PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

ट्राफिक प्रहरीले चेकिङ प्वाइन्ट थप्यो, अब दिउँसो पनि मापसे परीक्षण



पहिलोपोस्ट

ट्राफिक प्रहरीले चेकिङ प्वाइन्ट थप्यो, अब दिउँसो पनि मापसे परीक्षण

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक चेकिङ थप कडा बनाउने भएको छ।

नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर सुरक्षा व्यवस्था  थप कडा गर्न लागिएको हो। त्यसो त महाशाखाले दशैं, तिहार र छठ पर्वमा हुन सक्ने दुर्घटना तथा ठगी नियन्त्रण गर्न विषेश सुरक्षा योजना नै लागू गरेको छ। त्यसै अन्तर्गत तिहार नजिकिएकाले थप प्रहरी सक्रिय बनाएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।

तिहारमा मादक पदार्थ सेवन गरेर सवारी चलाउन सक्ने आशंकामा प्रहरीले दिउँसो पनि मापसे चेकिङ गर्ने भएको छ।

'तिहार लक्षित थप सुरक्षा योजना लागू भइसकेको छ। त्यसलाई थप सक्रिय बनाएका छौं। अब दिउँसो पनि शंका लागेमा मापसे चेकिङ हुन्छ,' एसएसपी ढकालले भने।

महाशाखाले दशैं तथा तिहार लक्षित सुरक्षामा योजनाको लागि ७ सय ४९ प्रहरीको जनशक्ति थप गरेको छ। त्यस्तै अन्य समयमा हुने चेकिङ प्वाइन्टहरु पनि थप गरिएको एसएसपी ढकालले जानकारी दिए। ट्राफिक प्रहरीले अहिले पनि जोरबिजोर प्रणाली लागू गरे नगरेको सडकमा चेकिङ गरिरहेको छ।

त्यसैगरी बस तथा टिकट काउन्टरमा यात्रुहरु माथि हुने ठगी नियन्त्रण गर्ने सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।

'ट्राफिक प्रहरी यात्रु बनेर पनि भाडा देखि अन्य गतिविधि निहाली रहेको छ। ठगी गरेको पाइएमा तत्काल कारबाही हुन्छ,' एसएसपी ढकालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell