PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

सुदूरपश्चिममा लक्षणसहितका संक्रमित बढ्दै : उपचाररत ५१ संक्रमितमध्ये १७ जना आइसीयूमा



एम बम

सुदूरपश्चिममा लक्षणसहितका संक्रमित बढ्दै : उपचाररत ५१ संक्रमितमध्ये १७ जना आइसीयूमा

कैलाली : कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेशको ठूलो कोभिड अस्पताल तथा रेफरल अस्पताल समेत हो। प्रदेशको राजधानीमै रहेको सेती प्रादेशिक अस्पताललाई सरकारले अस्पतालको वर्गीकरण गर्दा दुई दिनका लागि भएपछि प्रदेशको ‘क’ मात्र लेभल तीनको अस्पतालमा समेत राखेको थियो। तर, अहिले यही अस्पताल लक्षणसहितको कोरोना संक्रमितले भरिभराउ भएको छ।

सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको अस्थायी कोरोना अस्पतालका ५० शय्यामा ५१ जना संक्रमितको उपचार भइरहेको छ। जसमा ३५ जना कैलालीका मात्रै छन्। पछिल्लो पटक लक्षणसहितका संक्रमित बढ्न थालेपछि अस्पतालका बेड भरिभराउ भएको अस्पतालले जनाएको छ।

‘५० शय्या उपलब्ध रहेको अस्पतालमा आइसीयू वार्डमा थप एक शय्या व्यवस्थापन गर्दै ५१ जनाको उपचार भइरहेको छ’, अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले भने, ‘जनरल वार्डमा ३४ र १७ जना गम्भीर संक्रमितको आइसीयूमा राखेर उपचार भइरहेको हो।’

यसअघि त्यहाँ १० शय्याको मात्रै आइसीयू जडान गरिएको थियो। तर, पछिल्लो समय गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेपछि थप १० आइसीयू जडान गरिएको हो।

बेड भरिभराउ भएपछि अस्पताललाई संक्रमितको उपचार तथा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। प्रदेश सरकारले सोही अस्पताल परिसरमा थप ५० शय्याको अस्पताल बनाउने प्रक्रिया अघि बढाएको जनाएको छ।

‘प्रदेशका मुख्यमन्त्रीसँगको परामर्शपछि अहिले कोरोना अस्पताल सञ्चालनमा रहेको सेतीमा थप ५० बेड थप गरेर अस्पताल बनाउने सहमति भएको छ’, सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी नरेन्द्र सिंह कार्कीले भने, ‘एक महिनाभित्र काम सम्पन्न हुने गरी हामीले द्रुतमार्गबाट संरचना निर्माणको काम थालिसकेका छौँ। पछिल्लो समय लक्षणसहितका संक्रमित थपिने क्रम बढेपछि यो अति आवश्यक देखिएकाले तत्काल काम गर्नुपर्ने हुँदा प्रदेश सरकारले चाडै नै संरचना थप्ने निर्णय गरिसकेको छ।’

सुदूरपश्चिम प्रदेशमा एक हजार भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा बसिहरेका छन् भने ३ सय ३१ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन्। प्रदेशमा हालसम्म कोरोना संक्रमितको सङ्ख्या साढे १० हजार नाघेको छ। ४२ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell