भर्खरै सम्पन्न अमेरिकी निर्वाचनमा पराजय भोगेका राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीले कानुनी लडाईको उद्घोष गरेका छन्। जोय वाइडेनले राष्ट्रपति ट्रम्पलाई पराजित गर्ने संकेत पाएलगत्तै मतगणनासमेत रोक्नका लागि प्रयास भएको थियो।
'यो निर्वाचन सकिएको छैन,' ह्वाइट हाउसका प्रेस सेक्रेटरी कायलेग म्याकेनीले प्रेस कन्फ्रेन्समा भनेकी छिन्, 'यो अझै टाढा छ।'
उनले निर्वाचनमा झेली भएको दावी गरिन्। तर, त्यसलाई पुष्टि गर्ने कुनै पनि तथ्य र प्रमाण भने अहिलेसम्म कसैले सार्वजनिक गर्न सकेको छैन।
निर्वाचनमा बाइडेनको सोझो जित देखिसकेको छ तर त्यसलाई रिपब्लिकन उम्मेदवार तथा राष्ट्रपति ट्रम्पले स्वीकारेका छैनन्।
गएको शनिवार नै चुनावी हिसाबले महत्वपूर्ण मानिएका राज्य पेन्सेलभेनियामा ट्रम्पलाई पछि पारेपछि मिडियाले बाइडेनको जित सुनिश्चित भएको बताएको थियो। बाइडेनलाई प्रेसिडेन्ट-इलेक्ट भन्दै प्रोजेक्सन बाहिर आइसकेको छ। तर, अहिले ह्वाइट हाउस चुनावी नतिजालाई स्वीकार्न तयार छैन।
ट्रम्पले फेरि ट्विट गरेर नतिजालाई 'असोचनीय र गैर कानुनी' भएको टिप्पणी गरेका छन्। तर, मिडियाहरुले उनको यस्तो आक्षेप आधारहीन रहेको बताउँदै आएका छन्।
यता संघीय परिषदहरुलाई समन्वय गर्ने जेनरल सर्भिस एड्मिनिस्ट्रेसनले चुनावको अन्तिम मत परिणाम आइनसकेकाले बायडेनको समूहलाई संक्रमणकालीन अधिकारबाट टाढा नै राखेको छ। ट्रम्प प्रशासनले यही नीति कायम राखेमा बाइडेन समूह पनि कानुनी उपचारका लागि अगाडि बढ्ने तयारीमा छ।
निर्वाचनको परिणाममा असन्तुष्टि जाहेर गरे पनि ह्वाइड हाउस संवाददाहरु भने ट्रम्पले जनवरीमा ह्वाइट हाउस छाड्ने छन्। र, उनी २०२४ मा फेरि फर्किने रणनीति बनाउनेगरी जुट्ने तयारी गरिरहेका छन्।
पत्रकार सम्मेलनमा राष्ट्रपतिका प्रवक्ताले चुनावमा भ्रष्टाचार भएको आरोप लगाए पनि त्यसलाई पुष्टि गर्ने आधार पेश गर्न सकेका छैनन्। पत्रकारहरुलाई चुनावी भ्रष्टाचारको अनुसन्धानमा सघाउन आग्रह भने उनीहरुले गरेका छन्।
यता औपचारिक रुपमा नै राष्ट्रपति ट्रम्पको प्रिय न्युज च्यानल फक्स न्युजले पनि 'प्रमाण नपुगेको' भन्दै साथ छाडेको छ।
