PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

पद नपाए पनि मेरो गुजारा चल्छ : डाक्टर युवराज खतिवडा



पहिलोपोस्ट

पद नपाए पनि मेरो गुजारा चल्छ : डाक्टर युवराज खतिवडा

काठमाडौं : डाक्टर युवराज खतिवडाले एमसीसीमा सहजिकरण गर्ने योजना सुनाएका छन्। अमेरिकाका लागि राजदूत सिफारिस भएका खतिवडाले आज संसदीय सुनुवाई समितिमा बोल्दै आर्थिक कुटनीतिमा ध्यान दिने बताए।

'म राजदूत नियुक्त भएमा आर्थिक कूटनीतिमा ध्यान दिन्छु। नेपालको भूमिका अन्तर्राष्ट्रिय फोरममा उभ्याउने प्रयास गर्छु,' डाक्टर खतिवडाले भने। उनले द्वीपक्षीय सहयोग र उच्चस्तरीय भ्रमणको पहल गर्ने पनि सुनाए।

'मैले पद मागेर लिएको हैन। २०६६ यता जति जिम्मेवारी पाएँ राज्यले दिएको हो,' खतिवडाले भने, 'कर्माचारीले प्रमोशन माग्छ तर मैले कुनै नियुक्ति मागेको हैन।'

उनले आफूलाई व्यवसायिक व्यक्ति भएको दावी गर्दै यस्तो पदमा नभएर गुजारा नै नचल्ने होइन भने। उनले राज्यले दिएको जिम्मेवारीमा भूमिका खोज्ने तर प्रोटोकल हेर्ने कुरा नभएको बताए। 'मैले बुझेसम्म त्यहाँका राजदूतको प्रोटोकल मन्त्री सरह नै छ,' खतिवडाले भने, 'जुन भूमिका दिइन्छ स्वीकार गर्नुको विकल्प छैन।'

उनले वित्तीय संघीयता कार्यान्वयन नेपाल सबल अवस्थामा रहेको दावी गरेका थिए। उनीविरुद्ध परेका उजुरीका विषयमाथिको प्रश्नमा खतिवडाले भने, 'मेरा विरूद्ध कर छलीमा परेका, बैकिङ कसुरमा परेकाले मात्र उजुरी गरेका छन्।'

कर प्रणाली लगायतमा उनले गलत गरेको भए संसदीय समितिलाई छानबिन गर्न आग्रह गरे। 'अर्थमन्त्रीको कार्यकाल सकियो भनेर यसबाट मैले उन्मुक्ति पाउन सक्दिनँ,' खतिवडाले भने, 'नीतिगत निर्णयमा फरक सोच होलान् तर गलत नियतबाट निर्णय गरेको छैन।'

समितिमा पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीमाथिको सुनुवाई जारी छ। आजै निर्मल विश्वकर्मामाथि पनि सुनुवाई हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell