अहिलेसम्मकै सबैभन्दा प्रभावकारी कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार भएको छ। कोभिड १९ विरुद्धको एउटा खोप ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको प्रारम्भिक विश्लेषणले देखाएको छ।
पीफिजर र बायोएनटेकले यस खोपको सफलतालाई लिएर विज्ञान र मानवताको युगान्तकारी दिन भएको व्याख्या गरेका छन्। यी दुई कम्पनीले नै खोप तयार पारेका हुन्। ६ मुलुकका ४३ हजार ५ सय मानिसमा यो खोपको परीक्षण गरिएको हो जसले कुनै समस्या देखाएको छैन।
यसै महिनाको अन्त्यसम्म यी कम्पनीले आपतकालीन रुपमा यसलाई प्रयोगमा ल्याउने योजनासहित अनुमतिका लागि निवेदन दिएका छन्।
अहिलेसम्म यति प्रभावकारी खोप कसैले पनि ल्याउन सकेको छैन। छोटो समयमा नै यी दुई कम्पनीले कोभिड १९ विरुद्धको अहिलेसम्मकै प्रभावकारी खोप तयार पारेका हुन्।
प्रभावकारी खोप आएको चर्चासँगै विश्वव्यापी उत्साह देखिएको छ। त्यो उत्साह विश्वका धेरै सेयर बजारदेखि कमोडिटी बजारसम्म देखिएको छ। सेयरदेखि इन्धनसम्मको मूल्य बढेको छ।
तर, खोप आए पनि आगामी दिन अझै कठिन रहेको विज्ञहरुको भनाइ छ। खोपको उपलब्धीबारे सबैले स्वागत गरेको भए पनि अक्सफोर्ड विश्वविद्यलयका मेडिसिन विभागका प्राध्यापक कर जोन बेलले सुन्दामा सुखद् खबर भए पनि चुनौती कायमै रहेको बताउँछन्।
सुरक्षित उपचारसँगै खोपको प्रयोग हाम्रो दैनिक जीवनका लागि उपयुक्त बाटो हो किनकि कोभिड १९ ले सबैलाई बन्धक बनाएको वर्षदिन पुग्न लागेको छ।
तीन साताको अन्तरमा दुई पटक खोप लगाइएको अनुसन्धान रिपोर्टमा उल्लेख छ। यसको परीक्षण अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको थियो। दोस्रो खोप लिएको ७ दिनपछि ९० प्रतिशत मानिसलाई कोभिड १९ बाट यसले सुरक्षित राखेको देखियो। यसको अझै पूर्ण रिपोर्ट आइसकेको छैन। त्यो पूरै आउँदा तथ्याङ्कमा केही फेर बदल हुनसक्ने बताइएको छ।
'हामी विश्वका मानिसहरुलाई बचाउने चरणको नजिकतिर पुगेका छौं। यसले विश्वव्यापी स्वास्थ्य संकटमा ब्रेकथ्रु गर्ने अपेक्षा छ,' पीफिजरका अध्यक्ष डाक्टर अल्बर्ट बोरलले भने।
बायोएनटेकका संस्थापक प्राध्यापक उगर सहिनले अहिलेसम्मको उपलब्धीलाई 'माइलस्टोन' भन्दै व्याख्या गरेका छन्।
यस वर्ष थोरै संख्यामा मात्र मानिसहरुले यो खोप पाउने छन्। पीफाइजर र बायोएनटैकले नोभेम्बर तेस्रो सातासम्म पूर्ण रुपमा यो खोप सुरक्षित रहेको तथ्याङ्क आउने जनाएको छ। त्यसबाहेक यो खोपले मान्यता नपाउन्जेल यसलाई प्रयोगमा ल्याउन मिल्दैन।
दुवै कम्पनीले यो वर्षको अन्त्यसम्म ५ करोड खोप तयार हुनसक्ने बताएको छ भने २०२१ भित्र १ अर्ब ३० करोड खोप तयार हुने जनाएको छ। हरेक व्यक्तिलाई दुई पटक खोप लगाउनुपर्ने हुन्छ।
