काठमाडौं : अमेरिकाले नेपालमा कोभिड-१९ विरुद्ध लड्नका लागि एक सय थान भेन्टिलेटर सहयोग प्रदान गरेको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत शुक्रवार अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तानतरण गरेका हुन्।
भेन्टिलेन्टर हस्तान्तरण समारोहमा मन्त्री ढकालले एक सस थान भेन्टिलेटर हस्तान्तरणका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिए।
‘कोरोनाबाट सबैभन्दा प्रभावति भएको अमेरिकाले नै महामारीको लडाइँमा हामीलाई भेन्टिलेटर सहयोग गरेको छ। नेपालमा अहिले भैरहेको भेन्टिलेटरको १० प्रतिशतले हुन आउने भेन्टिलेटर एकै पटक दिएको छ यसका लागि नेपाल सकारको तर्फबाट धन्यवाद व्यक्त गर्दछु।’
मन्त्री ढकालले विगतमा पनि अमेरिकाले नेपालमा महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै महामारीको समयमा आएको महत्वपूर्ण सहयोग शुक्रबारबाटै वितरण गरेर प्रयोगमा ल्याउने बताए।
सहयोग प्राप्त भेन्टिलेटरहरु सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ७/७ वटा र बाँकी ५१ भेन्टिलेटर देशैभरका सरकारी अस्पतालहरुमा २/२ वटाका दरले वितरण गरिने मन्त्री ढकालले जानकारी दिए।
ढकालले कोभिड १९ को खोप अमेरिकाका जनता र नेपाली जनताले सँगसँगै पाउने अपेक्षा राखे।
भेन्टिलेटर हस्तान्तरण गर्दै राजदूत बेरीले अमेरिका नेपालको हरेक समयको साझेदार भएको बताए। 'असल र खराब दुबै समयमा अमेरिका नेपालसँगको साझेदारीप्रति प्रतिवद्ध छ। यी भेन्टिलेटर मार्फत हामी नेपाली परिवारहरूलाई सघाउन चाहन्छौं जसले गर्दा कोभिड-१९ बाट अति प्रभावित आफ्ना प्रियजनलाई मद्दत गर्नका लागि उनीहरू तयार रहन सकुन्,’ उनले भने।
