PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

मुम्बईलाई पाँचौँ पटक आईपीएलको उपाधि, फाइनलमा दिल्लीविरुद्ध सहज जित



पहिलोपोस्ट

मुम्बईलाई पाँचौँ पटक आईपीएलको उपाधि, फाइनलमा दिल्लीविरुद्ध सहज जित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि मुम्बई इण्डियन्सले जितेको छ। आज भएको फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई सहज रुपमा पराजित गर्दै उपाधि जितेको हो।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा मुम्बईले दिल्लीलाई ५ विकेटले पराजित गरेको छ।

टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएको थियो।

सुरुवातमा खस्केको दिल्लीको ब्याटिङलाई रिशब पन्त र कप्तान श्रेयस ऐय्यरले ९६ रनको साझेदारी गर्दै उकासेका थिए। दिल्लीका लागि ऐय्यरले अभिजित रहँदै सर्वाधिक ६५ रन बनाउँदा पन्तले ५६ रन बनाए।

यसअघिको खेलमा ओपनिङ गर्दै आक्रमक ब्याटिङ गरेका मार्कस स्टोइनिस यो खेलमा भने शून्य रनमा आउट भए। त्यस्तै, शिखर धवनले १५ रन जोड्दा अन्य ब्याट्समेनले दोहोरो अंकको रन जोड्न सकेनन्।

मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा नेथन कोल्टरनाइलले २ तथा जयन्त यादवले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले १८ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्यायो।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन जोड्दा इशान किशानले अभिजित रहँदै ३३ बनाए। त्यस्तै, क्विन्टन डिककले २० तथा सूर्यकुमार यादवले १९ रन जोडे।

दिल्लीका लागि आनरिच नोर्टजेले २ तथा कगिसो रबाडा र मार्कस स्टोइनिसले १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell