ताप्लेजुङ : कोभिड-१९ का कारण चीनको तिब्बतसँगको सीमानाका टिपताला भञ्ज्याङबाट ओहोरदोहोर बन्द भएपछि ओलाङचुङगोलावासी समस्यामा छन्।
चीनमा संक्रमण फैलिएयता नाका हुँदै आउजाउ पूर्णरुपमा बन्द छ। खाद्यान्नलगायतका उपभोग्य वस्तुको किनमेलका लागि तिब्बतका बजारको भरमा रहेका यहाँका बासिन्दा लामो समयदेखि तिब्बत पुग्न पाएका छैनन्।
जेठदेखि भदौसम्म वर्षभर पुग्ने खाद्यान्नलगायतका सामग्री तिब्बतकै बजारबाट ढुवानी गर्ने गोलावासीले यो वर्ष महंगो भाडा तिरेर ताप्लेजुङ तर्फकै बजारबाट ढुवानी गर्न बाध्य छन्। मानिसलाई चाहिने सामाग्रीदेखि लिएर पशु चौपायाका लागि ढिके नुन र दानासमेत चीनबाटै ल्याउने गरिएको थियो।
हिमाली एक्लो बस्ती ओलाङचुङगोलाका बासिन्दालाई ताप्लेजुङको बजारबाट भन्दा चीनको तिब्बतबाट सामान ढुवानी गर्न सहज हुन्छ। ताप्लेजुङका बजार भन्दा नाका नजिकपर्ने र ढुवानीसमेत सस्तो हुने भएकाले उतैबाट आवश्यक सामानको जोहो गर्ने गरिएको वडाध्यक्ष छेतेन शेर्पाले बताए। यो वर्ष संक्रमणका कारण तिब्बत आउजाउ नहुँदा समस्या भएको उनको भनाइ छ।
नाका बन्द हुँदा ओलाङचुङगोलामा बुनिएका गलैँचासमेत घरैमा थन्किएका छन्। यहाँ उत्पादित गलैँचाको मूख्य बजार तिब्बत नै हो। यो वर्ष आउजाउ नहुँदा यहाँका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन्।