PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

फेरि पोखरा झर्‍यो दुर्लभ थार : मानिसले माने अनौठो



पहिलोपोस्ट

फेरि पोखरा झर्‍यो दुर्लभ थार : मानिसले माने अनौठो

  • राजु आचार्य -

कास्की पोखरामा निर्माणाधीन ‘क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल’ परिसरमा थार भेटिएको छ। विमानस्थलका कर्मचारीहरु बस्तीमा नै थार देखेपछि अचम्भित भएका थिए।

हालसम्म पाइएको उचाइ अनुसार यो प्रजातिको स्तनधारी समुन्द्र सतहदेखि ५०० देखि ३०५० मिटरसम्म भेटिएको अभिलेख छ। उचाइको हिसाबले पोखरामा पाउने सम्भावना भए पनि यिनीहरू प्राय घना वन क्षेत्र तथा भिराला वासस्थानहरूमा मात्र रहने अभिलेख छन्। त्यसैले यो प्रजाति पोखरा बजारबीच भेटिनु अनौठो मानिएको छ। यसअघि पनि पोखरा बुढी बजारमा भेटिएको उस्तै खालको प्रजातिलाई उद्धार गरेर वन लगेर छोडिएको थियो।

कास्की जिल्लाका डिभिजनल वन अधिकृत केदार बरालले भने, ‘विमानस्थलबाट फोन आएपछि उद्धार गरेर ‘वन्यजन्तु एम्बुलेन्स’को सहयोगमा भुर्जुंग खोलादेखि माथिको क्षेत्रमा सकुसल छोडिएको छ।‘ सहायक वन अधिकृत गोविन्द थापाको नेतृत्वमा सो स्तनधारी प्राकृतिक वनमा पुनर्स्थापना गरिएको हो।

‘अन्नपूर्ण संरक्षण क्षेत्रबाट विजयपुर खोलाको करिडोर हुँदै आएको हुनसक्छ। यो प्रजाति कसरी आयो भनेर हामी पनि अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

वरिष्ठ वन्यजन्तु विज्ञ प्राध्यापक करनबहादुर शाहका अनुसार शत्रु प्रजातिले लखेट्दा शहर छिरेको हुनसक्छ। ‘यस्ता घट्नाहरु आकल झुकल हुने गर्छन्,’ शाहले भने।

पटक-पटक पोखरामा भेटिनुले गर्दा कतै घरमा ल्याएर पाल्न खोज्दा वा पालिरहेको ठाउँबाट उम्किएको त होइन भनेर शङ्का गर्ने ठाउँ समेत रहेको छ। यो चुरे र मध्यपहाडमा समेत पाइन्छ। नेपाल बाहिर भुटान, चीन, भारत र बङ्गलादेशमा समेत थार पाइन्छ। यो शाकाहारी प्रजातिको प्राणी हो। यसको विस्तार नेपालभर भएको ‘नेपालका स्तनधारी वन्यजन्तुहरू’ पुस्तकले उल्लेख गरेको छ। यसलाई अंग्रेजीमा ‘सुमात्रण सिराउ’ भनिन्छ। यो प्रजाति दुर्लभ मानिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell