PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

प्रदेश १ सरकारले सहमतिअनुसारको रकम दिन ढिलो गर्दा कोभिड केयर सेन्टरको निर्माण अलपत्र



अनन्तराज न्यौपाने

प्रदेश १ सरकारले सहमतिअनुसारको रकम दिन ढिलो गर्दा कोभिड केयर सेन्टरको निर्माण अलपत्र

विराटनगर : प्रदेश १ सरकारले दिने भनी सहमति गरेको रकम प्राप्त हुन ढिलो भएपछि विराटनगरमा निर्माणाधीन बृहत् नागरिक केयर सेन्टरको काम अलपत्र परेको छ।

सेन्टरका अध्यक्ष पवनकुमार शारडाले प्रदेश सरकारबाट समयमा रकम उपलब्ध नभएका कारण निर्माणको काम अलपत्र परेको जानकारी दिएका हुन्।

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाका आह्वानमा दशैँअगाडि गरिएको भर्चुअल बैठकले विराटनगरमा १ सय शय्याको कोभिड केयर सेन्टरको स्थापना र सञ्चालन गर्ने निर्णय गरेको थियो।

यसका लागि मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष पवनकुमार शारडाका अध्यक्षतामा बृहत् नागरिक केयर सेन्टर नामको संस्था गठन गरिएको थियो।

सेन्टरले प्रदेश सरकारसित सहमति गरी प्रदेशले हाल नेसनल ट्रेडिङको भवनमा चलाउँदै आएको ५० शय्याको कोभिड अस्पतालमा नै १ सय शय्या थप गर्ने निर्णय गरेको थियो। प्रदेश सरकारले सेन्टरमा परीक्षणका उपकरण खरिद गर्न र विद्युत् खर्चका लागि १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको थियो।

‘हामीले खरिद गर्दा प्रक्रिया लामो हुन्छ। तपाईंहरू नै खरिद गर्नुहोस्, हामी सेन्टरको खातामा रकम जम्मा गरिदिन्छौँ भनेर प्रदेश सरकारका तर्फबाट वचन आएको थियो’, शारडाले पहिलोपोस्टलाई भने, ‘तर ३ हप्ता बित्न लाग्दा पनि रकम जम्मा भएको छैन।’

उनले प्रदेश सरकारले रकम जम्मा गरिदिए एक हप्ताभित्रै उपचारका लागि सेन्टर तयार गरिने दाबी गरे। रकम निकासा नभएका कारण सेन्टरमा ट्रान्सफरमर र जेनेरेटर जडान गर्ने लगायतका कामहरू अपूरो भएको उनले बताए।

केयर सेन्टरका लागि रोटरी क्लबले ३०, उद्योगपतिद्वय राजेन्द्र राउत र महेश जाजूले २०–२०, राउन्ड टेबलले २० र लायन्स क्लबले १० वटा शय्यासहित तिनका लागि आवश्यक सामग्री प्रदान गरेका छन्।

शारडाले सेन्टरमा १ सय १० शय्या हुने र सबै शय्यामा पाइपलाइनबाट अक्सिजन पुर्‍याइने र पूर्ण वातानुकूलित हुने सेन्टरमा ४० टनको एअर कन्डिसनर लगाइँदैछ । सेन्टरमा शौचालय, स्नानघर, लुगा फेर्ने कोठा आदि तयार भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell