PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

परम्परा थेग्न कोरोनाको कहरमा थाकेको छैन चेतकुमारीको हात : लक्ष्मीपूजाका लागि तयार पार्दैछिन् भगवानका आकृति

परम्परा थेग्न कोरोनाको कहरमा थाकेको छैन चेतकुमारीको हात : लक्ष्मीपूजाका लागि तयार पार्दैछिन् भगवानका आकृति

पहिलोपोस्ट /पहिलोपोस्ट


यसपाला के होला? कोरोनाका कारण लक्ष्मी पूजाको रौनक पहिले झै होला कि नहोला? प्रश्नको प्रष्ट जवाफ नभए पनि भक्तपुरकी चेतकुमारी यसपाला पनि जुटिरहेकी छिन् लक्ष्मीको आकृति तयार पार्न। संशयकै बीचमा पनि उनको भगवान बनाउने कर्मले विश्राम पाएको छैन।

करिब २५ वर्ष अघिको कुरा हो। भक्तपुरकी चेतकुमारी चित्रकार हरेक वर्ष तिहार सुरु हुनुभन्दा केही अघिदेखि काठमाडौं धाउँथिन्। उनका झोलाभरी लक्ष्मीका तस्विर हुन्थे, आफ्नै हातले बनाएको।

ती लक्ष्मीका फोटोहरु वरपर राखेर आफू बीचमा थपक्क बस्थिन् - मरु सत्तल अर्थात् काष्ठमण्डप अगाडि। त्यो जमानामा अहिलेजस्तो भारत र चीनबाट आयातित लक्ष्मीको प्रिन्टेड तस्विरमा पूजा गरिँदैन थियो।

'पु' अर्थात् चित्रकारहरुले नेवारीमा थासा भनिने काठको ब्लकमा लक्ष्मीको आकृति छाप्थे। र, त्यसमा हातैले रङ भर्थे। निकै मेहनतपछि तयार हुने ती तस्विर लक्ष्मी पूजामा प्रयोग गरिन्थ्यो।

त्यसैले अरु दशैंको रमझममा रमाइरहेका बेला थासाबाट छापेर तस्विर बनाउने भक्तपुरका ८/१० घर चित्रकार परिवारलाई भने लक्ष्मीका चित्र बनाउन भ्याइनभ्याइ हुन्थ्यो।

तिनै परिवारमध्येकी एक हुन् चेतकुमारी।

समय फेरियो। 'हातैबाट बनाइने लक्ष्मीको तस्विर पनि हुन्छ र?' भन्ने जमात बढ्यो। भारतबाट आयातित लक्ष्मीको तस्विरले बजार कब्जा गर्‍यो। त्यसपछि चीनबाट पनि झिलिकमिलक तस्बिरहरु भित्रन थाले। समयसँगै चेतकुमारी पनि भक्तपुरको याछेँ स्थित आफ्नै घरमा सीमित भइन्। उनले रंगाउने तस्विरहरु पनि सीमित हुँदै गयो। पहिले काठमाडौं आएर हजारौं प्रति लक्ष्मीका तस्विर बेच्ने उनी हाल केही सय प्रति मात्र रङ्ग्याउँछिन्।

अब त हातैले लक्ष्मीको तस्विर बनाउने काम लोप हुने संघारमा छ। त्यसमाथि यसपाला कोरोना भाइरसको त्रास। तर, मानिसहरु उनको कला र लक्ष्मीको चित्रबारे जानकारी पाउन थालेपछि उनीकहाँ आउन भने थालेका छन्। कोरोनाकै कहरमा पनि हेर्न आउनेलाई उनले नाई भनेकी छैनन्।

नेपालमा १६ लक्ष्मी पुज्ने प्रचलन छ। त्यस्तै नेपाल संवतको अन्तिम महिना कौलागाको अन्तिम दिन अर्थात् लक्ष्मीपूजामा भने धनलक्ष्मीको पूजा गर्ने प्रचलन रहेको छ। 

भारतबाट आयातित लक्ष्मीका चित्रहरु वैष्णव सम्प्रदायसँग मिल्छ। लक्ष्मी पूजामा भारतमा विष्णुकी अर्धाङ्गिनीका रुपमा लक्ष्मीको आराधना गर्छन्। तर, नेपालीहरुले पुज्ने लक्ष्मी विष्णुकी श्रीमती लक्ष्मी नभई धनलक्ष्मी हो।

भारतमा बनेका लक्ष्मीका चित्रहरुमा गणेश, सरस्वती इत्यादि देउताका चित्रहरु पनि हुन्छन्, तर यता बनाइने चित्रहरुमा त्यस्तो हुँदैन। यहाँ धेरै पहिलेदेखि चित्रकारहरुले हातले रङ लगाएका धनलक्ष्मीको पूजा गर्ने चलन थियो। तर, भारतबाट सस्तो, रंगिन र इलेक्ट्रिक चित्रहरु भित्रिन सुरु भएसँगै चेतकुमारीहरुले बनाउँदै आएको नेपालको मौलिक चित्रकला लोप हुने खतरा बढ्दै गयो।

'उताबाट रंगिन तस्विरहरु छापेर नेपाल भित्रिन्छन्। मूल्य पनि कम हुन्छ। हातैले रङ्गाएर बनाउने तस्विरको मूल्य अलि बढी हुन्छ। बाहिरको जस्तो चित्र होइन नि यो। यो त हाम्रो मौलिक चित्र हो। तर, आधुनिकतासँगै यहाँ कलाको सम्मान हराउँदै गयो,' चेतकुमारीले भनिन्।

पढ्नुस: भारतीय लक्ष्मीले विस्थापित गर्दैछ नेपालको मौलिक लक्ष्मी, के फरक हुन्छ दुई लक्ष्मीको चित्रमा ?

धनलक्ष्मीको दूतका रुपमा यसरी कोरिने चित्रमा कुवेर र सेतो ख्याक हुनैपर्छ। त्यस्तै, धनलक्ष्मीको बाहनका रुपमा कछुवा हुन्छ। धेरै जसो चित्रमा लाटोकोसेरोलाई लक्ष्मीको बाहनका रुपमा प्रस्तुत गरिएको हुन्छ। वरिष्ठ चित्रकार प्रेममान चित्रकारले लक्ष्मीको बाहन कछुवा रहेको र कछुवा ढिलो हिँड्ने भएकाले त्यसमा सवार धनलक्ष्मीले जथाभावी धन खर्च नगर्ने र धन संचय गर्न सिकाउँने बताएका थिए।

चेतकुमारी पनि ख्याक, कछुवाबिना धनलक्ष्मीको तस्विर पूरा नहुने बताउँछिन्।

धनलक्ष्मी आकृति भएको तस्विरमाथि झुल राखिएको हुन्छ। झुलहरु कोठामा प्रयोग हुने र ढुकुटी पनि त्यहीँ रहने भएकाले लक्ष्मी पनि ढुकुटी संचय गर्न स्थानमा बस्ने देखाइएको हो। ख्याकले धनी महाराजहरु कहाँ गएर तर्साएर पैसा उठाएर लक्ष्मीलार्इ दिने विश्वास गरिन्छ भने कुबेरले धन संचय गर्ने।

त्यस्तै नेपालमा बन्ने लक्ष्मीको हातमा ज्वला न्हाय्कं (प्रकाश छर्ने ऐना) रसिन्ह: मू (सिन्दुर राख्ने बट्टा) हुन्छ। ज्वला न्हायकं पित्तल वा चाँदीबाट बनाइएको हुन्छ। यसको बीच भाग ऐनाजस्तो चम्किलो गरी बनाइएको हुन्छ। नेवार समुदायमा छोरीको विवाह गर्दा यो नभई हुँदैन।

यसरी धनलक्ष्मीको चित्र बनाउनु र पूजिनुको अर्थ, धन जथाभावी खेर नजाओस्, सम्हालेर संचय गर्न सकियोस् भन्ने हो।

हराउँला त थासा कला?

चेतकुमारी भन्छिन्, 'अब यो परम्परा किन्ने ग्राहकहरुमा निर्भर छ। उनीहरुले कहाँको सामान किन्छन् भन्नेमा भर हुने भयो। नेपालमा बनेको मौलिक तस्विर किन्ने हो भने सायद् यो परम्परा जिवित रहला। नत्र, पछि यो हराउँदै जानेछ।'

लक्ष्मीको तस्विर बनाउने आफ्नै प्रक्रिया हुन्छ। थासामा लक्ष्मीको आकृति छापेर त्यसमा रङ भरेर तयार पार्न घण्टौं लाग्छ। हातैले एउटा लक्ष्मीको तस्विर बनाउन १ घण्टा भन्दा बढी लाग्छ। धनलक्ष्मीको तस्विरसँगै उनी किजा पूजा (भाइटीका) मा प्रयोग हुने यमदूत र दिदीभाइको तस्विर समेत बनाउँछन्। जुन प्राय भक्तपुरमा प्रयोग हुन्छ।

पहिला मकै भुटेको हाँडी अथवा रोटी बनाउने तावा मुनि जम्ने मसिनो कालो ध्वाँसो निकालेर एक प्रकारको गममा मिसाएर पानीमा राखिन्थ्यो। पानी मुनि कसर जम्मा हुन्थ्यो र माथि राम्रो रङ आउथ्यो। त्यही कालो रङलाई थासामा छापेर लक्ष्मीको तस्विर छापिन्थ्यो।

पहिला चित्र रङ्ग्याउनका लागि विभिन्न रङ बनाउन फलफूल र जडिबुटीको प्रयोग गरिन्थ्यो। सिमीको पात, गोलभेडाको मुन्टोलाई कुटेर रस बनाइन्थ्यो। त्यसमा लसुन हालेर हरियो रङ बनाइन्थ्यो। पहेँलो रङ बनाउन बेसारको प्रयोग गरिन्थ्यो।

अहिले नवदुर्गाको ख्वापा बनाउन चित्रकार परिवारले पुरानै जडिबुटीदेखि सुनसम्म प्रयोग गर्छन्। तर, लक्ष्मी लगायतका चित्र बनाउन भने यस्ता रङको प्रयोग निकै कम भइसकेको छ।

चेतकुमारी भने भविष्यमा पुर्ख्यौली पेशालाई निरन्तरता दिन नसिकए पनि त्यसबारे ज्ञान भने आफ्ना नाति नातिनालाई दिनुपर्छ भन्ने पक्षमा छिन्। त्यसैले आफूले धनलक्ष्मीको चित्र बनाइरहँदा नातिलाई बोलाउँछिन् र रङ भर्न सहयोग माग्छिन्।

'भोलि गएर उनीहरुले योभन्दा राम्रो काम कमाई हुने गर्न सक्छन्। तर, उनीहरुले यो काम प्रति थोरै जाँगर देखाए, चाहिएको बेला गर्न सक्छन्। आफ्नो पुर्ख्यौली धन समाप्त हुँदैन। त्यसैले म छोराहरुलाई यसबारे भनिरहन्छु।'



ट्रेन्डिङ पोस्ट

Ncell