PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

परिणाम देखिने गरी काम गर्न जिल्ला अस्पतालहरुलाई सामाजिक विकास मन्त्री घिमिरेको निर्देशन



फूलमाया पुरी

परिणाम देखिने गरी काम गर्न जिल्ला अस्पतालहरुलाई सामाजिक विकास मन्त्री घिमिरेको निर्देशन

विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताएका छन्। अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत मन्त्री घिमिरेले निर्देशन दिए।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमवार भएको प्रदेश स्तरिय अस्पतालहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा मन्त्री घिमिरेले जिल्ला अस्पतालहरुलाई प्रदेश सरकारले उल्लेखनिय वजेट दिएकाले परिणाम पनि सोही अनुसार हुनुपर्ने बताएका हुन्। स्थानीयले सेवा सुलभ भएको अनुभुति गर्न पाउनुपर्ने उनको भनाइ छ।

चालु आर्थिक वर्षमा मात्र जिल्ला अस्पतालहरुलाई ७ करोड देखि ३५ करोडसम्म वजेट प्रदेश सरकारले उपलब्ध गराएको उनले बताए। पछिल्लो अढाई वर्षमा अस्पतालहरुले जनशक्ति, यन्त्र उपकरण र पूर्वाधारमा गरेको प्रगतिको समीक्षा हुन आवश्यक रहेकोमा उनले जोड दिए।

‘प्रदेश सरकार गठन पछिको अढाई वर्षकै समीक्षा आवश्यक छ,’ मन्त्री घिमिरेले भने।

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन पनि उनले निर्देशन दिए। जसका लागि स्वास्थ्यकर्मीलाई घर-घरमा गएर बीमा गर्न सुझाव दिए।

‘घरदैलो गर्दै शतप्रतिशतको स्वास्थ्य बीमा गर्नुहोस्’, मन्त्री घिमिरेले भने, ‘निजी अस्पतालले दिने सेवा भन्दा प्रभावकारी सेवा दिनुहोस्, मेरो आग्रह आग्रह छ।’

प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि बिरामी संख्याको आधारमा भेन्टीलेटर अक्सिजन (एचडियू) सहितको ५ सय वेड विस्तारको तयारी गरिरहेको पनि मन्त्री घिमिरेले बताए।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सरकारले स्वास्थ्य क्षेत्रको वजेट कटौति नगर्ने भएकाले उच्च मनोबलका साथ काम गर्न आग्रह गरेकी छिन्। कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, जिल्ला समन्वय समिति महासंघ प्रदेश १ का अध्यक्ष बवि चाम्लिङ, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहता लगायतले बोलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell