PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

कर्तव्य ज्यान मुद्दाका दोषीलाई प्रहरीले १६ वर्षपछि गर्‍यो पक्राउ



रासस

कर्तव्य ज्यान मुद्दाका दोषीलाई प्रहरीले १६ वर्षपछि गर्‍यो पक्राउ

काठमाडौं : कर्तव्य ज्यान मुद्दाका दोषीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको मेचीनगरका ३३ वर्षीय हरि भन्ने रामकुमार गिरी रहेको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ।

विसं २०६१ मा काठमाडौंको सामाखुसीमा कानमा लगाएको मुन्द्रा माग्दा नदिएको झोकमा चितवनका जीवन लोहनीले स्थानीय प्रकाश लामालाई कुटपिट गरेको र सोही घटनाको बदलास्वरुप गिरीले लोहनीको हत्या गरेको प्रहरीले जनाएको छ। विसं २०६४ मा जिल्ला अदालत काठमाडौंले उक्त घटनामा दोषी ठहर गर्दै उनलाई कैद सजाय सुनाएपनि फरार हुँदै आएका थिए।

उक्त घटनापछि गिरी केही समय विदेश गएका थिए। फर्किएपछि नेपालका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएकामा महाशाखाको टोलीले उनलाई भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरी काठमाडौं ल्याएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए।

उनलाई फैसला कार्यान्वयनका लागि सोमवार नै जिल्ला अदालत काठमाडौं बुझाइएको जनाइएको छ।

बैंकिङ कसुरमा पक्राउ

बैंकिङ कसुर मुद्दामा सोमवार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका ३२ वर्षीय सूर्यप्रसाद शाह रहेका छन्।

काठमाडौं विश्व विद्यालयअन्तरगत मेडिकल शिक्षामा अध्ययन गर्ने क्रममा उनले पहिलो किस्ताबापत तिर्नुपर्ने १३ लाख ४१ हजार रुपैयाँ बराबरको चेक दिएका थिए, तर चेक नसाटिएपछि विश्व विद्यालयले काभ्रेपलाञ्चोक जिल्लामा बैंकिङ कसुरमा उजुरी दिएको ब्युरोले जनाएको छ। त्यसपछि उनी फरार हुँदै आएका थिए।

सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको र आजै थप कारबाहीका लागि काभ्रेपलाञ्चोक पठाइएको ब्युरोले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell