PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रहरीको अनुसन्धानमा डोर्‍याउँदै कुकुर, यसरी मिल्दै सफलता



सविन ढकाल

प्रहरीको अनुसन्धानमा डोर्‍याउँदै कुकुर, यसरी मिल्दै सफलता

काठमाडौं : गएको प्रहरी दिवसमा प्रहरी नायव निरिक्षक(सई) शंकर घिमिरे पुरस्कृत भए। उनलाई उत्कृष्ट प्रहरीका रुपमा चिनिए। उनलाई उत्कृष्ट प्रहरी बनाउन उनको मिहिनेत र कलाकैशल त छँदै थियो। त्यसको पछाडि अर्को पात्रको भूमिका झनै महत्वपूर्ण थियो।

त्यो अर्को पात्र थियो त केवल जोजो। अर्थात् नेपाल प्रहरीको तालिम प्राप्त कुकुर। शंकर जोजोको हन्डलर हुन्। ३ वर्षदेखि उनी जोजोसँगै छन्। ५ महिनाको हुँदा बेलारुसबाट ल्याएको जोजो अहिले ३ वर्ष बढीको भइसक्यो। जोजोलाई सई घिमिरेले रेखदेख गरे। दैनिक तालिम दिए। अनुसन्धानमा ट्र्याक गर्न सिकाए। अहिले जोजो काबिल भएको छ।

नेपाल प्रहरीको धेरै वटा अनुसन्धानमा जोजो एउटा सहयोगी सिपाही झैं छ। सुरुमा अन्य तालिम प्राप्त कुकुरसँग एसिस्टेन्ट गएर पुग्ने जोजो अहिले आफैंले घटनाको अनुसन्धानमा लिड गर्न थालेको छ। गत साउनमा काठमाडौंको गोंगबुमा टाउको काटिएको शरीर एउटा सुटकेसभित्र फेला पर्‍यो। कसको हो? टाउको कहाँ छ? भन्ने खुल्न सकेन। यसै क्रममा अनुसन्धानको लागि नेपाल प्रहरीको केन्द्रीय कुकुर तालिम केन्द्रबाट तालिम प्राप्त कुकुर झिकाइएको थियो। तालिम केन्द्र महाराजगञ्जबाट कुकुर लिएर प्रहरी नायब निरीक्षक (सई) शंकर घिमिरेको कमाण्डमा टोली पुगेको थियो।

हत्याको थप जानकारी लिन शव पहिचान पहिलो प्राथमिकता परेको थियो। जोजोलाई घटनास्थल पुगेर त्यहाँ रहेको नाम्लो सुँघाइयो। त्यसपछि जोजो। जोजोले घटनास्थलबाट तीन सय मिटर पर पुगेर संकेत गरेपछि काटिएको टाउको र खुट्टा फेला परेको थियो। त्यही काटिएको टाउको भेटिएपछि खुल्यो हत्याको रहस्य। हत्या भएका व्यक्ति रोल्पाका ४५ वर्षीय कृष्णबहादुर बोहोरा रहेछन्। त्यसपछि हत्याको अभियोगमा चितवनकी ३७ वर्षीय कल्पना मुडभरी (पौडेल) र उनकी छोरीसमेत पक्राउ परे। अहिले अदालतको आदेशमा उनी पूर्पक्षको लागि थुनामा छिन्। जोजोको यो सफल अनुसन्धान मानियो। यो मात्र होइन यसअघि नुवाकोटको घटनामा पनि जोजोको अनुसन्धान सहयोगसिद्ध भएको छ। पछिल्लो समय नेपाल प्रहरीको तालिम प्राप्त कुकुरले धेरै अनुसन्धानमा सहयोगी भूमिका खेलेका छन्।

'‍कुकुरको माग घटनाहरुमा बढी रहेको छ। हामीले पनि कुकुरलाई प्रविधिमैत्री बनाउँदै ट्रेनिङमा ध्यान दिएका छौं,' केन्द्रीय कुकुर तालिम केन्द्रका डिएसपी रामचन्द्र सत्यालले भने।

करिब साढे तीन वर्ष पुगेका जोजो ब्लड हाउन्ड जातको कुकुर हो। यो जातको दुईवटा पोथी र भाले गरेर दुई वटा ब्लड हाउन्ड जातको कुकुर प्रहरीसँग छ।

सामान्यतय अन्य कुकुरले २४ घण्टा पुरानो मात्र अनुसन्धान गर्न सक्छ। तर यो जातको कुकुरले ४ दिनसम्मको घटनामा अनुसन्धान गर्न सक्छ। यसको घ्राण शक्ति अरुभन्दा बढी छ। नेपालमा ल्याएपछि यसलाई करिब एक वर्षसम्म तालिम गराइएको थियो। जोजोले पहिले जस्तो अपराधीले छोडेको प्रमाण सुँघेर मात्र होइन पदचापसमेत पछ्याएर अपराधी पत्ता लगाउँछ। गौंगबुमा शव भेटिएको समयमा पानी परेको थियो। तर पनि जोजोले पानीले केही गन्ध पखाले पनि ट्रयाक गर्न सकेको थियो

कुकुरमा सुँघ्ने क्षमता मानिसको भन्दा ५० गुणा बढी हुने बताइन्छ। कुकुरको सुँघ्ने क्षमता भएको सेलको सङ्ख्या २५० मिलियन हुन्छ। जबकि मानिसको भने ५ मिलियनमात्र हुन्छ। अन्य कुकुरको तुलनामा ब्लड हाउन्डमा करिब ३५० मिलियन सुँघ्ने क्षमता हुन्छ।

अहिले नेपाल प्रहरीसँग ट्रयाकर डग, लागू औषध पत्ता लगाउने,  विस्फोटक तथा हातहतियार पत्ता लगाउने,  गस्ती,  सुरक्षा,  खोजी एवम् उद्धार गरी विभिन्न ६ विधामा काम गर्ने कुकुरहरु रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell