PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

नसुल्झेको उखु किसानको समस्याः भुक्तानीको सम्झौता दश महिनासम्म अलपत्र, सिंहदरबार घेर्ने किसानको चेतावनी



पहिलोपोस्ट

नसुल्झेको उखु किसानको समस्याः भुक्तानीको सम्झौता दश महिनासम्म अलपत्र, सिंहदरबार घेर्ने किसानको चेतावनी

काठमाडौँः बारम्बार उखुको रकम भुक्तानीका लागि आन्दोलन गर्दै आएका किसानहरुले छठअघि बक्यौता रकम भुक्तानी नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्। आइतबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई स्मरण पत्र बुझाउँदै उखु किसान संघर्ष समितिले आन्दोलनको चेतावनी दिएको हो। गत माघमा सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै संघर्ष समितिले छठअघि भुक्तानी नभए मंसिर २७ गतेदेखि आन्दोलन गर्ने मन्त्री भट्टलाई बुझाएको स्मरण पत्रमा उल्लेख छ।

स्मरण पत्रमा भनिएको छ, ‘छठभन्दा अघि किसानहरूको सम्पूर्ण रकम भुक्तानी भएन भने छठ पर्वपछि २०७७ साल मंसिर २७ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा हजारौँ किसान भेला भई सिंहदरबार घेर्नेछौँ। अतः नेपाल सरकारले तुरुन्त निर्धारित अवधिमा रकमको भुक्तानी गरियोस्।’

आन्दोलनरत उखु किसान र सरकारबीच यसअघि २०७६ साल पुस १८ गते पाँच बुँदे सम्झौता भएको थियो। सम्झौता अनुसार २०७६ माघ ७ गतेभित्र सम्पूर्ण रकम किसानहरुको खातामा पु¥याउने सरकारको प्रतिबद्धता जनाएको थियो। तर, सो निर्णय कार्यान्वयन हुन सकेन।

सम्झौता कार्यान्वयन नभएपछि ०७६ चैत ४ गतेदेखि पुनः काठमाडौँमा आन्दोलन सुरु भएको थियो। कोरोना महामारीका कारण चैत ११ गतेबाट लकडाउनको घोषण भएसँगै आन्दोलन स्थगित भएको थियो।

तर, लामो समयसम्म भुक्तानी नपाएपछि संघर्ष समितिले आइतबार मन्त्री भट्टलाई भुक्तानीको व्यवस्थाका लागि स्मरण पत्र बुझाएको हो।

स्मरण पत्र बुझ्दै मन्त्री भट्टले किसानको समस्या समाधानका लागि आफू प्रतिवद्ध भएका बताएका छन्। रकम उठाउन गृह मन्त्रालयसँग समेत आवश्यक समन्वय गर्ने भट्टको आश्वासन छ। बन्द भइसकेका मिलको अचल सम्पत्तिबाट असुल गरेर भए पनि किसानलाई भुक्तानी दिलाउने उनले आश्वासन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell