PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कुकुर प्रेमीहरुको 'बुल सिंह' अर्थात् भक्त डंगोल, 'यहाँ त कुकुरप्रतिको माया नि फरक छ'



सहयोग रञ्जित

कुकुर प्रेमीहरुको 'बुल सिंह' अर्थात् भक्त डंगोल, 'यहाँ त कुकुरप्रतिको माया नि फरक छ'

करिब २ वर्षअघि ललितपुरको पिन्छेंका भक्त डंगोलले एउटा कुकुर एडप्ट गरे। नाम राखे – बुल सिंह। डंगोलको जीवनमा बुल सिंह आएपछि उनको परिचय नै फेरियो। उनको परिवारमा बुल सिंह चाँडै घुलमिल भए। आफू जहाँ जान्थे बुल सिंहलाई पनि सँगै लग्थे। कुकुरलाई छोरा जस्तै स्याहार गरे भक्तले। विस्तारै कुकुर प्रेमीहरुबीच भक्त आफ्नो नामले भन्दा ‘बुल सिंह’ नामले परिचित भए।

हुन त भक्तको घरमा अर्को कुकुर पनि थियो। तर १७ वर्ष पुगिसकेको कुकुर बिरामी पर्‍यो। भेटनरीमा गएर परीक्षण गराउँदा उसको जोर्नीहरुमा समस्या देखियो। त्यसपछि कुकुरलाई ‘कम्पनी’ दिन बुल सिंहलाई एडप्ट गरेका थिए भक्तले। हाल भक्तको घरमा ७ वटा कुकुर छन्। ३५ वर्षीय डंगोलले कोही एडप्ट गरेका त कोही उद्दार गरी ल्याइएका। फुर्सदमा कुकुरलाई बाहिर लग्नुका साथै घरमा नै ट्रेनिङसमेत गराउँछन् भक्तले।

५ वर्षभन्दा बढी भयो कुकुरहरुको उद्धारमा खटेको। त्यसअघि स्थानीय साथीसँग मिलेर कुकुरहरुलाई खाना खुवाउँथे उनी। त्यसक्रममा घाइते र घाउ भएका कुकुरहरु धेरै नै भेटे। त्यसपछि कुकुरको उद्धारमा सक्रिय भए। त्यसबेला स्रोत साधन केही थिएन। पछि विस्तारै ‘डग रस्क्यू’ को ट्रेनिङ लिए र अरुलाई पनि ट्रेनिङ लिन लगाए। अहिले भने छोरी इभा डंगोल पनि उन्लाई कुकुरको उद्धारमा साथ दिन थालेकी छिन्। फेसबुकमा ‘पोजिटिभ लभर्स ग्रुप’ समूह बनाएर भक्त हाल ‘डग रेस्क्यू र एडप्टेसन’ मा सक्रिय छन्।

+++

कोरोना संक्रमणका कारण मानिसहरु घरभित्र थुनिँदा भक्त भने कुकुरलाई खाना खुवाउन र उद्धार गर्न खटिए। उनलाई साथ दिएका थिए उनकै छोरी इभा र अन्य कुकुर प्रेमीले। डग सेल्टरमा गएर आफै प्रशिक्षण लिएर हाल भक्तको समूह कुकुरको आवाज बन्ने प्रयासमा छ।

लकडाउनको समयमा धेरैजसो हिट एन्ड रनको केस र रेबिजको केस आएको उनी बताउँछन्। अरु बेला भने मानिसबाट नै कुकुरप्रति यातना दिने काम भएका घटनाहरु आएको उनले बताए। 

कुकुरको आँखा फुटाइदिएको तस्विर देखाउँदै उनले भने, ‘कुकुरको मात्रै गल्ती हुँदैन। हाम्रो नि गल्ती हुन्छ। तर हामी सबै गल्ती कुकुरको देख्छौं र यातना दिन्छौं। रेस्क्यू गर्ने ठाउँमा गएर हामी कुकुरप्रति गर्ने व्यवहार कसरी सुधार्ने भनेर बुझाउने प्रयासमा पनि हुन्छौं। कतिले बुझ्छन् कतिले सुनेर पनि नसुनेको जस्तै गर्छन्। कुकुरको आवाज हुँदैन। हामी उनीहरुको आवाज बनेर मानिसहरुलाई बुझाउने कोसिस गरिरहेका छौं।’

हाल उद्धारका लागि आफै खर्च जुटाइरहेका छन् उनी। केही कुकुर प्रेमीहरुले भने स्वस्फूर्त रुपमा सहयोग गरिरहेका हुन्छन्। यसरी कुकुरहरुलाई उद्धार गरेर ‘डग सेल्टर’ मा लगेर छोड्ने वा कोही एडप्ट गर्न चाहनेका लागि फेसबुकमा सूचना राख्ने भक्तको जीवनको हिस्सा नै बनेको छ। छोरीसँगै हाल टोलभरीका बालबालिकालाई ‘एनिमल लभर’ बनाउन आफू सफल भनेको उनको कथन छ।

+++

भक्तको समूहले उद्धार गर्नेमा धेरैजसो भुस्याहा कुकुरहरु हुन्छन्। जब कुकुर एडप्ट गर्न उनी आह्वान गर्छन् तब ‘ब्रिड डग’ हरुको माग बढी हुन्छन्। तब उनको मन खिन्न हुन्छ।

भन्छन्, ‘कुकुर त सबै एउटै हुन्। तर जब एडप्ट गर्ने कुरा आउँछ धेरैले ब्रिड डग खोज्छन्। थाहा हुनेहरुले भने स्ट्रिट डग पनि एडप्ट गरिरहेका हुन्छ।’

आफ्नो घरको कुकुरलाई माया गर्ने, हेरचाह गर्नेहरुले सडकमा रहेका कुकुरप्रति गर्ने व्यवहार फरक पाए उनले। सानैदेखि आफू ‘एनिमल लभर’ बताउने भक्त समाजले कुकुरप्रति गर्ने यस्ता विभेदको प्रत्यक्षदर्शी हुन्। 

‘मान्छेहरु बुझ्दैनन् कि हाम्रो घरको रक्षा पहिला बाहिरको कुकुरले गर्छ। घरको कुकुर त पछि भुक्छ। यहाँ त कुकुरप्रतिको माया नि फरक छ’ भक्तले भने।

ब्रिड डगको माग धेरै भएपछि समय बित्दै मानिसहरुले आफूले पाल्दै आएका नश्लका कुकुरहरु सडकमा छाड्ने पाइएको उनको अनुभव छ। पहिला राम्रो लागेको एडप्ट गर्ने, बालबालिकाले मन पराउने भएकोले सानैमा कुकुर पाल्ने तर, अशक्त र उमेर धेरै भइसकेपछि स्यहार गर्न गाह्रो हुने देखेर आफैले पालेको कुकुरलाई सडकमा छाड्ने प्रवृत्ति रहेको उनले बताए। त्यसैले उनी कुकुरप्रति हाम्रो ‘स्कुलिङ’ मै समस्या रहेको बताउँछन्।

तिहारको समयमा एकदिनमात्रै कुकुरलाई मिठो खुवाउने, भैरवको स्वरुप भनेर पूजा गर्ने गरेको तर भोलिपल्टबाट फेरि कुकुरप्रतिको पुरानै दृष्टिकोण रहने गरेको उनले देखेका छन्। त्यसैले कुकुरप्रतिको व्यवहार परिवर्तन नभएसम्म कुकुरमाथि हुने घटना घट्न नसक्ने उनी बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell