PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

स्थानीयले मुद्दा हालेपछि बारामा निर्माणाधीन पुलको काम ठप्प



राधेश्याम पटेल

स्थानीयले मुद्दा हालेपछि बारामा निर्माणाधीन पुलको काम ठप्प

वीरगंज : प्रदेश २ भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको गृह जिल्ला बारामा निर्माण भइरहेको साढे १३ करोड लगातको पुलको काम रोकिएको छ। जितपुरसिमरा उपमहानगरपालिका २० रमौलीकी प्रभा कोइरिनले मुद्दा दायर गरेसँगै काममा अवरोध आएको हो।

अर्काको सम्पतिमा क्षति गर्ने हिसाबले निर्माण भइरहेकोले यथाशीघ्र पुलको काम रोक्न उनले उच्च अदालत अस्थायी ईजलास वीरगंजमा मुद्दा हालेकी छिन्। असोज २८ गते अदालतले काम बन्द गर्ने परमादेश पनि जारी गर्दै यही कातिक २३ गतेको लागि दुबै पक्षको लागि छलफलको लागि पेशी तोकेको छ। चालू आव २०७७/०७८ को भ्याटसहित १३ करोड ७० लाखको बजेटबाटबाट सय मिटर लम्बाईमा निर्माण हुने पुल अढाई वर्षमा सम्पन्न गर्नु पर्ने गरी सपना मेरिना कन्सट्रक्शन जेभी हेटौडाले ठेक्का लिएको छ।

मन्त्रालयद्वारा लगाइएको ठेक्का २०७६ असारमा पुल निर्माणको विषयमा मन्त्रालय र ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो। जितपुर–ईनार्वासिरा–कलैया सडकखण्डमा अन्तर्गत पर्ने दुधौरा खोला पुल रमौलीघाट योजना निर्माण पनि उक्त क्षेत्रको यातायात सहज हुने भनेर भौतिक पूर्वाधार विकास मन्त्री सोनलले उक्त योजना अघि बढाएका थिए। तर स्थानीयको मुद्दा हाल्ने प्रवृतिले काम ढिलाई भइरहेको बताएका छन्।

कोइरिनका छोरा अनिल कुशवाहाले पुल अन्तै बनाउनु पर्ने माग राखेका छन्। ‘मेरो जग्गा अतिक्रमण भएको छैन, तर पनि त्यो ठाउँमा पुल बन्यो भने मेरो जग्गातर्फ खोलाको बहाव क्षेत्र मोडिन्छ,’ कुशवाहाले भने, ‘मेरो ३ विघा ५ कठा जग्गा पुलको उत्तरपट्टि पर्दछ, पुल निर्माणको कारण बगरमा परिणत हुने निश्चित छ, त्यसको लेखाजोखा कसले राख्ने?’ यस विषयमा उक्त योजना हेरिरहेका एवं भौतिक पूर्वाधार विकास कार्यालय वीरगंजका इन्जिनियर विवेकानन्द झाले कातिक २३ गतेको पेशीमा अदालतले मुद्दा खारेज गरिदिने विश्वास रहेको बताए। निवेदकको माग अनुसार उनको जग्गा पुलको स्थलभन्दा २० फिट उत्तर पर्ने भएकोले र पुल निर्माणको काम सार्वजनिक सडकको जग्गामा भइरहेकाले योजना कुनै हालमा नरोकिने बताए। उनले सो पुलले सो क्षेत्रको बासिन्दाको यातायातमा ठुलो योगदान पुग्ने भएकोले पुलको निर्माण कार्यमा सहयोग गर्न अपिल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell