PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बैतडी बस दुर्घटना : शव निकाल्नै लाग्यो ७ घण्टा, एक जनाको शव अझै बसमै अड्कियो, दुई जनाको सनाखत



पहिलोपोस्ट

बैतडी बस दुर्घटना : शव निकाल्नै लाग्यो ७ घण्टा, एक जनाको शव अझै बसमै अड्कियो, दुई जनाको सनाखत

बैतडी: बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। ३४ जना घाइते भएका छन्।

दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ खोड्पेमा दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस गएराति साढे १० बजेतिर सानो घुम्तीबाट करीब ६ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ। जसमा प्रहरी जवान रणबहादुर चन्द र भीनपा ८ की १५ वर्षीय किशोरी कृतिका कार्की रहेका छन्। सबै शवलाई जिल्ला जिल्ला अस्पताल ल्याइएको छ।

बैतडीका डीएसपी नारायणप्रसाद अधिकारीका अनुसार मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन्। दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

शव निकाल्न लाग्यो ७ घण्टा

दुर्घटनामा परेर मृत्यु भएकाहरुमध्ये ८ जनाको शव निकालिसकिएको छ। एक जना भने बससँगै अड्किएका छन्। उनको शव आज दिउँसो निकाल्ने तयारी छ।

शव संकलनमा खटिएका प्रहरी जवान चन्द्रदेव भट्टका अनुसार शव संकलन गर्न ७ घण्टा समय लाग्यो। 'भीरबाट शवहरु निकाल्न विहान पौने ५ मा सक्यौ,' उनले भने, 'अड्किएको शव निकाल्न जाँदैछौं। माटो फालेको र ढुंगाहरु पनि खस्दा अफ्ठ्यारो भइरहेको छ।'

घाइतेहरुको भने प्रहरी र स्थानीयवासी मिलेर घटनास्थलबाट उद्धार गरिएको थियो। दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

बस बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ। साहु आफैँ चालक रहेका र उनीसमेत घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell