PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

'विवाद समाधान कार्यदल'का सदस्यहरूलाई प्रधानमन्त्रीले बाेलाए बालुवाटार



पहिलोपोस्ट

'विवाद समाधान कार्यदल'का सदस्यहरूलाई प्रधानमन्त्रीले बाेलाए बालुवाटार
फाइल फाेटाे

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विवाद समाधानका लागि गत साउनमा बनाइएको ६ सदस्यीय कार्यदललाई बालुवाटार डाकेका छन्।

कार्यदलका सदस्यहरूले पछिल्लो विवादबारे छलफलका लागि समय मागेका थिए। ओलीले आज दिउसो ११ बजेका लागि बालुवाटार बोलाएका हुन्। प्रधानमन्त्रीले छलफलमा बोलाइएको तर आफ्नो व्यस्तका कारण उपस्थित नहुने कार्यदलकी सदस्य पम्फा भुसालले जानकारी दिइन्।

पार्टी विवाद उत्कर्षमा पुगेका बेला गत साउनमा महासचिव विष्णु पौडेल, नेताहरु सुरेन्द्र पाण्डे , भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल नेतृत्वको कार्यदल गठन गरेको थियो। सोही कार्यदलले बुझाएको प्रतिवेदन अनुसार पार्टी विवाद तत्कालका लागि मत्थर भएको थियो।

कार्यदलको प्रतिवेदन अनुसार प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्ने र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका थप गरी ‍पार्टी सञ्चालन गर्ने निर्णय स्थायी कमिटीबाट पारित गरेर संकट तत्कालका लागि समाधान भएको थियो।

पछिल्लो पटक उत्कर्षमा पुगेको नेकपा विवाद समाधान हुन सकेको छैन्। कार्यदलका सदस्यहरुले आफूहरुले बुझाएकाे प्रतिवेदन कार्यान्वयन नभएकाले समस्या पैदा भएकाे बताउँछन्। उता, पार्टी सचिवालय बैठकका माग गर्दै कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई दिएको दुई दिने अल्टिमेटम आज सकिँदैछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell