PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

अनि कोरोनाले भन्यो ‘ढ्याप्पा...’



पहिलोपोस्ट

अनि कोरोनाले भन्यो ‘ढ्याप्पा...’
AP

  • शिशिर वैद्य -

संघारमा दाउ कुरेर बसेको कोरोनाले भन्यो, 'ढ्याप्पा।'

भाइ स्वरुप आचार्यको केही समय अघिको ट्विटमा प्रयोग भएको ‘ढ्याप्पा’ शब्दले बाल्यकालका सम्झनालाई एकाएक ताजा बनायो। ‘ढ्याप्पा’ शब्द सानोमा लुकामारी खेल्दा निकै भनियो। निकै पटक ‘ढ्याप्पा’ खाएर 'डुम' पनि भइयो। त्यो खेल थियो ‘ढ्याप्पा’ भनिसकेर डुम फेरिएर खेल चालु रहन्थ्यो। तर, कोरोनाले भनेको ‘ढ्याप्पा’ले दैनिकी भताभुङ्ग पार्दो रहेछ। शारीरिक रुपमा कुनै कडा लक्षण नदेखिए पनि मानसिक तनावको पारो निकै माथि उक्लिँदो रहेछ।

रुघाले ग्रस्त शरीरका चोक्टाचोक्टामा पीडाको अनुभूति हुने बित्तिकै म स्वघोषित आइसोलेसनमा बसेको थिएँ। मनमा शंका थियो - कतै कोरोनाले त भेटेन? तर, विश्वास थियो पक्कै भेटेको छैन। किनभने म त्यस्तो शंकास्पद कसैसँग पनि संसर्गमा आएको थिइन। तर पनि आइसोलेसन रोजेँ। मेरो नजिक आउन सबैलाई बर्जित गरेँ। मैले प्रयोग गरेका भाँडाहरु छुट्टै राखेँ। हरेक पटक बाथरुम प्रयोग गरेपछि धारा, बेसिन, कमोड, सिट, हेन्डल मज्जाले फिँज आउने गरी साबुन दलेर सफा गरेँ। झिँझो पटक्कै मानिन। रुघाले आफ्नो तान्डव देखाइरहेकै थियो।

शरीरको पीडा घट्न मानिरहेको थिएन। औषधीको असर छउन्जेल गाथमा आराम महसुस हुन्थ्यो। असर कम हुनथालेपछि छटपटी। स्वघोषित आइसोलेसनको पाँचौं दिन अचानक श्रीमती र छोरालाई हनहनी ज्वरो आयो। पानीपट्टि नै लगाउनु पर्नेगरी। १०१, १०२ फरेनहाइट तापक्रम।

ज्वरो जाँचक यन्त्रले यसभन्दा तलको संकेत दिन मानिरहेको थिएन। लगभग १८ घण्टा पछि बल्ल ज्वरोले बाटो ततायो। श्रीमती र छोरालाई ज्वरो आउने बित्तिकै मनमा शंका पस्यो। हो न हो पक्कै भेट्यो कोरोनाले। छोरीमा कुनै लक्षण थिएन। त्यसैले उसलाई छुट्टै राख्नु आवश्यक देखेँ। त्यसैले आफू आइसोलेसन बसेको कोठालाई स्यानिटाइजरले मज्जाले पुछपाछ गरेर बिछ्यौनालाई घामको रापमा सेकाएर छोरीका लागि कोठा तयार पारियो। अब तीन जना एकातिर छोरी अर्कोतिर। तीन दिन यसरी नै बिते। घाँटीमा सनासोले च्यापेसरी पीडा थियो। थुक निल्न पनि गाह्रो। क्षण क्षणमा तातो पानी र सुपको पेलाई दिइयो गलेको शरीरलाई। पिसीआर परिक्षण नगरिकनै पार पाउँछु भन्ने थियो मनमा। तर, सबैको दबावको अघि केही नलागेर घटस्थापनाको बिहान स्वाब परीक्षणका लागि दिएँ।

ट्वाँग!

घाम निदाइसकेपछि अन्धकारको मौका छोपेर कोभिड–१९ पीसीआर टेस्ट रिपोर्टसहित मोबाइलमा मेसेजको घण्टी बज्यो। मेसेजमा लेखिएका अन्य कुरा भन्दा पहिल्यै अल क्याप्समा लेखिएको पोजेटिभले शरीरमा अर्कै तरङ्ग पैदा गर्‍यो। पहिलो मेसेजमा आफु पोजिटिभ देखेँ, दोस्रो हेरेँ श्रीमती पनि पोजिटिभ। छोराको त नेगेटिभ आवस् भन्ने कामना सहित तेस्रो मेसेज खोल्दा मन निराश भयो। तीनै जना पोजिटिभ। दिमाग शून्य भयो। मन अशान्त। हातखुट्टा अचानक लुलो।

अब के गर्ने? खानाको चाँजोपाँजो कसरी मिलाउने? अरु भन्दा पनि मुख्य समस्या शौचालयको थियो। एकै फ्ल्याटमा सबै बस्ने हुँदा सबैको कन्याक्ट ट्रेसिङ गर्नैपर्ने भयो। भोलिपल्ट बाँकी चार जनाको स्वाब लिन घरमै मान्छे बोलाइयो। पर्सिपल्ट अर्थात् घटस्थापनाको तेस्रो दिन बिहानै रिपोर्ट आयो, उसै गरी - ट्वाँग!

यसपटकको ट्वाँगले परिवारका सबैको मन विचलित बनायो। चार जना मध्ये दाइ र आमाको रिपोर्ट पनि पोजिटिभ देखियो। अर्थात् सात जनाको परिवारमा हामी पाँच पोजिटिभ।

डायबिटिज, प्रेसरकी रोगी वृद्ध आमालाई पोजिटिभ देखिएपछि सबै अत्तालियौं। हरेक बिहान खाना खानु अघि आमा इन्सुलिन इन्जेक्सनको घोचाइ खान्छिन्। दिनभरिमा एकदर्जन बढी औषधी। कुराहरु छिनछिनमा बिर्सने, दोहोर्‍याएर, तेहर्‍याएर सोध्ने रोगले ग्रस्त। कोठा अगाडि दुई जोडी चप्पल पैतालाका प्रतीक्षामा रहे पनि खाली खुट्टा नै घर भरि डुलिहिँड्ने, जता पनि छिर्ने आमाको स्वभाव। उमेरसँग आइलाग्ने विस्मरणले गाँज्दै लगेको उनको दिनचर्या। यस्तो अवस्थाकी आमालाई 'तपाईं पनि कोरोना पोजिटिभ हो' कसरी भन्ने? त्यो पनि दशैंको समयमा।

घरमा कोही नउठ्दै नित्य पूजा सक्ने आमालाई पूजा कोठामा नजानु कसरी भन्नु? के गर्ने? कसो गर्ने? अलमल र तनाबका बीच एउटा जुक्ति फुर्‍यो। नेगेटिभ आएका जतिलाई आइसोलेसनमा थुन्ने, अनि हामी पोजिटिभ आएकाहरु बाहिर बस्ने। हाँसो लाग्दो सुनिए पनि यो बाहेक अन्य उपाए सुझेन।

हामी कोरोना पोजिटिभहरु फुक्काफाल भयौं। नेगेटिभ आएकी छोरी र भाउजु आइसोलेसनमा परे। खाना, शौचालय र सुत्ने सबै व्यवस्था मिल्यो। आमालाई र श्रीमतीलाई हल्का रुघा लागेको थियो। दाइलाई खोकी। मेरो र छोराको घाँटीको पीडा एक चरणको एन्टिबायोटिक सकिन लाग्दासम्म पनि बीसको उन्नाइस भएको थिएन। त्यसमाथि टाउको दुख्नु अर्को विडम्बना बनेको थियो। पहिले पनि भोगेका यी लक्षणहरु संक्रमित भइसकेपछि अलि फरक महसुस भयो। अलिक कडा। साथीभाइ र सहृदयीहरु बेलाबेलामा फोन गर्थे। उपायहरु सुझाउँथे। बेसारपानी, गुर्जो पानी, नियमित बाफ, नुनपानीले घाँटी सफा गर्न भन्थे। एक सहृदयी मित्रले खोकीका लागि हुन्छ भनेर मुक्तिनाथदेखि ल्याएको जडिबुटी भनेर चिराइतो पनि ल्याइदिए। पकाउने तरिका पनि बताए। एक अर्का मित्रले बेसार पानी घाँटीमा केही बेर अड्याउने सल्लाह दिए। सबैले सुझाब दिएपछि भन्ने वाक्य एउटै हुन्थ्यो – 'यो रामवाण हो। गर्नु है।'

सुझावहरुकै बीचमा एउटा रमाइलो सुझाव प्राप्त भो। तर, यसपटक केही खानुपर्ने वा पिउनुपर्ने केही थिएन। सुझाव दिने मित्रले भनेको थिए – 'कोरोना ‘राहू’ हो, यसलाई केही दान गर्नुपर्छ। त्यसैले हरेक पटक शौचालय जाँदा एक चिम्टी चियापत्ती फालेर मात्रै फ्लस गर्नु।' सुझाव हाँस्यास्पद थियो। तर, विज्ञान नै अलमल्लमा परिरहेको अवस्थामा यो सुझावलाई नपत्याइहाल्नु पर्ने कारण पनि थिएन। डाक्टर मित्रहरु फोन गर्दै भन्थे, 'लक्षण छैन भने, आत्तिनु पर्दैन। तर, सास फेर्न गाह्रो भयो भने चाहिँ घरमा नबस्नु। अस्पताल गइहाल्नु।' भाइटल हेर्दै गर्नु अर्थात् ज्वरो नाप्नु, अक्सिजनको मात्रा चेक गर्नु दैनिकी भित्र परिसकेको थियो।

रोगभन्दा बढी हाम्रो चुनौती आमा थिइन्। बडो जतन गर्दागर्दै पनि आमा कहिले छोरीको कोठामा, कहिले भाउजुको कोठामा छिर्न खोज्थिन्। नजानु, भनेर सम्झाउँदा सम्झाउँदा सबै दिक्क भइसकेका थिए। आमालाई कोरोना संक्रमण भएको छ, भन्नुको कुनै अर्थ थिएन। किनभने एकैछिनमा बिर्सनुहुन्थ्यो। सबैको एउटै चासो थियो, आमाको स्वास्थ। किनभने, वृद्ध शरीर कोरोनालाई बितण्डा मच्चाउने राम्रो मैदान थियो। संसारभर कोरोनाले मच्चाएको तान्डव अधिकतर वृद्ध र अन्य रोगले पीडितहरुमा नै हो। आमाले छोएका ठाउँहरु बेला बेला डिसइन्फेक्टेन्ट छर्किएर सफा गर्नु एउटै उपाय थियो। आमा घरि घरि सोध्नुहुन्थ्यो – छोरी खै? बुहारी खै? किन ढोका थुनेर बसेका?

हामी भन्थ्यौं – 'उनीहरुलाई कडा रुघा लागेको छ। अगाडि आउनु हुँदैन।'

हामी पाँचै जनाको खानपिनको दैनिकी लगभग एकै थियो। बिहान सबेरै गुर्जो पानी, तुलसी चिया, अण्डा, खाना, सुप, प्रोटिनेक्स, राती खाना अनि बेसार पानी। यी सबका बीच बिहान बाफ, गार्गल, बेलुका बाफ, गार्गल। कोरोनाको औषधी छैन। तर, हामी दैनिक झण्डै आधा दर्जन औषधी लिन्थ्यौं। भिटामिन सी, भिटामीन बी, जिंक, एजिथ्रो, एन्टिएलर्जी र हप्ताको एक पटक भिटिमिन डी। शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन डाक्टर बहिनीले सुझाएकी थिइन् यी औषधी। अन्यतिरका डाक्टरलाई सोध्दा पनि यिनै औषधी सुझाउने रहेछन्। दिनहरु बित्दै थिए। सोही अनुसार लक्षणहरु पनि हराउँदै थिए। तर, कोरोना सजिलै हार मान्नेवाला थिएन। कतिखेर यसले आक्रमण गर्छ भन्न सकिँदैन भन्ने थाहा थियो। त्यसैले सुरक्षाका हरेक उपाय नव संक्रमितले झैं पालना गरिरहेका थियौं हामी। घरभित्रै पनि एक आपसबीच सामाजिक दुरी कायम नै थियो। मास्क खाना खान बाहेक अन्य समयमा नाक र मुख थुन्ने गरी पहिरिएकै अवस्थामा रहन्थ्यो।

अशुद्घ, अछुतो, जीवनमा पहिलो पल्ट यी शब्दको असली पीडा महसुस गरियो। केही सहृदयी मित्रहरु कहिले तरकारी ल्याइदिन्थे, कहिले औषधी, कहिले सुप पुर्‍याउन आउँथे। तर, ती सामानहरु हाम्रो हातमा होइन भर्‍याङको भुईंमा राखिन्थ्यो। हाम्रो भाँडोमा खन्याइन्थ्यो। ल्याइदिने मानिस अलिक पर पुगेपछि बल्ल हामी लिन्थ्यौं। सबै भन्थे – कस्तो दिन भोग्नु परेको होला? म भने मनमनै सोच्थेँ कसरी बाँचे होलान् ती मानिसहरु पुस्तौंपुस्ता जो अछुत कहलिएका थिए। जसको हातले छोएको पानीसम्म चल्दैनथ्यो। एक कान दुई कान गर्दै टोलमा हल्ला फैलिसकेको थियो- त्यो घरमा त सबै संक्रमित छन् रे!

कोबाट सर्‍यो? कसरी सर्‍यो? साथीभाइको पहिलो प्रश्न यही हुन्थ्यो। समुदायमा फैलिसकेको अवस्थामा भाइसर कोबाट, कसरी सर्‍यो भन्ने प्रश्नले अर्थ राख्दैन। मेरो रेडिमेड जवाफ यहि हुन्थ्यो हरेक पटक। वास्तवमै संघारमा दाउ कुरेर बसेको छ कोरोना। जसलाई, जुनै पनि बेला ढ्याप्पा भन्नसक्छ यसले। लक्षण नदेखिएका मानिसमा पनि पोजिटिभ आउनुले यही संकेत गरेको छ। त्यसैले सावधान रहनु र सचेत नागरिक बन्नु नै बुद्धिमानी हो। हामी भाग्यमानी रहेछौं। कोरोनाले ढ्याप्पा भने पनि बाजी हाम्रै पक्षमा रह्यो। ढ्याप्पा नभइसकेका तपाईँहरु सतर्क रहनुस्। कोरोनाले ढ्याप्प गर्न नपावस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell