काठमाडौ: नेपाली राष्ट्रिय फुटबल टोलीले आज मैत्रीपूर्ण खेलमा बंगलादेशको सामना गर्दैछ। दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपालले ढाकास्थित बंगबन्धु स्टेडियममा आज खेल पौने पाँच बजे खेल्नेछ।
कोरोना महामारी र लकडाउनको क्रममा लामोसमय अभ्यासबिहीन बनेका फुटबल खेलाडीहरु एकहप्ताको छोटो अभ्यासपछि बंगलादेश गएका थिए। त्यसमा पनि केही पहिलो रोजाइका खेलाडीहरु कोरोना र चोटका कारण टिममा नहुँदा केही नयाँ अनुहार पनि टिममा देखिने छन्। यद्यपि दक्षिण एसियाली टिम नै भएकाले त्यस्तो धेरै फरक नपर्ने नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले खेलाडी विदाइका क्रममा बताएका थिए। नेपाली टिमका स्वीडिस प्रशिक्षक योहान कालीनको अनुपस्थितिमा महर्जनले मुख्य प्रशिक्षकको जिम्मेवारी निभाइरहेका छन्।
‘पहिलो ११ का खेलाडीहरु पनि कोभिड संक्रमित हुँदा अलिकति केही हदसम्म बाधा तर यो टिम गेम भएकाले अरु खेलाडीहरु पनि फुटबलमा १९/२० हुन्छ। कहिले मलाई चान्स आउला भनेर कुरेर बसेको खेलाडी पनि हुन्छ। त्यसैले धेरै समस्या नहोला,’ उनले भनेका थिए, ‘साउथ एसियन रिजनकै टिमसँग खेल्न गइरहेकोले धेरै समस्या नहोला भन्ने छ।’
बिहीवार भएको प्रिम्याच कन्फ्रेन्समा पनि महर्जनले त्यही कुरामा जोड दिए। उनले लामो समयसम्म अभ्यास नगरेको बताउँदै अवस्था अफ्ठ्यारो भएको र कुनै प्रतियोगिता वा मैत्रीपूर्ण खेलका लागि त्यो पर्याप्त नभएको बताए।

‘यहाँ आउनु अघि हामीले महामारीकाबिच एक हप्ता ट्रेनिङ गरेका थियौं। प्लेइङ सेटमै पर्ने खेलाडीहरु कोरोना संक्रमित पनि भए,’ महर्जनले भने, ‘मलाई विश्वास छ बाँकी खेलाडीहरुले त्यसको फुलफिल गर्नेछन्। उनीहरुले आफ्नो प्रदर्शन देखाउने अवसरमा चुक्ने छैनन्।’
त्यस्तै कप्तान किरण चेम्जोङले लामो समय रोकिएर खेल खेल्न पाउँदा निकै उत्साहीत रहेको भन्दै यो दुबै टिमका लागि राम्रो अवसर भएको बताए।
‘खेल्न एकदमै उत्साहीत छौं। लामो समय पछि खेल्न गइरहेका छौं हामी। यो बंगलादेश र नेपाल दुबैका लागि एकदमै राम्रो हो,’ प्रिम्याच कन्फ्रेन्समा चेम्जोङले भने, ‘लामो समय पछि खेल्न जाँदैछौं। पक्कै पनि यो प्रतिस्पर्धात्मक हुनेछ। खेलका लागि हामी तयार छौं।’
प्रतियोगितामा ८ हजारसम्म दर्शकलाई अनुमति दिइने बंगलादेशी सञ्चारमाध्यमहरुले बताएका छन्।
फिफा बरियतामा नेपाल १ सय ७० औं स्थानमा छ भने बंगलादेश १ सय ८७ औं स्थानमा छ।
नेपालले सन् २०१८ मा बङ्गलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा पछिल्लो पटक बङ्गलादेशसँग खेलेको थियो। त्यसबेला नेपालले बङ्गलादेशलाई पराजित गरेको थियो। बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जना हाल बङ्गलादेशको ढाकामा रहेका छन्।
यो मैत्रीपूर्ण खेलले नेपाल र बंगलादेश दुबै देशका लागि फिफा विश्वकप छनोट अन्तर्गतका खेलका लागि सहयोग पुर्याउने छ। विश्वकप छनोटमा नेपाल समुह बी मा छ भने बंगलादेश समूह इ मा छ। कोभिडका कारण स्थगित विश्वकप छनोटका खेलहरु सन् २०२१ मा हुनेछ।
नेपाली टिम
अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेमजोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवि पासवान, सरोज दहाल, शेसेहाङ आङ्दम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ
