PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

बीओपी स्थापना भएसँगै सीमामा बढ्यो सुरक्षाकर्मीको उपस्थिति



रासस

बीओपी स्थापना भएसँगै सीमामा बढ्यो सुरक्षाकर्मीको उपस्थिति
फाइल फोटो।

पाँचथर : तीन स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएसँगै पाँचथरबाट भारतसँगको सीमासम्म सुरक्षाकर्मीको उपस्थिति भएको छ। भारतसँग ४४.८ किलोमिटर सीमा जोडिएको पाँचथरमा याङवरक गाउँपालिकामा पर्ने चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा सुर्केथाममा बीओपी स्थापना भएपछि सीमासम्म सुरक्षा निकायको उपस्थिति पुगेको हो।

पाँचथरको याङवरक-१ लामपोखरी सुकेढापमा बीओपी, तोरीफूलेको उद्घाटन गरिएको छ। उक्त बीओपीको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे तथा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल गिरीले संयुक्तरूपमा उद्घाटन गरे। यसअघि गत भदौ अन्तिम साता याङवरककै चिवाभञ्ज्याङ तथा फालेलुङको सुर्केथाममा बीओपी स्थापना भएको थियो।

प्रहरी वरिष्ठ उपरीक्षक गिरीले नागरिकलाई सुरक्षित महसुस गराउन सीमासम्म सशस्त्र प्रहरीको उपस्थिति महत्वपूर्ण हुने बताए। सीमास्तम्भको सुरक्षा, नेपाली भूमि मिचिनबाट रोक्ने, अवैध प्राकृतिक दोहन नियन्त्रण, बन पैदावार तथा जडिबुटी संरक्षण, अवैध चोरी, शिकारी, निकासी तथा सीमालाई आधार बनाइ हुने गैरकानुनी तथा आपराधिक गतिविधि रोक्न बीओपी सफल हुने गिरीको विश्वास छ। मन्त्रिपरिषद्को २०७६ मंसिर २९ को निर्णयअनुसार पाँचथरका चारमध्ये तीन स्थानमा बीओपी स्थापना भएको हो।

अध्यक्ष घिमिरेले बेलाबखत भारतीय पक्षबाट सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्न बीओपी स्थापना निर्णायक काम भएको बताए। भारतसँग सीमा जोडिएको नेपाली भूभागका जैविक विविधता, पर्यापर्यटनका दृष्टि अति महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष घिमिरेले यहाँका प्राकृतिक वनस्पति, जडिबुटी र वन्यजन्तु संरक्षणमा बीओपी स्थापनाले सहयोग पुग्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell