PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

पार्टी कमिटीको बैठक छल्दै गुट भेलामा प्रधानमन्त्री आफैँ, नेपाल पक्षका नेता तान्न जबजको 'सुत्र'



विधुर ढकाल

पार्टी कमिटीको बैठक छल्दै गुट भेलामा प्रधानमन्त्री आफैँ, नेपाल पक्षका नेता तान्न जबजको 'सुत्र'

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी आन्तरिक विवादको चंगुलमा फसिरहँदा पार्टी भित्र गुटभेला र भेटघाट तीब्र बन्दै गएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली यतिबेला पार्टी कमिटीको बैठकलाई छल्दै आफैँ गुट भेला गरिरहेका छन् - भलै उनले गुटको विरोध गरेर अभिव्यक्ति दिँदै आएका हुन्। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित सचिवालयका बहुमत सदस्यहरुले पटक पटक खुमलटार र धुम्बाराहीमा छलफल गरी पार्टीका अर्का अध्यक्ष ओलीलाई सचिवालयको बैठक बोलाउन पत्र बुझाउँदै गर्दा ओली भने आफू पक्षका नेतासँगमात्र सक्रिय छलफलमा छन्। 

ओली पक्षका दोस्रो तहका नेताहरु तथा ओली सचिवालयका नेताहरुले पनि गुटगत छलफल र भेलालाई तीब्र पारिरहेका छन्।

यसको पछिल्लो क्रम शनिवार वसुन्धरामा ओली पक्षका कार्यकर्ताहरुको भेला हो। ओली पक्षका नेता तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईको नेतृत्वमा पूर्व एमाले भित्रको ओली समूहका नेताहरुको भेला भयो। भेलामा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रधानमन्त्री तथा अध्यक्ष ओलीको सन्देश लिएर पुगेका थिए।

'पूर्व भन्ने त छँदैछ। जिल्ला अध्यक्षको हैसियतले पार्टीका डीसीएमका बीचमा छलफल भएको हो,' नेकपा जिल्ला अध्यक्ष राईले भने। उनले पूर्व एमालेका डीसीएम भने पनि सो भेलामा माधव नेपाल पक्षका नेताहरु भने सहभागी भएनन्।

राईले गुटको भेला भन्दा पनि केन्द्रमा के भइरहेको छ भन्ने विषयमा पार्टीका साथीहरुलाई जानकारी गराउन जिल्ला अध्यक्षको हैसियतले छलफल गरेको दाबी गरे।

‘माथि के भइरहेको छ जानकारी हुँदैन। मिडियामा आएपछि वा कसैले एकतर्फी रुपमा भने पछि मात्र थाहा पाइने भइयो,' उनले भने, 'त्यसैले पनि माथि के भइरहेको छ भन्ने विषयमा जानकारी दिइएको हो। भेलाको उद्देश्य पार्टी विभाजनलाई बल पुर्‍याउनु होइन। पोखरेल कामरेडले पनि माथिको विवाद माथि नै समाधान हुन्छ, अन्तर पार्टी निर्देशन अनुरुप भूमिका निभाउनुस भन्नुभयो।'

बैठकमा सहभागी एक नेताका अनुसार भेलामा जनताको बहुदलीय जनवाद (जबज)को विषयमा छलफल भएको छ।

'जबज बटम लाइन हो। महाधिवेशन अगाडि नै यसलाई कार्यकर्तामाझ पुर्‍याउन निर्देशन आयो,' सहभागी एक नेताले भने। 

त्यति मात्र होइन, पार्टी गुटलाई प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनको ब्यानरमा अगाडि बढाएका छन्।

गत सातामात्र ओलीले यस्तै गुटभेला फाउन्डेसनको नाममा गरेका थिए। प्रदेश १ का ओली पक्षीय नेता कार्यकर्ता सहभागी भएको भेलालाई ओली र पोखरेलले भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् सम्बोधन गरेका थिए।

भेलामा उनले पार्टी विधानमा आगामी महाधिवेशन सम्मका लागि थाँती राखिएको जबजलाई अन्तिम बटमलाइन भएको भन्दै जबजका विषयमा छलफल अगाडि बढाउन निर्देशन दिएका थिए। भेलामा नेपाल पक्षका नेताहरु सहभागी नभए पनि तल्लो तहसम्म जबजको छलफल लैजाने र नेपाल पक्षका नेताहरु पनि स्वत: सहभागी हुँदै आउने निष्कर्ष निकालेको बताइएको छ।  

त्यस्तै, गत आइतवार नै ओली पक्षका नेताहरु लाजिम्पाटमा भेला भएका थिए। उपप्रधानमन्त्री ईश्वर पोखरेल, खगराज अधिकारी, महेश बस्नेत, केन्द्रीय सदस्य आनन्द पोखरेल लगायतका करिब १५ जना नेताहरु लाजिम्पाटमा भेला भइ पूर्व एमालेलाई एक बनाउन र नेपाल पक्षलाई फकाउने निष्कर्षसहित टुंगिएको थियो।

यो समूह प्रचण्ड नेपालको समीकरण भत्काउँदै नेपाललाई ओली नजिक ल्याइ प्रचण्डलाई एक्ल्याउने रणनीतिमा लागेको छ। सोही अनुरुप ओली गुटका नेताहरु शंकर पोखरेल, विष्णु रिमाल, भानुभक्त ढकाल, राजन भट्टराई र सूर्य थापालगायत राजनीतिबाट टाढा भइसकेका नेता प्रदीप नेपाललाई भेटर माधव नेपाललाई फकाइदिन अनुरोध गरेका थिए।

गत सोमवार पनि ओली पक्षका नेताहरु मदन भण्डारी फाउन्डेसनको कार्यालय गौशालामा भेला भएर ओली सरकारको रक्षाका लागि छलफल गरेको थियो। बालुवाटारमा उपप्रधानमन्त्री  ईश्वर पोखरेल, विष्णु रिमाल, शंकर पोखरेलहरुलाई ओलीले ब्रिफिङ गरेका थिए। सोही अनुरुप ती नेताहरु गौशालामा पुगेर ओली पक्षका नेताहरुलाई सरकारको प्रतिरक्षामा लाग्न निर्देशन दिएका थिए। बालुवाटारको ब्रिफिङमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए। तर, पौडेललाई फरक जिम्मेवारी दिइयो- नेपाल समूहका नेताहरुलाई भेट गर्ने। सोही अनुरुप स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डे लगायतलाई भेट गरे उनले।

त्यस्तै, उनले पूर्व माओवादी नेता वर्षमान पुनलाई पनि भेट गरेर बालुवाटारको सन्देश दिएको स्रोत बताउँछ। सोही अनुरुप पौडेलले खुमलटारमा पुगेर पटक पटक प्रचण्डलाई भेट गरेका छन्। तर, उनी प्रचण्डले नै बोलाएको सचिवालय सदस्यहरुको छलफलका लागि धुम्बाराही भने गएनन्।

गौशालाको भेलामा भानुभक्त ढकाल, पार्वत गुरुङ्, राजन भट्टराई, राजेन्द्र गौतमसमेत सहभागी भएको स्रोतले जनायो।

सो भेलामा नेकपाभित्रको ओली समूहको विषयमा तथा पूर्व एमालेलाई एक बनाइ पूर्व माओवादी समूहलाई एक्लाउने विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। भेलामा पार्टी कमिटीमा आफ्नो समूह अल्पमतमा रहेको र तत्काल सचिवालय, स्थायी कमिटीको बैठक नबोलाउने प्रधानमन्त्री ओलीको सन्देश पुर्‍याइएको थियो। साथै बैठक बसे सरकारको आलोचना हुने र आफूहरु रक्षात्मक हुनुपर्ने अवस्था रहेकाले केन्द्रीय कमिटीको बैठक बोलाउन नहुने निष्कर्षसमेत निकालिएको एक नेताले बताए।

ओलीले आफू संकटमा पर्दा सँधै मदन भण्डारीका नाममा खोलिएका फाउन्डेसन र प्रतिष्ठानहरुको प्रयोग गर्ने गरेका छन्। त्यसैले यिनको खारेजीको आवाज पनि उठ्दै आएको छ।

एमालेको अध्यक्ष हुँदा नै ओलीले फाउन्डेसन मार्फत् पार्टीभित्र गुट चलाउँदै आएको नेकपाका केन्द्रीय सदस्य राजेन्द्र राईले बताउँछन्।

'हिजो एमाले हुँदादेखि नै गुट चलाउनकै लागि फाउन्डेसन र प्रतिष्ठान खोलिएका हुन्। यिनै प्रतिष्ठानमार्फत् प्रधानमन्त्री ज्यूले गुट चलाउँदै आउनु भएको हो,' राईले पहिलोपोस्टसँग भने, 'अहिले फेरि यसैको प्रयोग गर्दैछन्।'

नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुषाल पनि ओलीले फाउन्डेसनका नाममा हिजो पनि गुट चलाएको र आज पनि चलाइरहेको बताउँछन्।

‘मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्मृति प्रतिष्ठान पार्टीको आधिकारिक निर्णयमा खुलेका होइनन्, उहाँहरुले व्यक्तिगत रूपमा सञ्चालन गर्नुभएको हो,’ स्थायी कमिटी सदस्य वेदुराम भुसालले भने, ‘१० वर्षयता फाउन्डेसनका नाममा स्थानीय तहसम्मै गुटको बिस्तार गर्ने काम भइरहेको छ।’

यसअघि गत असारमा पनि सचिवालय र स्थायी कमिटीमा रक्षात्मक अवस्थामा ओली पुगेका थिए। त्यतिबेला ओलीको राजीनामा मागिएको थियो। ओलीले यिनै फाउन्डेसनका नाममा आफ्ना पक्षका कार्यकर्ताहरुलाई सरकारको पक्षमा सडकमा उतारेका थिए।

कोभिड-१९ माहामारी फैलिरहेको अवस्थामा ओलीकै निर्देशनमा सरकारको पक्षमा सडकमा कार्यकर्ता उतारेका ओलीले अहिले फेरि बैठक बोलाए अल्पमतमा पर्ने भन्दै बैठक छल्दै फाउन्डेसन मार्फत् आफ्नो गुट परिचालन गरिरहेका छन्। अहिले फाउन्डेसनको नाममा गुट परिचालनसँगै जबजको अस्त्र लगाएर नेपाल पक्षका नेता कार्यकर्ताहरुलाई पनि आफ्नो पक्षमा ल्याउने प्रयास ओलीले गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell