PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपालबाट फर्केलगत्तै कालापानी र लिपुलेक क्षेत्रको निरीक्षणमा भारतीय सेनापति नरवणे



कमलराज भट्ट

नेपालबाट फर्केलगत्तै कालापानी र लिपुलेक क्षेत्रको निरीक्षणमा भारतीय सेनापति नरवणे
Photo : ANI

काठमाडौं: भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली भूमि कालापानी र लिपुलेकको हवाई निरीक्षण गरेका छन्।

कात्तिक तेस्रो साता नेपाल भ्रमणमा आएका नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको पद्वी प्रदान गरेकी थिइन्। स्वदेश फर्किएको केहि दिन नबित्दै नरवणे भारतको नियन्त्रणमा रहेको नेपाली भूमिको हवाई निरीक्षणमा पुगेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

नेपाल भारतबीच सीमा विवाद बढ्दै गइरहेको बेलामा नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा समावेश गरेपछि नरवणेले नेपाल कसैको इशारामा उचालिएको भन्दै चीनतर्फ स‌ंकेत गरेका थिए। जसको नेपालमा चर्को विरोध भएको थियो।

उनी नेपाल भ्रमणमा आएका बेला समकक्षी पूर्णचन्द्र थापाले कालापानी लगायत भारतको कब्जामा रहेका भूमि नेपालकै भएको कुटनीतिक सन्देश दिएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार बिहीवार पिथौरागढको सेना ब्रिगेड (बाहिनी) पुगेका सेनापति नरवणेले शुक्रबार विहान चीन र नेपालसँग सीमा जोडिएका दुबै क्षेत्रको हवाई अवलोकन गरेका हुन्।

अमर उजालाले चीन र नेपालसँग जारी सीमा विवादका बीच लिपुलेक र कालापानीमा नरवणेको यो पहिलो भ्रमण भएको उल्लेख गरेको छ।

नेपाली सुरक्षा अधिकारीले पनि भारतीय सेनाध्यक्ष नरवणे निरीक्षणका लागि पिथौरागढ आएको सुनिएको बताएका छन्। दार्चुलाका एक सुरक्षा अधिकारीले भने, 'कालापानी र लिपुलेक भन्दा पनि ब्यारेक निरीक्षणमा आएको भन्ने सुनिएको छ। सुरक्षा फौज त चिसोले तल झरिसके। हवाई निरीक्षण हुनसक्ला,' उनले भने।

भारतले चीन सीमामा इण्डो तिब्बत बोर्डर पुलिस (आईटीबीपी) र नेपाल सीमामा एसएसबी तैनाथ गरेको छ।

गलवान घाटी र लद्दाखमा चीनसँग भएका सीमा विवादपछि भारतले लिपुलेकमा चीनले ठूलो संख्यामा सैन्य शक्ति परिचालन गरेको र कैलाश मानसरोवर नजिक मिसाइल बेश बनाएको दावी गर्दै आएको छ। यी दावीका बीच भारतले पनि यहाँ ठूलो संख्यामा सैन्य उपस्थिति बढाएको छ।

यो परिस्थितिका बीच नेपाल भ्रमण गरेर फर्केका नेपालमा मानार्थ सेनापतिले कालापानी र लिपुलेकको भ्रमण गरेका हुन्। सन् १८१६ को सुगौली सन्धीअनुसार काली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हुन्। तर सन् १९६२ को भारत चीन युद्धपछि यी भूमिमा भारतले कब्जा जमाएर आफ्नो दावी गर्दै आएको छ। वर्षदिन अघि यी भूमिलाई आफ्नो नक्सा राख्ने र सडक समेत बनाउने भारतको कदमले दुई देशबीच विवाद बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell