काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद उत्कर्षमा पुगिरहेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्य शंकर पोखरेलले पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।
पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षका नेता पोखरेल पार्टीभित्रको विवाद उत्कर्षमा रहेका बेला काठमाडौं आएका हुन्।
प्रधानमन्त्री ओलीले बोलाएपछि काठमाडौं आएका मुख्यमन्त्री पोखरेल यसबीच ओली पक्षका गुटगत भेलामा सक्रिय छन्। यसैबीच उनी मंगलवार बिहान पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्।
पार्टी विवाद मिलाउनका लागि नेकपाले गठन गरेको कार्यदलका सदस्यसमेत रहेका पोखरेलले अध्यक्ष प्रचण्डसँग भेट गर्दै पार्टी एकता जोगाउनका लागि पहल गर्न अनुरोध गरेको उनी निकट स्रोतले जनायो।
पछिल्लो समय प्रधानमन्त्री ओली सचिवालयको बैठक बोलाउन अस्वीकार गरिरहेका बेला प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजि श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका छन्। उनीहरुले शनिबार ओलीलाई भेटेर लिखित पत्र बुझाउँदै सोमवारसम्मको अल्टिमेटम दिएका थिए।
अल्टिमेटम सकिएसँगै प्रचण्ड बैठक बोलाउने तयारी गरिरहेका बेला बालुवाटारको सन्देश बोकेर खुमलटार पुगेका पोखरेलले बैठक तत्काल नराख्न र पार्टी एकतालाई जोगाउनका लागि अर्का अध्यक्ष ओलीसँग परामर्स गर्न आग्रह गरेको बताइएको छ।
'पार्टी एकता जोगाउने जिम्मेवारी तपाईँहरुको हो। त्यसका लागि दुई जना छलफल गर्नुस्। दुई अध्यक्षको सहमितपछि बैठक बोलाउनुस्,' पोखरेलको भनाइ उदृत गर्दै स्रोतले भन्यो। प्रचण्डले भने पार्टी भित्रका सबै विवाद सचिवालय बैठकमै बसेर समाधान गर्नुपर्ने बताएका थिए।
यसैबीच बालुवाटरको सन्देश पाएका प्रचण्ड आजै प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार जाँदै छन्।
सोमवार मात्र प्रधानमन्त्री ओलीले विवाद समाधान कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएका थिए। समितिका पूर्व माओवादी तर्फका सदस्यहरु बालुवाटार जान नसक्ने जानकारी गराएपछि छलफल हुन सकेन्।
