काठमाडौं : सरकारले पछिल्लो पटक साउन २२ गतेबाट लागू गरेको काठमाडौं उपत्यकाभित्रको जोरबिजोर प्रणाली अझै हट्न सकेको छैन। अन्य क्षेत्र निर्वाधरुपमा खुले पनि सवारी साधनको जोरबिजोर प्रणाली भने अझै लागू छ।
सडकमा खटिएका ट्राफिक प्रहरीले अहिले पनि सडकमा चेकिङ प्वाइन्ट राखेर सवारी साधनको नम्बर प्लेट हेर्ने गरेका छन्। तर, पहिलेको तुलनामा चेकिङमा केही कमी आएको छ। अन्य क्षेत्र निर्वाध रुपमा संचालन हुने तर सवारी साधनमा जोरबिजोर प्रणाली यथावद रहँदा दैनिक कार्यालय, व्यपार व्यवसायमा लाग्नेहरुलाई भने केही समस्या परेको छ। अहिले पनि जोर बिजोरको अवज्ञा गरेर सवारी साधन गुडाएमा कारबाहीमा परिन्छ।
'नियम अहिले पनि लागू छ। कसैले नियम नमाने हामी सवारी साधन होल्ड गरेर राख्छौं। अनि बेलुका मात्र छोड्ने गरेका छौं,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।
पछिल्लो समय काठमाडौं उपत्यकाभित्र कोभिड १९ संक्रमित थपिने दर उच्च नै छ। स्वास्थ्य मापदण्ड पूरा गरेर व्यापार व्यवसायदेखि अन्य क्षेत्र संचालनमा आउँदा सवारी साधनको जोरबिजोर प्रणाली हट्न सकेको छैन।
अहिले ट्राफिक प्रहरीले दैनिक ७ देखि ८ सयवटा सवारी साधन जोरबिजोर प्रणाली लागू नगरेको भन्दै कारबाही गर्ने गरेको छ।
