PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुन: प्रकाशित



पहिलोपोस्ट

मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुन: प्रकाशित

काठमाडौं : नेपालय प्रकाशनले आफ्नो क्लासिक्स् शृङ्खला अन्तर्गत् २०२० मा सार्वजनिक 'कोशीको कथा'लाई पुन: प्रकाशित गरेको छ। मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह उक्त कृति पहिलो पटक २०४६ सालमा प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले प्रकाशित गरेको थियो।

यस पुस्तकले कोइराला परिवारको व्यक्तिगत निर्वासनका बारेमा खुलासा गर्छ। त्यस्तै कोशी नदीको मानवशास्त्रीय पक्षलाई कोट्याउँदै नदी आसपासका वासिन्दाहरूको कथा भन्छ।

कोशी उतिबेला बिहारको श्राप थियो तर अब वरदान भएको कुरा उनीहरू नै बताउँछन्। कोशीमा धेरै पानी बगिसक्यो तर यी कथाहरू मानवीय दुःखको चित्रण र आशाको खोजीका निम्ति अझै कालजयी छन्।

‘यो किताब केहि समय देखि बजारमा उपलब्ध थिएन। दशकौपछि पुस्तक पाठकसामु आएकोमा खुशी छु', किताबका बारेमा लेखक मातृकाप्रसादका छोरा लेखक कमल कोइराला भन्छन्।

यस संग्रहका नौवटा निबन्धहरू कोशीको किनार आसपास घुम्छन् र यदाकदा भारतसम्म पुग्छन् जहाँ परिवारसहित राजनैतिक निर्वासनका बखत लेखकको बाल्यकालको महत्वपूर्ण समय गुज्रेको थियो। सात सालका क्रान्तिताका नेपाली कांग्रेसका 'सुप्रीम कमाण्डर ' तथा क्रान्तिपछिको गैर राणा सरकारको पहिलो प्रधानमन्त्री मातृकप्रसाद कोईराला सोभन्दा अगाडीदेखी नै साहित्यकारका रूपमा परिचित थिए।

अन्वेषणात्मक र निजात्मक शैलीमा लेखिएका यी कथ्यहरूले पुराण, विज्ञान, सामाजिक न्याय, राजनीतिदेखी लिएर, वि स्ं २०११ सालको कोशी - सन्धी प्रकरणसम्मको विषयलाई समेटेका छन्।

कोशी सन्धी कोइरालाको राजनैतिक जीवनको सबैभन्दा विवादस्पद पाटो रह्यो। प्रवासमा होस् या स्वदेशमा, सधैं कोशी सन्निकट रहेका कोइरालाले यसको महत्ता र विभिषिका दुबै देखे।

नेपालय क्लासिक्स् अन्तर्गत् नेपालय पब्लिकेसन्सले प्रसिद्ध नेपाली लेखकहरूको अप्रकाशित वा आउट-अफ-प्रीन्ट साहित्यिक कृतिहरू प्रकाशित गर्दै आएको छ। यही शृङखला अन्तर्गत् हालसम्म, नेपालयले ब्रह्म शमशेरको ‘नेपालको महाभुकम्प’, लेखनाथ पौड्यालको ‘कवि शिरोमणि रचनावली’ र मंजुलको ‘सम्झनाका पाइलाहरू’ प्रकाशित गरिसकेको छ।

‘कोशीको कथा’ पुस्तकलाई थुप्रै डट कममार्फत् पनि किन्न सकिन्छ। र, अमेजनमा पनि उपलब्ध छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell