PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

कर्णालीमा सुरु भएन रोजगार कार्यक्रम, तिहारपछि पुनः विदेसिने तरखरमा युवा



पी बी खड्का

कर्णालीमा सुरु भएन रोजगार कार्यक्रम, तिहारपछि पुनः विदेसिने तरखरमा युवा

सुर्खेत : कोरोना महामारीकै कारण रोजगारी गुमाएर भारतलगायत तेस्रो मुलुकबाट हजारौँ युवाहरु गाउँ फर्किए। त्यत्तिमात्रै हाइन स्वदेशमै समेत विभिन्न उद्योग, धन्दामा संलग्न युवा रोजगारी गुमाएर कामविहीन बने।

बेरोजगार युवासहित पछिल्लो समय कोरोना महामारी कै कारण रोजगारी गुमाएकाहरुलाई लक्षित गरी कर्णाली सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमसहित बजेटमा रोजगारी सिर्जनालाई पहिलो प्राथमिकतामा राखेको छ। रोजगारी गुमाएर करिब ८० हजारको हाराहारीमा भारत लगायत अन्य मुलुकबाट गाउँ फर्किएको प्रहरीको तथ्यांक छ।

सरकारले बजेटमार्फत तत्काल रोजगारी सिर्जना गरी दुई लाख युवालाई रोजगारी दिने भनिएपनि अहिलेसम्म  रोजगारीमूलक कार्यक्रम सञ्चालन गर्न सकेको छैन। जसले गर्दा कोरोना महामारीकै कारण रोजगारी गुमाएका नागरिकलाई लक्षित गरी ल्याइएको कार्यक्रम कार्यान्वयनमा ढिलाई हुँदा बेरोजगार युवाहरु फेरि जोखिम मोलेरै भारत लगायतका देश बाहिरिन बाध्य  भएका छन्।

कर्णाली प्रदेश सरकारले कोरोना महामारीले रोजगारी गुमाएका दुई लाख युवाका लागि रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ। तर, यसरी रोजगारी गुमाएकाहरु फेरि जोखिम मोलेरै भारत लगायत अन्यत्र फर्किन शुरु गरिसकेका छन् भने सरकारी योजना कार्यान्वयनमा कुनै सुरसार नै छैन।

‘सात आठ महिना भइसक्यो, इन्डियाबाट आएको घरमा के खाने, के लाउने भन्ने अवस्था छ’, जाजरकोट शिवालय गाउँपालिकाका खिमबहादुर रोकाय भन्छन्, ‘सरकारले यति जनालाई उति जनालाई, रोजगारी दिन्छौँ, अहिलेसम्म केही कामसाम छैन्, माखा धपाएर बस्नुपर्ने अवस्था छ।’

आफू समेत तिहार लगत्तै मजदुरीका लागि भारत जाने रोकाय बताउँछन्। 

‘यता बसेर केही काम छैन्, बालबच्चा पाल्नुपर्‍यो’, उनले भने, ‘तिहार मानेर भोलिपल्टै जानुपर्ने छ।’

भारतमा बगाउने पसिना स्वदेशमै बगाउन पाए खुशी हुने भन्दै उनले सरकारले मजदुरी गर्नका लागि पनि कुनै वातावरण नबनाउँदा विदेशिनुको विकल्प नरहेको बताए।

‘हामीलाई पनि घरपरिवार छोडेर अर्काको ठाउँमा जाने रहर होइन, कति गाली, भनाइ खानुपर्छ’, रोकाय भन्छन्, ‘कम्तीमा पसिना बगाउने वातावरण सरकारले गरेको भए हामी यतै काममा लाग्ने थियौँ।’

५१ प्रतिशत बढी जनसंख्या गरिबीको रेखामुनि रहेको कर्णालीका नागरिक अधिकांश रोजगारी गर्न भारत लगायत तेस्रो मुलुक जानु पर्ने बाध्यता छ। प्रदेश सरकारले स्वदेशमै उत्पादनमूलक रोजगारी सिर्जना गर्नकै लागि चालु आर्थिक वर्षका लागि सात अर्ब रुपैयाँ विनियोजन गरेको छ।

मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार युवालाई रोजगारी दिने लक्ष्य लिएको छ। सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि समेत तयार गरिसकेको छ। रोजगार कार्यक्रम कार्यान्वयनको चरणमा रहेको प्रदेश सरकारको दावी छ।

‘हामीले रोजगार कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाएर, पालिका र वडास्तरमा योजना छनोटको काम भइरहेको छ’, सरकारका प्रवक्ता विमला केसीले भनिन्, ‘तिहार लगत्तै रोजगारका कार्यक्रम सञ्चालन हुन्छन्।’

पहिलो चौमासिकमा रोजगार कार्यक्रम शुरु गर्न नसकेपनि दोस्रो चौमासिकबाट कार्यान्वयन हुने सरकारको भनाइ छ। बेरोजगार सबैलाई भने रोजगारी दिन नसकिने बताइएको छ।

‘कोरोनाले रोजगारी गुमाएर नेपाल फर्किएका सबैलाई सरकारले रोजगारी दिन सम्भव पनि हुँदैन’, प्रवक्ता केसीले भनिन्, ‘बेरोजगार युवाका लागि नै भनेर हामीले सहुलियत ऋण, ब्याजमा अनुदान जस्ता कार्यक्रम शुरु गरेका छौँ, यस्तै कार्यक्रममा सहभागी बनेर रोजगार बन्ने र रोजगारी दिने गरी लाग्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell