काठमाडौं : फेसबुकमा सुसाइड नोट पोस्ट गरेर बेपत्ता भएका चिकित्सक भेटिएका छन्।
भक्तपुरको 'द डेन्टल सिटी' अस्पतालका निर्देशक समेत रहेका डाक्टर दिगम्बर झा आज बिहानदेखि बेपत्ता भएका थिए। उनले बिहान करिब ७ बजेतिर फेसबुकमा आफू आत्महत्या गर्न गएको भन्दै लामो सुसाइड नोट समेत पोस्ट गरेका थिए। बिहान ५ बजेतिर निस्किएका उनको खोजीमा प्रहरी लागेको थियो। आज दिउँसो काभ्रेको ५५ किलो भन्ने ठाउँमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले जानकारी दिइन्।
'उहाँ सकुशल फेला पर्नु भएको छ। काभ्रेबाट टोलीले भक्तपुर ल्याउँदैछ', एसपी थापाले भनिन्।
सुसाइड नोटमा उनले आफू परिवारका कारण आत्महत्या गर्न बाध्य भएको बताएका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा पनि उनको पछिल्लो समय घर परिवारसँगको सम्बन्ध राम्रो नभएको खुलेको छ।
बिहान ५ बजेतिर घरबाट निस्किएका उनको मोबाइलको अन्तिम लोकेसन भने काभ्रेको पनौतीमा देखिएको थियो। त्यसपछि भने उनको मोबाइल अफ भएको थियो।
झाको खोजीमा भक्तपुरसहित काभ्रे प्रहरी समेत परिचालन गरिएको थियो।
