अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ तथा वरिष्ठ सल्लाहकार जेराड कुस्नरले ट्रम्पलाई निर्वाचन परिणाम स्वीकार गर्न सुझाव दिएको सीएनएनले जनाएको छ। सीएनएनले स्रोतलाई उदृत गर्दै कुस्नरले ट्रम्पलाई निर्वाचन परिणाम स्वीकार गर्न प्रस्ताव गरेको जनाएको छ।
ट्रम्पले निर्वाचन परिणाम अस्वीकार गर्ने संकेत दिँदै सामाजिक सञ्जाल ट्वीटरबाट आफू विजयी भएको घोषणा गरिसकेका छन्। उनले डेमोक्रेटहरुले मत चोरेको आरोप लगाउँदै आएका छन्। उनले लगाएका आरोपहरुलाई अमेरिकी सञ्चार माध्यमहरुले पनि आधारहिन भन्दै रिपोर्ट गर्दै आएका छन्। कतिपय सञ्चार माध्यमहरुले उनको सम्बोधनलाई बीचमै रोकेका थिए।
ट्रम्पको चुनावी अभियानका तर्फबाट विभिन्न राज्यमा मतदानमा धाँधली भएको भन्दै कानुनी रुपमा निवेदन दर्तासमेत गरिसकेका छन्। उनको कानुनी लडाई सोमवारबाट सुरु हुने बताइएको छ।
बाइडेन र ह्यारिसका चुनावी अभियानका सहव्यवस्थापक केट बेडिङफिल्डले ट्रम्प र बाइडेनकाबीचमा यस बीच कुनै सम्पर्क नभएको जनाएका छन्।
