विराटनगर: कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेको अवस्थामा अस्पतालमा बिरामीको चाप पनि बढ्दो छ। बिरामीको चाप र संक्रमणको जोखिम कम गर्ने उद्देश्यले विराटनगरमा क्यूरा हेल्थ सञ्चालनमा ल्याइएको छ। क्यूरा हेल्थ जसले प्रविधिको प्रयोगबाट स्वास्थ्य सम्बन्धी सम्पूर्ण जानकारी दिने सञ्चालक आयुष भगतले बताए।
क्यूरा हेल्थको मोबाइल एप्लिकेसनको माध्यमबाट घरमै बसेर आफूले चाहेको डाक्टर क्लिनिक र अस्पतालमा समय मिलाउन सकिनेछ। त्यस्तै डाक्टर समय बुझेर घरबाटै समय बुक गर्न पनि सकिने छ। भगतका अनुसार एप्लिकेसनले छरिएर रहेका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सबैलाई एउटै बिन्दुमा जोड्नका लागि सहजकर्ताको भूमिका खेल्नेछ।
एप्तलिकेसनमा रहेको टेलिमेडिसिन सुविधाले पनि बिरामीलाई थप सुविधा प्रदान गर्ने सञ्चालकको दाबी छ। जसमा बिरामीले घरबाटै अडियो भिडियोको माध्यमबाट पनि आफूले चाहेको अस्पताल वा चिकित्सकसँग परामर्श लिन सक्नेछन्।
बुधबार विराटनगर अस्पतालमा गरिएको पत्रकार सम्मेलनबाट सेवा औपचारिक प्रारम्भको घोषणा गरिएको हो।
विराटनगरस्थित विराट अस्पताल, लाइफ गार्ड अस्पताल र सी राम डेन्टलमा सेवा सञ्चालनमा आइसकेको सञ्चालक टिमका रजत अग्रवालले जानकारी दिए।
यो किसिमको काम गर्ने एप नेपालमा पहिलो भएको अग्रवालले दाबी गरे। यसलाई विस्तार गर्दै लैजाने योजना भएको पनि उनले सुनाए।
