काठमाडौं : कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला अल थानीले टेक्निकल हिसाबले महत्वपूर्ण मानिने आमदब्लम हिमालको सफल आरोहण गरेका छन्।
अमेरिकी गाइड ग्यारेट सी म्याडसनको नेतृत्वमा थानीसहित ६ जना आज बिहान ११:२० बजे आमदब्लमको शिखरमा पुगेको ट्रेकिङ कम्पनी हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक इश्वरी पौडेलले जानकारी दिए। उनका अनुसार युवराजको टिमलाई आरोहण सफल बनाउने क्रममा ८ जना नेपालीहरु पनि चुचुरोमा पुगेका छन्।
'उहाँहरु अहिले फर्किने क्रममा हुनुहुन्छ,' पौडेलले भने। दशैं टीकाको दिन राजकुमारको टोली काठमाडौंबाट लुक्लाका लागि उडेको थियो। त्यहाँबाट फाक्दिङ, नाम्चे हुँदै आमदब्लम आधार सिविर पुगेको थियो, टोली। यसअघि बहराइनका राज परिवारका सदस्यले पनि नेपालमा आरोहण गरेका थिए।
'यसले केही न केही फरक पार्ला। इन्टरनेसनल रुपमा राम्रो म्यासेज जान्छ,' पौडेलले करिब बन्द अवस्थामा रहेको आरोहणलाई केही गति दिन एक्सपेडिसनले भूमिका खेल्ने बताउँदै भने, 'कोभिडकै बीच पनि मानिस आएर हिमाल चढेका छन् भन्ने संदेश महत्वपूर्ण हो।'
६ हजार ८ सय १२ मिटर उचाईको आमदब्लम सानो भए पनि चढ्नका लागि बढी दक्षता आवश्यक पर्ने हिमाल हो। खुम्बु क्षेत्रमा सबैभन्दा राम्रो हिमालको रुपमा यसको चर्चा हुने गर्छ जुन चढ्न अन्य हिमालभन्दा प्राविधिक हिसाबले कठिन छ।
