काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले अविलम्व बैठक राखी विवाद समाधान गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
उनले सोमवार एक विज्ञप्ति जारी गर्दै उनले पार्टीमा आरोप प्रत्यारोप र पार्टी विभाजनका कुराले चिन्तित बनाएको बताएका छन्। बोहोराले विगतमा पार्टीमा उत्पन्न ठूलठूला विवादहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएको उल्लेख गर्दै त्यतातर्फ नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
'पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आम पार्टीपङ्क्तिलाई निराश पार्ने गाली गलौज, निन्दा, भत्सर्ना ,आरोप–प्रत्यारोप र पार्टी विभाजन” जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरु सार्वजनिक सञ्चार माध्यमबाट आउने गरेका छन्। यो हाम्रो लागि गम्भीर चिन्ताको विषय हो,' विज्ञप्तिमा भनिएको छ।
उनले विधि र पद्धति पार्टी जीवन नरहने बताउँदै आत्मकेन्द्रित भएर सोचेको प्रति असन्तुष्टि प्रकट गरेका छन्।
'हामी किन पार्टी विधान अनुसार विधि पद्धतिको पालना गर्दैनौ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं, उनले प्रश्न गर्दै भनेका छन्,' जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरु कुनै स्वार्थ छन्? अनि हामीहरु किन निःतान्त आत्मकेन्द्रित भएर सोच्दछौं।'
बोहोराले पार्टीका निर्णयहरु दराजमा सजाउनका लागि नभएको बताउँदै पार्टी एकताका समयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णयहरु आजसम्म कार्यान्वयन नभई निस्क्रिय बसेको उल्लेख गरेका छन्।
पार्टीका निकायहरु अनुशासन आयोग, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद र जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभागलगायत एकताका बाँकी कामहरु आजसम्म थाँतिरहेका विषय दुःखद रहेको उनको भनाइ छ।
उनले २६ भदौमा स्थायी कमिटी बैठकले गरेको निर्णय बहानामा पन्छाउने काम भइरहेको भन्दै आपत्ति पनि जनाएका छन्।
उनले पार्टी एकताको विकल्पै नरहेको उल्लेख गर्दै छिट्टै बैठक राख्न माग गरेका छन्।
'जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं। बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं। पार्टी एकताका बाँकी सबै कामहरु छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई बैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाऔं। पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा बिचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्धारा परास्त गरौं,' विज्ञप्तिमा भनिएको छ।
