काठमाडौं : दक्षिण एसियामा पहिलोपटक जनवरी २४ अर्थात् गत वर्ष माघ १० गते वुहानबाट आएका एक जना विद्यार्थीमा कोभिड-१९ को संक्रमण पुष्टि भयो। उनमा कोभिड १९ पुष्टि हुँदा उनी संक्रमण मुक्त भइसकेका थिए। चीन कोभिड-१९ संक्रमणको नियन्त्रणतर्फ थियो।
त्यसयता तीन महिना कसैमा पनि संक्रमण देखिएन्। त्यतिबेलासम्म चीनले संक्रमण नियन्त्रण गरी कोभिड-१९ को इपिसेन्टर वुहानसमेत खुला गरिसकेको थियो। तर, नेपालमा चैत १२ गते देखि लकडाउन सुरु भयो। ११ गते एक जनामा संक्रमण पुष्टि भएको थियो। १२ गते पनि अर्का एक संक्रमित फेला परे।
तीन महिनासम्म लकडाउन जारी भयो। लकडाउनले संक्रमण फैलिनबाट त रोक्यो तर नियन्त्रण हुन सकेन्। लकडाउन खुलेसँगै संक्रमण तीब्र गतिमा फैलियो। लकडाउन खुला भएसँगै प्रदेश २ र लुम्बिनी र सुदुरपश्चिममा संक्रमण बढी देखिएको थियो। त्यसपछि काठमाडौं भित्रिनेक्रम सुरु भयो।
सरकारले साउन ५ गते लकडाउन खुला गर्ने निर्णय गरेको थियो।
त्यतिबेला नेपालमा १७ हजार ८ सय ४४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। जसमध्ये ११ हजार ८ सय ६८ जना संक्रमित संक्रमण मुक्त भइसकेका थिए। ५ हजार ९ सय ३६ जना संक्रमित आइसोलेसनमा थिए ४० जनाको मृत्यु भएको थियो।
सरकारले शून्य मृत्युको नीति तथा कार्यक्रम संसदमा पेश गरे पनि सरकारको कार्यक्रम पेश भएको २ महिनामै ४० जनाको मृत्यु भइसकेको थियो।
लकडाउन खुलेसँगै संक्रमण तीब्र रुपमा बढ्दै गयो। लकडाउन खुलेको साढे दुई महिनामा नै संक्रमितको संख्या एक लाख नाघ्यो। असोज २३ गतेसम्म नेपालमा एक लाख ६ सय ७६ जनामा संक्रमण पुष्टि भइसकेको थियो। मृतकको संख्या ४० बाट बढेर ६ सय पुगेको थियो।
त्यसयता एक महिनामै एक लाख संक्रमित थपिएर दुई लाख नाघेको छ भने मृतकको संख्या पनि एक हजार १ सय ७४ कटिसकेको छ।।
नेपालमा संक्रमितको संख्या एक लाख नाघेको ३३ दिनमा नै संक्रमितको संख्याले दुई लाख सीमा पार गर्यो। बुधवारसम्म नेपालमा दुई लाख २ हजार ३ सय २९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। हाल नेपालमा ३८ हजार ९ सय १२ जना आइसोलेसनमा छन्।
हाल संक्रमण पुष्टि भएका मध्ये ६७ हजार ९ सय ५० महिला र एक लाख ३४ हजार ३ सय ७९ पुरुष हुन्।
कुन प्रदेशमा कति?
हालसम्म नेपालमा कुल संक्रमितमध्ये ५३.९९ प्रतिशत संक्रमित वागमती प्रदेशमा मात्र पहिचान भएका छन्। वागमतीमा एक लाख हजार २ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै कूल मृत्युमध्ये ४९.३२ प्रतिशत वागमती प्रदेशका हुन्। नेपालमा एक हजार १ सय ७४ जना संक्रमितको मृत्यु भएको छ। जसमध्ये ५ सय ७९जना वागमतीका हुन्।
वागमतीका ८३ हजार ८ सय ५६ जना संक्रमित संक्रमण मुक्त हुँदा अझै २४ हजार ८ सय २८ जना आइसोलेसनमै छन्। जुन नेपालको कुल सक्रिय संक्रमितको ६३.८ प्रतिशत हो।
त्यस्तै, प्रदेश १ मा कूल संक्रमितको ११.५ प्रतिशत रहेका छन्। प्रदेश १ मा २३ हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ १ सय ५० जनाको मृत्यु भइसकेको छ भने १८ हजार ३ सय ५३ जना संक्रमित संक्रमण मुक्त भएका छन्। हाल प्रदेश १ मा ४ हजार ८ सय ४२ सक्रिय संक्रमित छन्।
लुम्बिनी प्रदेशमा नेपालको कुल संक्रमितको ११.२ प्रतिशत छन्। त्यहाँ १ सय ६९ जनाको मृत्यु हुनुका साथै १८ हजार ७ सय ५६ संक्रमण मुक्त भइसकेका छन्। लुम्बिनीमा ३ हजार ६ सय ८५ जना सक्रिय संक्रमित छन्।
प्रदेश २ मा ९.५ प्रतिशत संक्रमित छन्। जसमध्ये एक हजार ८० जना सक्रिय संक्रमित हुन् भने १७ हजार ८ सय ९२ जना संक्रमण मुक्त भइसकेका छन्। प्रदेश २ मा १ सय ६८ जनाको मृत्यु भइसकेको छ।
गण्डकी प्रदेशमा कूल संक्रमितको ५.६ प्रतिशत संक्रमित पहिचान भएका छन्। त्यहाँ ११ हजार ४ सय १९ जनामा संक्रमण पुष्टि हुँदा ६६ जनाको मृत्यु भएको छ भने ८ हजार २ सय १७ जना संक्रमित संक्रमण मुक्त भएका छन्। गण्डकीमा हाल तीन हजार १ सय २१ जना सक्रिय संक्रमित छन्।
सुदुर–पश्चिम प्रदेशमा १० हजार ७ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ। जुन कूल संक्रमितको ५.३ प्रतिशत हो। त्यहाँ २८ जनाको मात्र मृत्यु भएको छ भने ९ हजार ७ सय ३७ जना संक्रमण मुक्त भइसकेका छन्। त्यस्तै ९ सय ९२ जना सक्रिय संक्रमित छन्।
सबैभन्दा कम कर्णाली प्रदेशमा २.९ प्रतिशत संक्रमित छन्। त्यहाँ ५ हजार ९ सय १० जनामा संक्रमण पुष्टि भएकोमा १४ जनाको मात्र मृत्यु भएको छ। त्यस्तै संक्रमित मध्ये ५ हजार ५ सय ३२ जना संक्रमण मुक्त भइसकेका छन भने ३ सय ६४ जनामात्र सक्रिय संक्रमित छन्।
४६ प्रतिशत संक्रमित ३७ प्रतिशत मृत्यु उपत्यकामै
नेपालमा कुल संक्रमितको ४५.९ प्रतिशत संक्रमित उपत्यकाका हुन्। काठमाडौं उपत्यकामा ९२ हजार ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै कुल मृत्युको ३७.५ प्रतिशत उपत्यकाका हुन्। उपत्यकामा हालसम्म ४ सय ४० जनाको मृत्यु भइसकेको छ। त्यस्तै उपत्यकाका संक्रमित मध्ये ७१ हजार ४ सय ५१ जना संक्रमण मुक्त भइसकेका छन्।
कूल सक्रिय संक्रमितको ५३.८२ प्रतिशत उपत्यकामै छन्। काठमाडौं उपत्यकामा हाल २० हजार ९ सय ४५ जना सक्रिय संक्रमित छन्।
जसमध्ये काठमाडौं जिल्लामा ७५ हजार ३ सय २० जनामा संक्रमण पुष्टि हुँदा २ सय ८९ जनाको मृत्यु भइसकेको छ। काठमाडौंमा १७ हजार १ सय ६४ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै ललितपुर जिल्लामा १० हजार ७ सय ५१ जनामा संक्रमण पुष्टि हुँदा ७७ जनाको मृत्यु भएको छ। त्यस्तै दुई हजार ५ सय ६ जना सक्रिय संक्रमित छन्। भक्तपुर जिल्लामा कोभिड-१९ को संक्रमण बाट ७४ जनाको मृत्यु भएको छ। त्यहाँ ६ हजार ७ सय ६५ जनामा संक्रमण पुष्टि भएकोमा हाल एक हजार २ सय ७५ जना सक्रिय संक्रमित छन्।