सल्यान : सल्यानमा कोरोना संक्रमणबाट पहिलोपटक एक जनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका-१ दारिमचौरका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो।
केही दिन अगाडि ज्वरो, रुघाखोकीले च्यापेपछि उपचारका लागि दाङ लगिएको थियो। उनको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको र कोहलपुरमा स्वाब संकलन गरेर अस्पतालमा भर्ना गरिएको भोलिपल्ट नै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। उनको मृत्यु भइसकेपछि पीसीआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय सल्यानका कोरोना स्रोत व्यक्ति रिखाराम पुनले जानकारी दिए।
कोरोनाबाट संक्रमितको मृत्यु भएपछि जिल्लाको ठूलो व्यापारिक केन्द्र श्रीनगर बजार एक साताका लागि सिल गरिएको छ। श्रीनगरमा रहेका केही व्यापारीहरुमा समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेपछि र मृतक व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु र उपचारमा संलग्न व्यक्तिहरुको स्वाब संकलन गरी पीसीआर रिपोर्ट नआउँदासम्मका लागि बजार सिल गरिएको शारदा नगरपालिका-१ का वडाध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए।
तिहार नजिकै आइरहेको बेला बजारमा अत्यधिक भिडभाड बढिरहेको र समुदायमा कोरोना संक्रमण हुने खतरा रहेकाले बिहानको समयमा मात्रै बजार खोल्ने व्यवस्था गरिएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए।
‘तिहार नजिकै आइरहेको छ बजारमा किनमेल गर्नेहरुको भिडभाड अत्यधिक बढेको छ, कोरोना संक्रमण फैलिन सक्ने भएकाले भिडभाड नगर्न सबैमा अनुरोध गर्दछु,’ अध्यक्ष बुढाथोकीले भने।
हालसम्म सल्यानमा ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार, ५०७ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ४३ जनाको जिल्लाका विभिन्न ठाउँमा होम आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना स्रोतव्यक्ति पुनले जानकारी दिए।