- सुष्मा श्रेष्ठ -
मंगल धुन बज्न थालिसकेको थियो। बजारमा किनमेल गर्नेको भिड पनि बाक्लिदै थियो।
'दशैं लागि सक्यो त कहिले आउछेस्?', गाउँबाट फोन गर्दा ममी सोध्नुहुन्थ्यो। म फूलपातीको अघिल्लो दिन आइपुग्ने आश्वासन दिन्थेँ। सबैकुरा ठीकै भए घर पुगिन्छ भन्ने उत्साह छँदै थियो।
म अर्थात् सुष्मा श्रेष्ठ। घर काभ्रे, कुन्तावेशी। हुर्काइ पढाइ भने काठमाडौंमै। जनस्वास्थ्यमा स्नातक (बीपीएच) गरेकी छु। पढाई लगत्तै रोट्र्याक्ट क्लबलगायत सामाजिक संस्थामार्फत् काम गरेँ। त्यसको केही समयपछि मेरी स्टोप्स इन्टरनेशनल नेपालको 'सुनौला परिवार नेपाल'मा जिल्ला कार्यक्रम अधिकृत भएर दैलेख पुगेँ।
काभ्रे र काठमाडौं गरेर हुर्किएकी म, दैलेख खट्ने खबरले घरमा खुशी कम चिन्ता ज्यादा थियो।
त्यो विकट ठाउँमा कसरी काम गर्ली? समयमा खाने हो होइन? सुरक्षित छ छैन? त्यहाँको परिवेशमा कसरी भिज्ली? भन्ने पीर थियो परिवारलाई।
जनस्वास्थ्यको विद्यार्थी भएकाले मैले समग्र देशका समूदायका बारेमा धेरथोर जानकारी लिएकी थिएँ। सामाजिक संस्थामा काम गर्दा गरिब दु:खीहरूको जीवन नजिकबाट हेरेकी थिएँ।
इच्छा थियो - देशको कुनाकाप्चा पुग्ने। विकट ठाउँमा रहेकाहरूको सेवा गर्ने। दैलेख जाने प्रस्ताव आउनु मेरा लागि अवसर थियो।
मेरो निर्णय अडिग थियो। परिवारको अगाडि आफ्नो जिम्मेवारीको कथन सुनाएँ। मनभित्र डरै नभएको त कहाँ हो र?
+++
नयाँ ठाउँ, नौला मान्छे। बोलिचाली, रहन सहन सबै बेग्लै। सँगै खटेका साथीहरूले सहयोग गरे। स्थानीयले सद्भाव देखाए। म कार्यरत् संस्थाले जिम्मेवारीबारे प्रष्ट पारेको थियो। गाउँपालिका, नगरपालिकामा काम गर्ने स्वास्थ्यकर्मी र अन्य साझेदार दाजुभाइ दिदी बहिनीहरूले पनि साथ दिए। अवस्था केही सहज बन्यो।
बिस्तारै काममा अभ्यस्त हुँदै थिएँ। एकाएक कोरोना भाइरस महामारीको संक्रमण सुरु भयो। मानिसमा त्रास बढ्यो। सुरुवाती दिनमा आवश्यक मापदण्ड पूरा गरी सुरक्षा अपनाइ काममा खट्यौं।
घरकाहरू भने मेरा लागि चिन्तित हुनुन्थ्यो। त्यसैले चैतको अन्तिम साता म घर फर्किएँ, जिम्मेवारीको ठेली बोकेरै। मेरो काम घरमै बसेर टेलिफोन वा इमेलमार्फत् संस्था, समूदाय र कर्मचारीहरूसँग सम्पर्कमा रहने र आवश्यक जानकारी लिने/दिने थियो।
लकडाउनका कारण मेरी स्टोप्सद्वारा दिँदै आएको परिवार नियोजनको सेवा तीन महिनासम्म ठप्प रह्यो। तर, भारतको सीमामा अल्झिएका नेपाली नेपाल भित्रिएसँगै परिवार नियोजनको सेवाको माग ह्वात्तै बढ्यो।
त्यो परिस्थितिमा म चुप बस्न सकिँन। परिवारको आग्रहबीच म कार्यक्षेत्रमा फर्किएँ। त्यतिखेरसम्म दैलेखमा संक्रमण दर बढिरहेको थियो। जोखिम हामीलाई पनि बराबर थियो। तर, काम गर्दिनँ भन्ने पक्षमा थिइँन म।
डर लाग्दा संक्रमितकै उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई सम्झिएर चित्त बुझाउथेँ। दुधे बच्चालाई घरमै छाडेर आइसोलेसनमा खटेका कर्मचारीको कथा पढेकी थिएँ। महिनौं घर नगइ कोभिड-१९ विरुद्ध लड्नेहरूलाई सम्झन्थेँ। मास्क र पीपीइको अभावविरुद्ध बोलिरहेकादेखि स्थानीयले घरबाट निकाल्न तम्सदा आत्तिएका डाक्टर नर्सलाई सम्झन्थेँ। आफैलाई सम्झाउँथेँ। बेग्लै प्रेरणा मिल्थ्यो।
+++
कातिक २८ गते राती। सुत्ने तरखरमा थिएँ। तर, अचानक मेरो टाउँको बेस्सरी दुख्यो। पटकपटकको प्रयासपछि निदाएँ। बेलाबेला दुखेरै बिउँझिएको याद छ। एक मनले लाग्यो – कोरोना।
तर, बिहान उठ्दा अवस्था सामान्य थियो। लाग्यो – मोबाइल र ल्यापटप धेरै हेरियो।
भोलिपल्ट शरीर गल्यो। पर्सीपल्टदेखि सुख्खा खोकी र रुघा सुरु भयो। त्यसपछि नआत्तिइ बस्नै सकिँन।
जिल्ला स्वास्थ्य सेवामा फोन गरेर बुझ्दा शनिवार स्वाब नलिने बताइयो। आइतवार बिहान स्वाब दिएँ। भोलिपल्ट बेलुकी रिपोर्ट आयो – पोजेटिभ।
हस्पिटलको आइसोलेसनको क्षमता भन्दा संक्रमित धेरै थिए। मसँग होम आइसोलेसनमा बस्नुको विकल्प थिएन। घरबेटी स्वाथ्यकर्मी नै भएकाले अवस्था असहज बनेन।
अप्ठ्यारो त घरमा खबर पठाउँदा पर्यो। केही दिनअघि मात्र फूलपातीको अघिल्लो दिन आउँछु भनेकी थिएँ। आमाबुबा खुशी हुनुन्थ्यो।
आँट गरेर फोन गरेँ। सबैको चिन्ता उही – टाढा भइस्। तेरो ख्याल कसले राख्छ?
सक्दो सम्झाएँ। आफूलाई गाह्रो नभएको बताएँ। 'म ठीक भएर फर्कन्छु,' भनेँ।
तर, फर्कनुअघिको १४ दिन आइसोलेसन अनिवार्य थियो। आइसोलेसनमा दशैंको गज्जव अनुभव संगाल्न पाउनुलाई पनि मौकाका रुपमा हेरेँ मैले।
मेरा कारण अरुलाई संक्रमण नसरोस् भन्ने चाहिँ कामना गरिरहेँ। तर, सोचेजस्तो भएन। सँगै फिल्डमा खट्ने सहकर्मीलाई पनि संक्रमण पुष्टि भयो।
विगत एकासाता देखि हामी लगातार फिल्डमा थियौं। मास्क र स्यानिटाइजर कहिल्यै छुटाएनौं। सेवा दिने क्रममा पनि सबै प्रोटोकल अपनाएकै थियौं। सामाजिक दुरी पनि कायम गरेकै थियौं। हर सावधानीका बीच कसरी संक्रमण भयो? हामी छक्क पर्यौं।
साथीहरु फोनमा जिस्क्याउँथे, 'सबैलाई यस्तो गर्नुपर्छ, यस्तो गर्नुहुन्न' भन्दै सिकाउने मान्छे आफू चाहिँ के हो?'
अब के हो के हुनु नि? भाइरसले मान्छे नचिन्ने रहेछ त के गर्नु? - मनमनै भन्थेँ।
दशैंलाई घर जाने तयारी गरिरहेकी म एकान्तबासमा पुगेँ। कहिले काहीँ सोच्थेँ – बरु परीक्षण नै नगरेको भए हुन्थ्यो। तर, त्यो मेरो मुर्खता हुन्थ्यो। मेरा कारण अरु धेरैमा संक्रमण फैलन सक्थ्यो। आफ्नै घरमा पनि उमेरले ७५ नाघेको बाजे, अजी हुनुहुन्थ्यो।
मैले स्वास्थ्य परिक्षण गरेर ठिक गरेँ। सामान्य रुघा खोकी हो, निको भइहाल्छ भनेर वास्ता नगरेको भए झनै समस्या हुन्थ्यो।
आइसोलेसनमा बिहान उठ्ने, तातो पानी खाने, बेसार पानी बनाउने, बाफ लिने, सामान्य व्यायाम गर्ने र श्वास प्रश्वासको व्यायाम गरेरै शुरु बित्थ्यो। हरियो सागपात, गेडागुडीको झोल, तातो पानी र रोग प्रतिरोधात्मक शक्ति बढाउने खानाको मात्रा एकदम बढाएँ। डाक्टर साथीहरुको सल्लाह अनुसार भिटामिन र अन्य औषधिहरु पनि लिएँ।
दैलेखमै कार्यरत् एक संस्थाका कर्मचारीले आवश्यक परेको अवस्थामा भन्दै चिकित्सक र अन्य आवश्यक कर्मचारीहरुको नम्बर उपलब्ध गराएका थिए। उनीबाट मैले विविध परामर्श पाएँ। साहित्यिक सामाग्री पठाए। आफ्ना अनुभव लेख्ने प्रेरणा दिए।
त्यस्तो समयमा सान्त्वनाका शब्द र सहयोगले ठूलो महत्व बोक्ने रहेछ।
दशैंको दिन भिडियो कलबाटै आशिर्वाद लिएँ। अरुको रङ्गी चङ्गी फोटो हेर्दा मन कटक्क गर्थ्यो। तर मैले परिस्थिति स्वीकारेँ।
घर परिवारसँग बारम्बार कुराकानी भइरहेकाले पनि एक्लो महसुस भने गरिनँ।
सोच्थेँ - मैले त सजग भएर समयमै परिक्षण गरेँ। आफूबाट अरुलाई संक्रमण सर्नबाट जोगाएँ। कति होलान् जो कोरोनालाई सामान्य रुखाखोकी मानी वास्ता नगरेरै संक्रमण फैलाइरहेका छन्।
रोग प्रतिरोधात्मक शक्ति बलियो भएकाहरुलाई संक्रमण भए त यससँग लड्लान् तर वृद्ध, बच्चा, गर्भवती, सुत्केरी जसको रोगसँग लड्ने क्षमता कम हुन्छ। उनीहरूमा संक्रमण फैलिए अवस्था पक्कै विकराल बन्छ।
त्यसैले आफू सजक हुनुको आवश्यकता बल्ल यथार्थमा महसुस गरे। रोगसँग डराउनु पर्छ तर आत्तिनु चाहिँ हुँदैन रहेछ। परिवारको माया, साथी, आफन्तको प्रेरणा र आफ्नो नजिकका व्यक्तिहरुबाट उचित साथ र सहयोग पाए कोरोनासँग लड्ने मनोबल उच्च हुने र साहस मिल्दो रहेछ।
+++
१६ औं दिनसम्मको आइसोलेसनपछि गएको स्वाद र बास्ना फर्कियो। स्वास प्रस्वास केही सहज भएको थियो। त्यसैले दोस्रो रिपोर्ट नेगेटिभ आउने आशा थियो। स्वाब परीक्षणका लागि दिएँ। तर, अफसोस रिपोट पुन: पोजेटिभ नै आयो।
अब त दशैँ मात्र होइन, तिहार पनि आइसोलेसनमै बित्ने डर बढ्यो। तर, आशा छ, अब एक हप्ता पछि चाहिँ रिपोर्ट नेगेटिभ आउने छ। मेरो मनोबल उच्च छ, म छिटै यो कोरोनालाई जित्ने छु भन्ने अठोट लिएकी छु।
मेरी आमाले पकाएको सेलरोटी मिस गर्ने छैन म। तिहार, तिमीलाई मिस गर्ने छैन, म।
प्रस्तुतिः रामहरि अधिकारी