काठमाडौं : निमोनियाबाट थलिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीमा कोभिड १९ पोजेटिभ देखियो। कोरोना भाइरसको विश्वव्यापी असर देखिँदा पूर्व मन्त्रीसमेत रहेका केसीमा संक्रमण देखिनु अनौठो विषय नहोला। तर, अनौठो चाहिँ के हो भने - उनको उपचारका लागि खर्च नहुँदा पार्टीले बैठक नै डाक्यो र सहयोगका लागि प्रेस वक्तव्य जारी गर्यो।
+++
नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई सुरक्षा दिँदै जनयुद्धका क्रममा अंगरक्षकको भूमिका निर्वाह गरेका तुलबहादुर घर्ती 'मुनाल' पक्षघातको सिकार भए। उनको उपचारका लागि कसैले सहयोग नगरेपछि पूर्व माओवादी नेता हेमबहादुर खड्काले सहयोग रकम उठाउन पत्रकार सम्मेलन नै गरे।
+++
बामपन्थी नेता चित्रबहादुर केसी र माओवादी आन्दोलनका लडाकु तुलबहादुर घर्ती समाजवाद उन्मुख संविधान भएको र बलियो बहुमतको कम्युनिस्ट सरकार शासित मुलुकका नागरिक हुन्। संविधानसभाबाट संविधान जारी गर्नका लागि यी दुवैको योगदान थियो। तर, यी दुवै यतिखेर मुलुकको स्वास्थ्य अवस्थाको हैसियत कस्तो छ देखाउने ऐना बनेका छन्।
चित्रबहादुर केसीको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। लामो समय वामपन्थी राजनीतिमा जोडिएका उनको जीवन सधै सामान्य रह्यो। एक पटक मन्त्री पनि भए। तर, मन्त्री हुनु अघि र मन्त्री पदबाट अलग भएपछि पनि उनी राजधानीको सार्वजनिक सवारीबाटै यात्रा गरिरहेको भेटिन्थे। त्यसैको प्रतिफल हो, यतिखेर उनको उपचारका लागि उनको पार्टीको बैठक बस्न पर्यो।

केसीको उपचारका लागि चन्दाको निर्णय
हिजो बसेको बैठकले भनेको छ, 'स्वास्थ्य स्थिति गम्भीर छ।' त्यसैले पार्टीको खातामा रकम जम्म गर्न आह्वान गरिएको छ।'का. चित्रबहादुर केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकाले उहाँको उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरुको सहयोगबाट गर्ने निर्णय भएको छ। सहयोगदाताहरुले राष्ट्रिय जनमोर्चाको बैंक खातामा सहयोग रकम जम्मा गरिदिन अनुरोध छ,' पार्टीले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ।जस्तै हाल घर्तीको पनि छ। सत्ता, राजनीति र नेतृत्वको निर्लज्ज उदाहरणका पीडित पात्र हुन् घर्ती। प्रचण्डका सहयोगी रहेका तुलबहादुर घर्ती उपचार नपाएर घरमै अलपत्र छन्। उनले उपचार नपाएर घरमै सिकिस्त अवस्थामा भएको परिवारले जनाएका छन्।
मुनालको उपचारका लागि काठमाडौंमा पत्रकार सम्मेलन
पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–५ जवाङस्थित आफ्नै घरमा मर्नु न बाँच्नुको अवस्थामा बेसाहारा उनी जनयुद्धकालको चर्चित चुवाङ बैठकमा मुनाल प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराई, बादलहरुलगायतका नेताहरुको सुरक्षाको जिम्मा लिएका व्यक्ति हुन्। उपचार नपाएरै ज्यान जाने अवस्थामा उनी पुगेपछि पूर्व माओवादीका नेता तथा सामाजिक अभियान्त हेमबहादुर खड्कासहितको टोली जुटेको छ, रकम संकलनका लागि।
यी दुई प्रतिनिधिपात्रले बोल्ने कथा एकखाले छ भने मुलुकमा अर्कोखाले कथा पनि चर्चित छ। प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डको परिवारको उपचार यात्रा।

सिंगापुर जाँदै ओली। फाइल फोटो
प्रधानमन्त्री केपी शर्मा ओली ठूलो उपचारका लागि सिंगापुर पुगे। लामो समय त्यहीँ बसेर उपचार गरे। सिंगापुर यात्रा त पटक पटक रह्यो।साथमा सहयोगीहरुको भिड पनि उतै बस्यो। उनको उपचारको खर्च राज्यले बेहोर्न नपर्ने दावी पनि गरे, पपुलिस्ट हुन कसलाई मन पर्दैन र? तर, कसले उनको त्यति महँगो उपचार खर्च बेहोर्यो? कहिल्यै खुलाउन चाहेनन्। किनभने नेपालको शीर्ष राजनीतिक वृत्तमा जवाफदेहिता भन्ने शब्द भेटिन्न। उनको उपचारका लागि व्यापारिक घरानाबीच नै प्रतिस्पर्धा रह्यो। सिंगापुरमा रहँदा लाइन लागेर व्यापारीहरु भेट्न पुगे।
त्यस्तै देखियो प्रचण्डको पनि। उनकी पत्नी सीताको उपचारका लागि बारम्बार प्रचण्ड पनि विदेश धाए। उनका लागि पनि खर्च गर्नेहरु तछाडमछाड देखिए।
सीताको उपचारका लागि अमेरिका जाँदा। फाइल फोटो
तर, यही राजनीतिको सहयात्री चित्रबहादुर केसी र 'मुनाल' उपचारका लागि निरिह भएर लम्पसार पर्न परेको छ। लागि पैसा माग्दै हिँड्ने अवस्थामा पुग्नुपर्ने स्थितिले के बयान गर्दैन - मुलुकको दुरुहपूर्ण दृष्य?
