PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

थन्कियो जयनगर-जनकपुर रेल, अनिश्चित हुँदै सञ्चालन



पहिलोपोस्ट

थन्कियो जयनगर-जनकपुर रेल, अनिश्चित हुँदै सञ्चालन

काठमाडौँः जयनगर-जनकपुर खण्डमा सञ्चालनका लागि ल्याइएका दुई सेट रेल डेढ महिनादेखि पाल ओढाएर राखिएका छन्। सञ्चालनको आवश्यक तयारी नै नगरी भित्र्याइएको रेल कहिलेदेखि चल्छ भन्नेमा अन्योल बढेको छ।

रेल सेवा सञ्चालनका लागि ऐन, निर्देशिका, जनशक्ति व्यवस्थापन र सञ्चालनयोग्य ट्रयाक नै तयार छैन। भित्र्याइँदा दसैंसम्म सञ्चालन हुने भनिए पनि अब भने रेल कहिले चल्छ भन्नेमा जिम्मेवार पदाधिकारीहरू नै जवाफ दिन नसक्ने अवस्थामा छन्।

गत असोज २ मा नेपाल आइपुगेका रेल सेट धनुषाको इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको पहरेदारीमा राखिएको छ। रेल सेट भित्र्याएपछि पनि प्राविधिक कर्मचारी व्यवस्थापन र सञ्चालन कार्ययोजना बनाउन नेपाल रेलवे कम्पनीले ढिला गरेकै छ, सरकारले पनि आवश्यक ऐन ल्याउन चासो दिएको छैन।

कम्पनीका महाप्रबन्धक गुरु भट्टराई रेल सेट अर्डर गरेपछि तयार भएर आउँदा सञ्चालन गरिहाल्न पहिल्यैदेखि तयारी नहुनुको असर अहिले देखिएको दाबी गर्छन्।

'ट्रेन सेट अर्डर गर्दा निश्चित समयपछि तयार हुन्छ भन्ने जानकारी थियो। आउँदैछ भनेपछि सञ्चालनको केही काम गरिदिनुपर्दैन ?,' उनले भने, 'अहिले तयारी गर्दा केही ढिला हुन गयो। हामी त्यसैको काम गरिरहेका छौं।' रेल विभागले आवश्यक तयारी अघि नबढाउँदा अहिले असर परेको उनको भनाइ छ।

रेल सञ्चालनका लागि पूर्वाधार, कर्मचारी, कानुन, स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युअर चाहिन्छ। ट्रेन सेट तयार भएर आए पनि बाँकी तयारी पुगेकै छैन। कम्पनीले कर्मचारी भर्ना गर्न पनि पाएको छैन। करिब २२६ जना कर्मचारी आवश्यक पर्छ।

कम्पनीले १२९ जना कर्मचारीका लागि अनलाइन आवेदन खुलाएको थियो। तर अस्थायी नियुक्ति गर्दा पछि समस्या हुने भन्दै लोकसेवा आयोगले हस्तक्षेप गरेपछि भर्ना विज्ञापन रद्द भयो। उक्त विज्ञापनमा ३२ हजार जनाभन्दा बढीले आवेदन दिएका थिए। अब लोकसेवाबाट विज्ञापन खुलाउन लागिएको छ। लोकसेवाबाट कर्मचारी भर्नाका लागि अझै कम्तीमा तीन महिना लाग्नेछ।

लोकसेवाको प्रक्रिया लामो हुने भएकाले नयाँ कर्मचारी नआउन्जल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंग कर्मचारी मागिएको महाप्रबन्धक भट्टराईले बताए। उनका अनुसार १२५ जना कर्मचारी दिनका लागि मन्त्रालयले तयार छ। मुख्य प्राविधिक भारतबाट ल्याउनुपर्छ। २६ जना प्राविधिक ल्याउन प्रस्ताव भारत पठाएको भनिएको कम्पनीले जवाफ पाइसकेको छैन।

कर्मचारी ल्याउनका लागि नेपाल-भारत संयुक्त कमिटी बनाइएको भट्टराईले बताए। नेपालमा कर्मचारी पाउनेबित्तिकै उताबाट ल्याउन सकिने उनको भनाइ छ। डेढ महिना रेल नै कुदाउने गरि तयारीमा जुटेको भट्टराईले दाबी गरे। कम्पनीका अनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर तयार हुँदैछ। भारतीय पक्षले ड्राफ्ट पठाएको थियो। त्यसमा केही संशोधन गरेर पठाइएको छ। ढिलोमा एक महिनाभित्र तयार भएर आउनेछ। यसमा प्राविधिक र कर्मचारी व्यवस्थापन, पदीय जिम्मेवारी, रेल छुट्ने तालिका, टिकट व्यवस्थापन र रुट लगायत सञ्चालन सम्बन्धी विषयहरु समावेश हुन्छन्।

रेल सञ्चालनका लागि मुलुकमा छुट्टै कानुन पनि छैन। रेलवे सम्बन्धी विधेयक राष्ट्रियसभामा पुगेको छ। सदन नचलेका कारण त्यसमा छलफल हुनै पाएको छैन। उक्त विधेयक छलफलमा गएर तत्कालै पास भइहाल्ने अवस्था पनि छैन। फास्ट ट्रयाकमा अध्यादेश ल्याएर सञ्चालन गर्ने भनिएको भए पनि सरकारले त्यसको तयारी गरेको देखिएको छैन। तयार पारेर भित्र्याइएपछि नचलाइ राखिएका कारण रेल सेटमा समस्या आउन सुरू भइसकेको छ। रेलवे ट्रयाकका क्लिपहरु चोरी भएको, फुटाएको, स्टेसन भवनका झ्यालका सिसाहरु फुटेका छन्। ‍

रेल चलाउनुअघि फिटिङ लुब्रिकेन्ट्सहरु हालेर मर्मत गर्नुपर्छ। भारतको आर्थिक र प्राविधिक सहयोगमा तयार भएको जनकपुर-जयनगर रेलमार्ग पनि औपचारिकरूपमा हस्तान्तरण भइसकेको छैन। अहिले धमाधम मर्मतको काम चलिरहेको रेल विभागका इन्जिनियर विनोद ओझाले बताए। उनका अनुसार रेलमार्ग मर्मतको काम डेढ महिना सक्ने जानकारी भारतीय पक्षले गराएका छन्। त्यसपछि मात्रै पूर्वाधार हस्तान्तरण हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell