PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

'रअ' प्रमुखपछि अब भारतीय विदेश सचिव नेपाल आउँदै



पहिलोपोस्ट

'रअ' प्रमुखपछि अब भारतीय विदेश सचिव नेपाल आउँदै

काठमाडौं: लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच सीमा विवाद जारी रहेको बेलामा नरेन्द्र मोदी सरकारले भारतीय विदेश सचिव हर्षवर्धन स्रिंगलालाई नेपाल पठाउने भएको छ।

हिन्दुस्तान टाइम्सले स्रिंगला नोभेम्बर महिनाको अन्तिमतिर काठमाडौं आउने उल्लेख गरेको छ। स्रिंगलाको भ्रमणको प्रमुख उद्देश्य नै सीमा विवादसँग सम्बन्धित रहने भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

सीमा विवादसँगै दुवै देशबीच कूटनीतिक र राजनीतिक संवाद ठप्प रहेको थियो। गत हप्तामात्रै भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणमा आएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गरेका नरवणेले सीमा विवादबारे नेपाली पक्षसँग दिल्लीको मत राखेको भारतीय संचार माध्यमहरुले दाबी गरेका छन्। नेपाली पक्षले भने सीमा विवादबारेमा छलफल भएको विषयमा केही बताएको छैन।

प्रधानमन्त्री ओली र नरवणेको भेटमा सीमा विवादको कुरा उठेको र नरवणेले दिल्लीको असन्तुष्टिबारे ओललाई ब्रिफिङ गरेका थिए। ओलीले दुवै देशबीच नक्साका सन्दर्भमा 'मिस्अन्डर्स्टयान्डिङ' भएको तर भूमि भने आफूहरुको नै रहेको सन्देश नरवणेलाई दिएका थिए।

नरवणले स्वदेश फिर्ता भएपछि दिल्लीमा नेपाली पक्षसँग भएको छलफलबारेमा ब्रिफिङ गरेका थिए। त्यसपछि मोदी सरकार विदेश सचिव स्रिंगलालाई वार्ताका लागि काठमाडौं पठाउन राजी भएको बताइएको छ।

नोभेम्बर २६ र २७ मा नेपाल भ्रमणमा आउने स्रिंगलाले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटवार्ता गर्ने तय भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग समेत शिष्टाचार भेट गरी छलफल गर्ने जनाइएको छ।

स्रिंगलाले आफ्नो भ्रमणका क्रममा सीमाबारे मोदी सरकारको ‘स्टयान्ड’बारेमा ब्रिफिङ गर्न सक्ने र नेपाली पक्षको मत बुझ्ने जनाइएको छ।

सीमा विवादपछि दुवै देशका विदेश सचिवस्तरीय हुनुपर्ने छलफल हुन सकिरहेको थिएन। नेपालले आफ्नो भूमिसहितको नयाँ नक्सा जारी गरेपछि भारत असन्तुष्ट भएको थियो। जससँगै दुवै देशबीच संवादहीनताको अवस्था सिर्जना भएको थियो। नरवणेको भ्रमणपछि भने दुवै देशबीच संवाद फेरि सुरु हुन सक्ने अनुमान गरिएको थियो। नरवणेअघि कोरोना संक्रमणका कारण नेपाल र भारतबीच हवाई सेवा बन्द रहेको बेला रअ प्रमुख सामन्त गोयलले काठमाडौं आएर ओलीसँग भेट गरेपछि दिल्ली संवादमा फिर्ता आउन चाहेको हो। 

स्रिंगलाको नेपाल भ्रमणका क्रममा संयुक्त प्राविधिक सीमा जाँच समितिको बैठकको मिति समेत तय हुनसक्ने हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

विदेश सचिवको काठमाडौंमा रहँदा कोरोना भाइरसको भ्याक्सिन निर्माण हुन सुरु भएपछि भारतले नेपालाई भ्याक्सिन सहयोग गर्ने र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको सम्बन्ध समेत कुरा हुने जनाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell