बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५० हजार पार भएको छ। कोभिड १९ का कारण युरोपमा ५० हजारभन्दा धेरै ज्यान गुमाउने पहिलो मुलुक बनेको छ बेलायत।
पछिल्ला २४ घन्टामा ५ सय ९५ जनाको मृत्यु हुँदा बेलायतमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५० हजार ३ सय ६५ पुगेको छ।
अमेरिका, ब्राजिल, भारत र मेक्सिको पछि सबैभन्दा धेरै मृत्यु हुने मुलुकको सुचीमा उक्लिएको छ।
प्रधानमन्त्री बोरिस जोन्सनले तथ्याङ्कहरुले खराब अवस्था देखाए पनि खोपको विकासले आशा पलाएको बताएका छन्। 'हर एक मृत्यु दु:खद् हो,' उनले भने, 'तर मलाई लाग्छ अब हामी यसको उपचारका लागि अर्को चरणमा प्रवेश गरेका छौं।'
बेलायतमा १२ लाख मानिसमा कोभिड १९ पुष्टि भएको छ भने १ लाख ८५ हजार भन्दा धेरै मानिसहरु अस्पताल भर्ना नै हुनुपर्ने अवस्थामा पुगेका छन्।
कोरोनाका कारण यहाँ मृत्यु हुनेको संख्याले मात्र सबै कुरा बताउँदैन। यहाँ बढी उमेरका मानिस धेरै छन् जसले मृत्युको रफ्तार बढाएको हो। हरेक १० जनाको मृत्युमा ९ जना ६५ वर्षभन्दा माथिका रहेका छन्। आर्थिक रुपमा विपन्न परिवारमा अवस्था भयावहपूर्ण देखिएको छ।
