकको सहमतिका लागि अनुरोध गरेका छौं। हामीले सकभर भोलि र नभए पर्सिसम्ममा बैठक बसेर सबै विषयमा गम्भीर छलफल गरौं भनेका छौं।'

तर, प्रधानमन्त्री ओलीले बैठक बस्नेबारे निष्कर्ष दिएनन्। बैठकका लागि लिखितपत्र बुझाएपछि ओलीले 'गुटगत बैठक बसेर निष्कर्ष लिएर आएको' भन्दै आक्रोश पोखेका थिए।

'मविरुद्ध लाग्ने ?  कता-कता गोप्य बैठक बसेर गुटबन्दी गर्नुहुन्छ। जालझेल गर्नुहुन्छ। ती बैठकका निष्कर्ष बोकेर कमिटीको बैठक बसौं भनेर आउनुहुन्छ। किन चाहियो बैठक?,' ओलीले भनेका थिए।

बैठकमा नेताहरुको सवालजवाफ नै भएको थियो। ओलीको प्रश्नपछि प्रचण्डले स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नगरेको, बालुवाटारमा बसेर गुटबन्दी गरेको, प्रदेश १ को भेला राखेर जबजको बहस गरेर पार्टी एकता विरुद्ध काम गरेको जवाफ फर्काएका थिए।

सत्ता र सत्ताबाहिर रहेका सदस्यको छुट्टियो कित्ता

शुक्रवार अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक सचिवालय बैठकको आयोजना गरेका थिए। नेकपा सचिवालयमा सत्तामा रहेका र सत्ताबाहिर रहेकाको कित्ता छुट्टिएको छ अहिले। सत्तामा रहेका सचिवालय सदस्यहरु प्रचण्डले बोलाएको बैठकमा सहभागी भएनन्।

प्रचण्डले डाकेको बैठकमा खनाल,नेपाल, गौतम र श्रेष्ठ मात्रै सहभागी थिए। तर ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा बादल, पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल कार्यकारी अध्यक्षले बोलाएको बैठकमा गएनन्। उक्त बैठकले अनौपचारिक बैठक डाक्न ओलीसमक्ष अनुरोध गर्ने निर्णय गरेको थियो। शनिवार उनीहरु धुम्बाराहीमा बैठक बसेर लिखित पत्र बोकेर बालुवाटार पुगेका थिए। तर पार्टी कार्यालयमा भएको गुट बैठकका निर्णय आफूले नमान्ने अडान राखे प्रधानमन्त्रीले। 

बस्ला त बैठक?

बैठकबारे प्रधानमन्त्री ओलीले शनिवार एपी वान टेलिभिजनलाई दिएको अन्तर्वार्तामा जसले जतिबेला बैठक बसौं भन्ने बित्तिकै बस्न नसकिने स्पष्ट पारेका थिए। ओलीले गुटगत बैठक बसेर गरिएको निर्णय बोकेर प्रचण्ड नेपाल पक्ष पार्टी कमिटीमा आउने गरेको भन्दै आक्रोश पनि पोखेका छन्।

'जसले जतिखेर बसौं भन्यो त्यतिखेर बैठक बस्न त सकिन्न नि। हाम्रो पार्टीमा बैठक बस्ने तरिका के छ भने दुई अध्यक्षको बीचमा परामर्श हुन्छ। अध्यक्षहरुको पारामर्शमा महासचिवले बैठक बोलाउने हो,' उनले भनेका छन्,'एजेण्डाहरु तोकेर प्रस्तावहरु तोकेर कार्यसूची तयार गरेर यी निष्कर्षमा पुर्‍याउने भन्ने योजनाका साथ बैठक तोकिन्छ। कसैले बाटोमा हिँड्दा हिँड्दै बैठक बोलाउनुस् भन्यो…।'  

प्रधानमन्त्री ओलीलाई बारम्बार बैठकबाट भागेको आरोप लाग्दै आएका छ। अल्पमतमा पर्नेभएपछि बैठक डाक्न अस्वीकार गर्दै आएको  नेताहरु बताउँछन्।

नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेल भन्छन्, 'सचिवालयमा आफ्नो पक्षमा बहुमत हुँदा नेताहरू सचिवालय बैठक बोलाउने पक्षमा देखिनुहुन्छ। समीकरण बनाउने र भत्काउने खेलमा हुनुहुन्छ। पहिले ओलीजी सचिवालय बसौँ भन्नुहुन्थ्यो अहिले प्रचण्डजीले भन्दा प्रधानमन्त्री मानिरहनु भएको छैन।'

 तर, ओलीले आफू बैठकबाट नभागेको दाबी गरेका छन्। उनले आफू महाधिवेशनबाट चुनिएर एमालेको अध्यक्ष बनेको र अहिलेपनि प्रथम अध्यक्ष रहेको भन्दै आफू कहिल्यै अल्पमतमा नरहेको दावी समेत गरेका छन्।

शनिवारको भेटका क्रममा ओलीले बैठकका लागि अझै छलफलको आवश्यकता रहेको बताएका थिए। तर, अहिलेसम्म दुई अध्यक्षको भेटको कुनै टुंगो लागेको छैन। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्षको भेटको तयारी नरहेको जानकारी दिएका हुन्।

त्यस्तै प्रचण्ड पक्षका स्थायी कमिटी सदस्यले हिजोको भेटले दुई अध्यक्षबीच थप दुरी बढेको बताए। एपी वानमा प्रसारित अन्तर्वार्तामा प्रचण्डप्रति नै लक्षित गर्दै ओलीले दिएका अभिव्यक्तिले अवस्था थप बिग्रन सक्ने ती नेताले बताए।

'हिजो बैठक राख्न ओली मान्नुभएन्। हिजोको भेटले दुई अध्यक्षबीच भेट हुने माहोल पनि बिग्रिएको छ। सम्भवत: केही दिन भेट नहोला। सचिवालय बैठक बस्ने पनि देखिँदैन,' ती नेताले भने।

उता, स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार ओलीले बैठकका लागि केही निर्देशन दिइसकेका छन्। तर, उनले निर्देशनबारे खुलाउन भने चाहेनन्। 

नेकपा विधानमा सचिवालय बैठक आवश्यकता अनुसार बस्न सक्ने उल्लेख छ। लिखितपत्र बुझाएर बैठक माग गरेमा अन्य कमिटीमा जस्तो यति दिनभित्र बैठक बोलाउनुपर्ने भन्ने छैन।

बैठक बस्न अस्वीकार गरे के हुन्छ त?

'हामी त्यसरी सोच्दैनौं। भएन भने के गर्ने भने सोच्ने बेला यो होइन। सबै मिलेर छिटोभन्दा छिटो बैठक गर्ने,' प्रवक्ता श्रेष्ठले भने, 'बैठकमा छलफल गरेर सकरात्मक निष्कर्ष निकाल्नु आजको आवश्यकता हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell