राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साताको निर्वाचनलाई स्वीकार गर्न नसकेको विषयलाई जोय बाइडेनले 'हतोत्साही' कदम भनेका छन्।
राष्ट्रपति ट्रम्पले चुनावी मत परिणाम नस्वीकारी अदालती बाटो रोजिरहेकै बेला अमेरिकाका प्रेसिडेन्ट - इलेक्टले भने विभिन्न मुलुकका नेताहरुसँग सम्पर्क स्थापना गर्न सुरु गरिसकेका छन्। उनको कदमले संकेत गर्छ - बाइडेनलाई अब कसैले रोक्न सक्ने छैन।
यसैबीच फेरि पनि ट्रम्पले ट्विट गर्दै यो रेसमा आखिरमा आफैँले जित्ने दावी गरेका छन्। पूरा मत परिणाम आइनसकेको भए पनि निर्वाचनमा बाइडेनले जित हासिल गरिसकेको प्रक्षेपण सार्वजनिक भएको छ। निर्वाचनमा भ्रष्टाचार भएको आरोप ट्रम्पले लगाउँदै आएका छन्। हरेक चार वर्षमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा यसैगरी मिडिया प्रोजेक्सनबाटै कसले जित हासिल गर्यो भन्ने खुलासा हुँदै आएको छ।
अमेरिकाका राज्यहरुमा पूर्णरुपमा कसले कति मत ल्याएको हो भने अझै प्रमाणिकरण हुन बाँकी नै छ, कतिपय ठाउँमा अहिले पनि मत गणना जारी नै छ। डिसेम्बर १४ मा अमेरिकामाको इलेक्ट्रोल कलेजको मिटिङमा त्यसलाई एकमुष्ठ पठाइने गरिन्छ।
प्रेसिडेन्ट - इलेक्टलाई पत्रकारहरुले सोधेका थिए - ट्रम्पले चुनावी परिणाम अस्वीकार गरेका छन् यसलाई तपाईँ कसरी लिनुहुन्छ?
'पुष्ट रुपमा भन्ने हो भने मलाई लाग्छ यो एकखाले हैरानी हो,' बाइडेनले भने, 'एक मात्र कुरा के हो भने यसले राष्ट्रपतीय मर्यादालाई सघाउँदैन। आखिरमा तपाईँलाई थाहा छ, जनवरी २० मा त्यसको अनुभव हुने नै छ।'
विवादकै बीच बाइडेनले विदेशी नेताहरुलाई फोन सम्पर्क अगाडि बढाएका छन्। जनवरी २० मा पदभार ग्रहण गर्नुअघि नै उनी त्यसको गृहकार्यमा जुटेका हुन्।
बेलायती प्रधानमन्त्री बोरिस जोनसन, आइरिस ताओइसेच माइकेल मार्टिन, फ्रान्सेली राष्ट्रपति इम्यानुअल मार्कोन र जर्मन चान्सलर एन्जेला मार्केलसँग उनले टेलिफोन वार्ता गरेका हुन्। यी टेलिफोन सम्पर्कका बारेमा प्रस्ट्याउँदै बाइडेनले भने, 'मैले उहाँहरुलाई अमेरिका पहिलेकै अवस्थामा आउँदैछ भन्ने जानकारी दिएँ। हामी खेलमा पहिले झै फर्किँदैछौं।'
उनी र उप राष्ट्रपति निर्वाचित कमला ह्यारिसले संक्रमणको समयमा नै आफ्नो सक्रियता बढाएका छन्। यद्यपि, संक्रमणकालीन अवस्थामा ट्रम्प प्रशासनले उनीहरुलाई दिनुपर्ने अधिकार भने उपलब्ध गराएको छैन। अमेरिकाको जनरल सर्भिस एड्मिनिस्ट्रेसनले आर्थिक र फेडरल डिपार्टमेन्टहरुसँग आउँदो प्रशासनलाई जोड्ने काम गर्नुपर्थ्यो। औपचारिक रुपमा ह्वाइट हाउसले बाइडेनको जितलाई स्वीकार गर्न चाहिरहेको छैन।
'प्रष्ट रुपमा भन्ने हो भने कुनै कुराले पनि हाम्रो गतिलाई घटाउन सक्ने मैले देखेको छैन,' बाइडेनले भने।
यता ट्रम्पले भने बारम्बार ट्विट गर्दै धेरै मतपेटिकाको दुरुपयोग भएको आरोप लगाइरहेका छन्। उनले आफू जित्ने दावीसमेत गरिरहेका छन्। उनका कतिपय ट्विटलाई ट्विटरले भ्रामक भन्दै निषेधसमेत गर्दै आएको छ। यता ट्रम्पका नजिकका मानिने सेक्रेटरी अफ स्टेट माइक पोम्पेइले कानुनी मत मात्र गन्ती हुने हो भने ट्रम्पको दोस्रो कार्यकाल सुरु हुने दावी गरेका छन्। ट्रम्प समर्थक रिपब्लिकनहरुले पनि बाइडेनको जितलाई अस्वीकार गर्दै आएका छन्।
